पुस्तकालय पुस्तक–घर कि ज्ञानको मन्दिर ?

188
Shares

  • विजय शर्मा

एउटा कल्पना गरौं त । फुुुर्र्सद हुनेबित्तिकै जुवातास खेल्ने अथवा क्यारेम्बोर्डका गोटी समात्ने युवाहरुमा पुस्तकालयभित्रका पुस्तक पढ्ने संस्कृति गाउँ–गाउँसम्म विकास गर्न किन सकिएन ? सकेको भए विश्वपरिदृश्यमा नेपालका ग्रामीण युवाहरु कस्ता देखिन्थे होला ? काम नपाएर मदिरा र ड्रग्समा हल्लिने युवाहरुमा कस्तो सोचको बीज भरिन्थ्यो होला ? घर–घरमा बसेर इन्टरनेटका माध्यमबाट सामग्री संकलन गर्न पाए मुस्कानको बिटो कसरी कसिन्थ्यो होला ? अब पनि यस्ता कल्पना केवल कल्पनामात्रै सीमित राखेर हुँदैन, यथार्थमा बदल्नतिर लाग्नुपर्दछ ।

आजैदेखि देशका टोल–टोलमा पुस्तकालयहरुको स्थापना गरी खोज तथा अनुसन्धानको आधारस्थल बनाउनुपर्दछ । त्यतिमात्र होइन, विभिन्न विधागत पुस्तकालयहरु स्थापना गरी अध्ययन–अनुसन्धानको केन्द्रका रुपमा स्थापित गर्नुपर्छ । त्यसो गर्न सकेमात्र समृद्ध नेपाल सुखी नेपाली बनाउन सकिएला । तर विडम्बना ! हाम्रो देशमा अहिलेसम्म राष्ट्रिय पुस्तकालय नै अनिर्णयको बन्दी बनेर बस्नुपरेको छ । त्यहाँ विधागत तथा अन्य पुस्तकालयहरु बन्ने त कहिले ? आउनुस्, एकैछिन् पुस्तकालयको गरिमा बोध गरौँ ।

पुस्तकालय पुस्तकको भण्डार, अथाह ज्ञान तथा सूचनाको स्रोतकेन्द्र हो । यसले पाठक तथा अनुसन्धानकर्ताहरूको इच्छा, चाहना र आवश्यकताअनुसार अध्ययन सामग्रीको सङ्कलन, व्यवस्थापन, सम्प्रेषण तथा संरक्षण गर्ने काम गर्दछ । पाठकको चाहनाअनुसारका सामग्रीहरूको सङ्कलन गरी अध्ययन–अनुसन्धान कार्यमा सहयोग गर्ने सेवामुखी संस्थाको रूपमा पुस्तकालयलाई लिन सकिन्छ । पुस्तकालय र अनुसन्धानका बीच अन्योन्याश्रित सम्बन्ध हुन्छ । अनुसन्धान ज्ञानको चाहना र खोजी गर्ने कार्य हो । अनुसन्धाताको उक्त चाहना पूरा गर्ने एकमात्र स्रोत नै पुस्तकालय हो ।

पुस्तकालयलाई विनाभेदभाव सेवामा समर्पित पवित्र संस्थाको रुपमा लिइन्छ । यहाँ छिरिसकेपछि कुनै पनि पाठकले लिङ्ग, जात, धर्म, पेसा, वर्गका आधारमा भेदभाव महसुुस गर्नुपर्दैन । नातावाद, कृपावाद तथा कमिसनको लोभमा नपरी समान व्यवहार गरिन्छ । निश्चित नियमका आधारमा पुस्तकालयको लक्ष्य, उद्देश्य तथा पाठकहरूको मागअनुसारका सामग्रीहरू उपलब्ध गराइन्छ । समाजमा सम्यता र संस्कृतिको विकास र विस्तार गरी ज्ञान तथा सूचनाको सङ्कलनमा जोड दिइन्छ । एक पिँढीबाट अर्को पिँढीमा ज्ञानको हस्तान्तरण गरी संरक्षण गर्ने आदर्श स्थल पुस्तकालय हो । यसले खोज तथा अन्वेषण गर्न चाहने व्यक्तिलाई सजिलो बनाउँछ ।

पुस्तकालयले सूचना सम्प्रेषण गरी ज्ञानको क्षितिज विस्तार गर्नका लागि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । यसले समाजमा बौद्धिक स्तरको विकास गर्दै अन्वेषणको पृष्ठभूमि निर्माण गर्छ । अनुसन्धान एक व्यवस्थित, तथ्यपरकरूपमा खोज गरी नयाँ निष्कर्षमा पुग्ने कार्य हो । अध्ययनकर्ताको दिमागमा अन्वेषणको विचार उत्पन्न भएपछि पुस्तकालयसँग जोडिन्छ । त्यसपछि किताबको अन्तरङ्ग मित्र बन्दै पुस्तकालयको मोहजालमा जेलिन्छ । सैद्धान्तिक होस् कि व्यावहारिक, पूर्वप्राप्तिको मूल्यबोध गर्छ अनि पुस्तकालयको भूमिकाबाट टाढा हुन सक्दैन । त्यसैले अन्वेषणकर्ताहरूले पुस्तकालयलाई खोज तथा अनुसन्धानकोे पहिलो आधारस्थल बनाएका हुन्छन् ।

पुस्तकालयको प्रयोगविना कुनै पनि अनुसन्धानकर्ताले खोज तथा अनुसन्धान कार्य पूर्ण गर्न सम्भव देखिँदैन । अनुसन्धान कार्य सफलतापूर्वक सम्पन्न गर्नका लागि विविध सन्दर्भ सामग्रीहरूको अध्ययन गर्नुपर्ने हुन्छ । अनुसन्धानका लागि महत्त्वपूर्ण तर महँगा पुस्तकहरू विश्वकोश, शब्दकोश, निर्देशिका, मानचित्र, मार्गदर्शक, जीवनी, वर्षपुस्तक, घटनासङ्ग्रह, तथ्याङ्क पुस्तक, हातेपुस्तक आदि अति आवश्यक पर्दछन् । व्यक्ति आफैंले सबै पुस्तकहरू किन्न पनि सम्भव हँुदैन । तसर्थ, यस्ता पुस्तकहरू प्राप्तिको भूमि पुस्तकालय नै हुनेछ ।

त्यतिमात्र होइन अनुसन्धानकर्ताका लागि रेफरेन्स सेवा पनि पुस्तकालयले प्रदान गर्दछ । अनुसन्धानकर्ताहरू तथ्यका लागि भौंतारिइरहेका हुन्छन् । ती तथ्य र उपयुक्त पुस्तकका बारेमा पनि पुस्तकालयमा महत्त्वपूर्ण सूचना पाइन्छ । पाठकहरूका मागअनुसारका सामग्री सङ्कलन गरी अनुसन्धान कार्यमा सहजीकरण गर्नु पुस्तकालयको धर्म हो । पुस्तकालयको निरन्तर प्रयोगले अनुसन्धानमा निखारताका साथै कार्यमा चुस्तता आउनेमा दुई मत छैन ।

पुस्तकालयमा सामग्रीहरुलाई निश्चित नियमका आधारमा वैज्ञानिक विधिबाट व्यवस्थापन गरिएको हुन्छ । जसले गर्दा अनुसन्धानकर्ताहरुले चाहेका सामग्री तुरुन्त पाउन सक्छन् । पुस्तकालयमा छापा माध्यमका परम्परागत र आधुनिक इलोक्ट्रोनिक सामग्रीलाई सङ्ग्रह गरिएको हुन्छ । हाल ई–रिसोर्सेसहरु सङ्ग्रहमा पुस्तकालयको कसरत बढी रहेको छ । यसको प्रयोगले आधुनिक प्रविधि र पाठकका बीचमा पुलको काम गरेको हुन्छ । प्रविधिको दुरुपयोगका कारण बौद्धिक चोरीका घटना दिन–प्रतिदिन बढ्दै गइरहेका समाचार सुनिन्छ ।

आफूले नयाँ कुराको खोज–अनुसन्धान गर्नुभन्दा पनि अरूले सम्पन्न गरेको अनुसन्धान कार्यको प्रति छाया (कपी पेस्ट) गरी शोधकार्य सम्पन्न गर्ने कार्य केवल उपाधि मोह हो । यस्ता कार्यले ज्ञान गंगाको सार प्राप्त हुँदैन । तथापि समयको परिवर्तनसँगै आएको अनलाइन तथा अफलाइन रिसोर्सेसहरूको प्रयोग अबका अनुसन्धानकर्ताको अभिन्न अङ्ग बन्दछन् । यसले पुस्तकालयको क्षेत्रलाई फराकिलो बनाउँदै गइरहेको छ ।

पुस्तकालय नै अनौपचारिक शिक्षाको साँचो घर हो, जहाँ ज्ञानको अनन्त भण्डार हुन्छ । कुनै विषयमा कुन स्तरको शिक्षा लिने त्यो पाठकको रोजाइ हो । यसको स्रोत पुस्तकालयभित्रका पुस्तक नै हुन् भन्नेमा दुई मत हुन सक्दैन । अहिले समाजमा पठन संस्कृतिमा ह्रास आएको भन्ने गुनासो दिन–प्रतिदिन सुन्नमा आइरहेको छ । पाठ्यक्रममा तोकिएको पुस्तकमात्र पढ्ने र निश्चित तह उत्तीर्ण गरेको प्रमाणपत्र बोकी शैक्षिक बेरोजगार बन्नेको संख्या पनि चुलिँदै छ । यस्तो संस्कृतिको अन्त्य गर्नका लागि विद्यालय शिक्षादेखि नै पुस्तकालयको सङ्गत बढाउनुपर्छ । विद्यार्थी अनुसन्धान कार्यमा लाग्नु भनेको समाज समृद्धिको बाटोतिर उन्मुख हुन हो ।

समाजमा पुस्तकालय तथा अनुसन्धान केन्द्रहरु शिक्षाको अभिन्न अङ्गका रूपमा विकास हुनुपर्दछ । शिक्षा शिक्षक केन्द्रितभन्दा पनि अनुसन्धानमा आधारित हुनुपर्छ । अहिले कोरोनाका कारण अधिकांश पुस्तकालयहरु बन्द छन् । घरमा पाठकहरु छटपटिइरहेका छन् । हालको परिस्थितिमा पुस्तकालयहरुलाई स्वास्थ्य सावधानी अपनाई सञ्चालन गर्नुमा नै सबैको हित छ । पुस्तकालयहरुले पनि घरभित्र थुनिएका विद्यार्थी र अनुसन्धानकर्ताका लागि ई–रिसोर्सेसहरुको उपलब्धता बढाउनुपर्ने देखिन्छ । अध्ययन अनुसन्धान कार्य जुनसुकै ठाउँबाट पनि गर्न सकिने वातावरण बन्नुपर्दछ ।

अहिले विश्व नै एउटा सानो ग्रहका रूपमा व्याख्या गरिनुका पछाडि सूचना प्रविधिको विकास नै मुख्य कारण हो । विश्वको एकछेउबाट अर्काे छेउमा सजिलै कुराकानी गर्न सकिन्छ । सूचना प्रविधिको यो चमत्कारले विकासोन्मुख मुलुकहरूलाई समेत विश्वव्यापीकरणको मूल प्रवाहमा समाहित गरिदिएको छ । स्मरणीय छ, यसका लागि वर्षौंदेखि कति खोज, अन्वेषण, अनुसन्धान भए होलान् । कति पुस्तकमा घोरिए होलान् । कति अध्ययन टेबलमै निदाए होलान् । त्यो छुट्टै अनुसन्धानको विषय हुन सक्छ । सूचना प्रविधि पनि पुस्तकालयको अनुपम योगदानको एक उदाहरण हो भन्दा अन्यथा नहोला ।

एक्काइसौं शताब्दीमा शिक्षा र चेतनाको विकासका लागि पुस्तकालय तथा सूचना प्रविधिको विकास नागरिकहरूको मौलिक अधिकार हो । जबसम्म राष्ट्रले पुस्तकालयलाई अनुसन्धानको उपयुक्त आधारभूमिको रूपमा विकास गर्न सक्दैन तबसम्म समृद्ध राष्ट्र निर्माण सम्भव देखिँदैन । यो अभियान राजधानी, ठूला शहर हुँदै दूरदराजका गाउँमा प्रतिविम्बित हुनुपर्छ ।

समाजमा ज्ञानका उज्याला किरणहरु छर्नका लागि देवताको मठमन्दिरभन्दा ज्ञानको मन्दिर बनाउनतिर लाग्नुपर्छ । प्रत्येक सभासदले एक कार्यकालमा आफ्नो निर्वाचन क्षेत्रमा एक व्यवस्थित पुस्तकालय निर्माण गरौं ताकि नामको मात्र पुस्तकालय नहोस् । संविधानमा मात्र नागरिकको व्यक्तित्व विकासका लागि पुस्तकालयको स्थापना र प्रवद्र्धन लेखेर हुँदैन । पुस्तकालय पुस्तक–घरमात्र नभएर ज्ञानको मन्दिरका रूपमा विकास गर्नुपर्छ । अँध्यारोविरुद्ध प्रतीक र नयाँ सभ्यताको लागि नित्य नवीन आभा भएर ज्ञानका लागि उत्प्रेरणा उभिन सकोस् ।
(लेखक शर्मा केन्द्रीय पुस्तकालय, कीर्तिपुरमा अधिकृत हुनुहुन्छ ।)