‘खबरदार पार्टी फुटाउनु हुँदैन’

0
Shares

काठमाडौं, (नेस)
नेपालका कम्युनिस्ट नेता मोहनचन्द्र अधिकारीले नेकपा दुई अध्यक्षले पार्टी फुटाउन नहुने धारणा राख्नुभएको छ । उहाँले दुःखले बनाएको पार्टी फुटाएर राजनीति गर्नु बेइमान हुने बताउनुभएको छ ।
‘तपाईंले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मेरो तर्फबाट यो सन्देश सुनाइदिनुस् कि पार्टी फुटे नेपालमा खतरा हुनेछ।’ –उहाँले शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठलाई भन्नुभयो ।

उहाँले दुई अध्यक्षलाई खबरदारी गर्नसमेत मन्त्री श्रेष्ठलाई आग्रह गर्नुभयो । अधिकारीको पुरानो नैकापस्थित निवासमा भेट्न पुग्नुभएका मन्त्री श्रेष्ठलाई दुई पार्टीलाई थप मजबुत बनाउन सबै एकजुट हुनुपर्ने अवस्था आएको स्पष्ट पार्नुभयो ।

‘तपाईंलाई कम्युनिस्ट पार्टीको बारेमा जानकारी छ, मैले यो वा त्यो भनिरहनुपर्दैन म यहाँलाई यो आग्रह गर्न चाहन्छु कि यस्तो अवस्थामा पार्टी फुट्नुहुँदैन’, उहाँले भन्नुभयो– ‘दुई अध्यक्ष मिलेर जानुको विकल्प छैन पार्टी फुटाउने धृष्टता कसैले नगरोस् ।’

‘गफको भरमा पार्टी बनेको होइन, ठँलो मेहनत र कसरतका साथ दुई पार्टी एक भएर नेकपा बनेको हो, त्यसैले यस्तो विषम परिस्थितिमा पार्टीलाई एक ढिक्का बनाए र लैजानुको विकल्प छैन ।’ –अधिकारीले भन्नुभयो।

मन्त्री श्रेष्ठले नेता अधिकारीको भनाइ सुनेपछि आफँ यो विषयमा गम्भीर भएको बताउनुभयो । भन्नुभयो– ‘फुटेर कसैको हित हुँदैन मिलेर अघि बढ्नुको विकल्प छैन ।’ नेपालका नेल्सन मण्डेलाका रुपमा परिचय बनाइसक्नुभएका पुराना नेताको स्वास्थ्य अवस्थाबारे जानकारी लिन मन्त्री श्रेष्ठ अधिकारी निवास पुग्नुभएको थियो ।