बङ्गबन्धुका जेल डायरी प्रकाशित

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानबाट बङ्गलादेशका पिता शेख मुजिबुर रहमानको जेल संस्मरण ‘बङ्गबन्धुका जेल डायरी’ प्रकाशित भएको छ । बङ्गलादेशका सम्पूर्ण नागरिकहरूबाट ‘बङ््गबन्धु’को उपाधिले सम्मानित रहमानले जेल बस्दा लेखेको संस्मरणकृति ‘बङ्गबन्धुको जेल डायरी’लाई प्रज्ञा–प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीका अनुसार बङ्गलादेशका पिता रमानद्वारा प्रारम्भिक रूपमा बङ्गाली भाषामा लेखिएका अनुभव र अनुभूतिलाई अङ्ग्रेजी भाषामार्फत नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरिएको हो ।

कुलपति उप्रेतीले भन्नुभयो– “शेख मुजिबुर रहमानले बङ्गालादेश निर्माणका क्रममा भोगेका भोगाइ र अनुभूत गरेका अनुभवहरू दक्षिण एसियाका उदीयमान नेताहरूका लागि प्रेरक रहेका हुनाले उहाँद्वारा लिखित तथा बङ्गाल एकेडेमीद्वारा प्रकाशित कृति नेपाली भाषामा अनुदित गरी प्रकाशन गरिएको हो ।”

कुलपति उप्रेतीले नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सको अनुरोधमा पुस्तकको अनुवाद तथा प्रकाशन गरिएको उल्लेख गर्नुहुँदै यो नेपाल–बङ्गलादेशबिच सांस्कृतिक तथा साहित्यिक आदान–प्रदान गर्ने प्रयत्नको निरन्तरता भएको सुनाउनुभयो ।

मूल भाषा बङ्गालीबाट डा। फकरुल आलमले अङ्ग्रेजीमा अनुवाद गर्नुभएको पुस्तकलाई महेश पौड्यालले नेपाली भाषामा अनुवाद गर्नुभएको हो । कुलपति उप्रेती स्वयंले पुस्तकको सम्पादन गर्नुभएको छ । यसअघि नेपाल प्रज्ञा–प्रतिष्ठानबाट रहमानद्वारा लिखित पुस्तक ‘ती अधुरा स्मरणहरू’ प्रकाशित भइसकेको छ ।

उक्त पुस्तक प्रज्ञा भवन, कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको बिक्री कक्ष र मकालु प्रकाशन गृहको आधिकारिक वितरणमा मुलुकका सातओटै प्रदेशका प्रमुख पुस्तक पसलहरूमा पाइन्छ । ३६२ पृष्ठको पुस्तकको मूल्य ७५० रुपियाँ रहेको छ ।