उद्धार उडान बन्द गर्न सिफारिस

0
Shares

काठमाडौं, (नेस)

कोरोना संक्रमण संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार सकिएकाले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।

आइतबार बसेको सीसीएमसीको बैठकले योसहित बैतडीको झुलाघाट नाका र केबलकार खोल्न सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । अहिलेसम्म १ लाख ३६ हजार २१६ जनाको उद्धार गरी स्वदेश फर्काएको सीसीएमसीले जानकारी दिएको छ ।

विभिन्न देशमा रहेका नेपाली कूटनीतिक नियोगले उद्धार सकिएको जानकारी दिएपछि उडान बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिनुभयो ।

कोरोना संक्रमणका कारण संकटमा परेका नेपाली फेलापरे नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउने सीसीएमसीको जानकारी दिएको छ ।

यसैगरी, सीमानाका हुँदै नेपाल भित्रिने १३ वटा प्रवेश बिन्दु रहेकामा बैतडीको झुलाघाट नाका शुरू गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ । यसै गरी केबलकार, जंगल सफारी र सासहिक पर्यटनका क्षेत्र खुला गर्न पनि सरकारलाई सिफारिस गरिएको गुरागाईंले जानकारी दिनुभयो ।