कोरोनाको कहरमा निजी विद्यालयका शिक्षकका समस्या

0
Shares

यदुप्रसाद भट्ट, काठमाडौं ।

नेपालका विद्यालय स्तरका अधिकांश शिक्षक शारीरिक आक्रमणको त्रास या पेसागत असुरक्षाको मानसिक दबाबबाट थिचिएका छन् । यसमा शिक्षकको ज्यानमाथि हमला गर्ने हिंसात्मक राजनीतिक शक्ति र आपराधिक तत्व मात्र दोषी छैनन् । शिक्षक र शिक्षण पेसाप्रति सरकार र समाजको उपेक्षापूर्ण रवैया पनि उत्तिकै जिम्मेवार छ ।

त्यसै गरी नेपालका निजी विद्यालयहरु सञ्चालकको मुठीमा छन् । न त उनीहरुले शिक्षकलाई पूरै तलब दिन्छन् न त कार्यबोझ घटाउन नै तयार हुन्छन् । पढाइमा तलमाथि हुँदा त्यसको जिम्मेवारी विद्यालयले लिँदैन, विषयगत शिक्षक नै यसको जिम्मेवार हुनुपर्छ । एक शिक्षकको नाताले यसलाई त राम्रो मान्न सकिएला तर सञ्चालकहरुले कहिल्यै पनि आफ्ना शिक्षकको गुनासो सुन्नेसम्म पनि आँट गर्दैनन्, कारण आर्थिक पक्ष ।

एकातिर समयमै पारिश्रमिक नपाउनु, पाए पनि थोरैमा चित्त बुझाउन बाध्य हुनुपर्नेछ भने अर्कोतिर विभिन्न नाममा छाडेर नजाऊन् भनी तोकिएको तलबबाट केही प्रतिशत रकम काटेर राख्नुले निजी विद्यालयमा पढाउने शिक्षक पीडैपीडामा भएको बुझ्न गारो छैन ।
तर पछिल्लो समयमा आएर विश्वव्यापी रुपमा सन्त्रास फैलाएको कोरोना भाइरसले कुनै पनि क्षेत्रलाई छोडेको छैन ।

विशेष गरी विद्यालय नेपालको निजी क्षेत्रमा कार्यरत शिक्षकको अवस्थालाई आँकलन गर्ने हो भने त्यो एकदमै नाजुक छ । जति बेला लकडाउन गर्नुपर्दथ्यो त्यत्ति बेला सरकारले गरेन, जति बेला आवश्यक थिएन, त्यत्ति बेला ग¥यो ।संघीय राजधानी काठमाडौंको पीडा झन् भयावह छ ।

पाकेको बाली भित्र्याएर खाने बेलामा भएको लकडाउनले सीमित समयका लागि निजी विद्यालय सञ्चालकहरुलाई फाइदा त पु¥यायो होला, तर केही पनि नभएको बेलामा कोरोनाको नाममा चैतदेखि भोकभोकै बस्नुपरेको विद्यालय स्तरका शिक्षकका पीडा सहनु न कहनुको छ ।
दशैंसम्ममा काठमाडौं उपत्यकाका मात्र करिब ५ सय निजी विद्यालयका शिक्षकले रोजगारी गुमाउनु परेको छ ।

शैक्षिक हबका रुपमा रहेको संघीय राजधानीमा कोरोनाका कारण देखाउँदै रोजगारीबाट हात धुनुपरेको तथा भए–पाएकाले पनि ३३ देखि ५० प्रतिशत तलब घटाएर काम गर्नुपरेको उदाहरण छन् । ‘यसै पनि ३३ प्रतिशत तलबमा काम गर्नुपरेको छ त्यसमा पनि समयमा पाइँदैन, यो पेसा त निल्नु न ओकल्नु भयो’, नाम नबताउने सर्तमा नाम चलेको एक निजी विद्यालयका शिक्षकले भने– ‘हाम्रोमा त यस्तो छ भने अन्यमा झन् कस्तो होला ?’

विद्यालयमा गएर पढाउनजस्तो सजिलो नभएको शिक्षक स्वयम् बताउँछन् । एकातिर इन्टरनेट तथा कम्प्युटर चाहियो भने अर्कातिर आर्थिक पक्ष दुर्बल हुँदा समस्या बढ्दै गएको उनीहरुको बुझाइ छ । ‘यही पेसा अँगालियो, अन्य गरिएन, अब यो पेसा छोडेर कता जाने, सबैतिर मन्दी नै मन्दी छ’, गोरखाका लक्ष्मणबाबु श्रेष्ठले भने– ‘नयाँ व्यापार व्यवसाय गरौं भने पनि लगानी गर्ने हैसियत छैन, अझ लगानीमैत्री वातावरण छैन, समस्यामा परियो ।’ जसोतसो आधा पेट खाएर बसेका शिक्षकलाई भर्चुअल कक्षा पेचिलो बन्दै गएको उनको बुझाइ छ ।

सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकको हकमा भने कोरोना वरदान सावित नै भएको छ । निजीको तुलनामा उनीहरुलाई सहज पनि छ । न डिभाइसको समस्या न त कक्षा लिन पर्ने झन्झट नै । दशैंसम्म त मजाले खाइयो भन्नेको संख्या पनि कम छैन । बल्ला दशैंपछि भने सिकाइ सहजीकरणका लागि भन्दै सरकारले आ–आफ्नो विद्यालयमा हाजिर हुन भनेको छ ।

देशैभरको विद्यालयलाई हेर्ने हो भने हुम्ला, जुम्ला, डोल्पातिरका हिमाली भेगका विद्यालयमा पढाइ भइरहेको छ । गण्डकी प्रदेशमा सबै विद्यालय खुलेका छन् । कर्णालीमा पनि धेरै विद्यालय खुलेका छन् । केही विद्यालयले त परीक्षासमेत गरेर धमाधम रिजल्ट गरिरहेका छन् ।
यसैबीच चिसो मौसममा विद्यालय बन्द हुने उपल्लो डोल्पाको तीनमध्ये दुई स्थानीय तहका केही सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । डोल्पोबुद्धका छ विद्यालयमध्ये पाँच विद्यालयले नतिजासमेत सार्वजनिक गरिसकेका छन् ।

वडा नं २ र ४ का टसी गोमाङ बाल विकास केन्द्र, बाल विकास केन्द्र, सिद्धार्थकुला आधारभूत, र इन्द्रधनुष आधारभूत विद्यालयले वार्षिक परीक्षा सकेका हुन् । वडा नं ३ को क्रिस्टल माउन्टेन विद्यालयले परीक्षाको तयारी गरिरहेको छ । एक महिनाभित्रै परीक्षा गराएर यो वर्षको शैक्षिक सत्र सक्ने विद्यालयको योजना छ ।

गाउँपालिकाका सामुदायिक विद्यालयमा हरेक वर्ष कात्तिकमै वार्षिक परीक्षा सञ्चालन हुन्छ ।अत्यधिक चिसो हुने भएकाले माथिल्लो डोल्पाका तीन स्थानीय तहका सबै विद्यालयमा फागुनमा शैक्षिक शत्र शुरु भएर कात्तिकमा सकिने गरेको छ । स्थानीय पेमा गुरुङले नतिजा सार्वजनिक गरेका विद्यालय बन्द भइसकेको बताउनुभयो । यो वर्ष सरकारी निकायले परीक्षा सञ्चालनमा सहयोग नगरेपछि विद्यालय व्यवस्थापन समिति र अभिभावकको सक्रियतामा परीक्षा सञ्चालन गरिएको हो ।

यही समयमा वार्षिक परीक्षा सक्नुपर्ने उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाका चार विद्यालयले पनि वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरिसकेका छन् । तीन विद्यालयले कोरोनाका कारण तीन महिना विद्यालयमा पठनपाठन बन्द गरेर अहिले परीक्षा गराएर विद्यालय बन्द गरेका हुन् ।

शे फोक्सुण्डो गाउँपालिकाका विद्यालय पनि वार्षिक परीक्षाको तयारीमा छन् । विद्यार्थीहरु परीक्षाको तयारीमा जुटेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले बताउनुभयो । जसरी भए पनि १२ वटै विद्यालयले हिमपातअघि नै नतिजा प्रकाशन गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ ।