नेपाल समाचारपत्र, हेटौंडा
नेपालकै पावर ब्याकअप कुलेखानी जलविद्युत् आयोजनाले जाडो मौसम शुरुसँगै विद्युत् खपतमा बढ्दो माग पूरा गर्न तीन वटै आयोजनाबाट क्षमताअनुसार विद्युत् उत्पादन थालेको छ । कुलेखानी प्रथम आयोजनाबाट साबिक क्षमताको ६० मेगावाट, दोस्रोबाट ३२ र तेस्रो आयोजनाबाट १४ मेगावाट गरी कुल १ सय ६ मेगावाट विद्युत् उत्पादन गरी केन्द्रीय प्रसारणमा जोडिएको हो ।
अन्य क्षेत्रमा वर्षाका कारण रनअफ रिभरमा आधारित आयोजना पूर्ण क्षमतामा सञ्चालन हुँदा कुलेखानीलाई भार पर्दैन । अन्य आयोजना राम्ररी सञ्चालन हुनसक्दा कुलेखानीले कममात्र विद्युत् उत्पादन गर्दछ ।
नेपाल विद्युत् प्राधिकरणले विभिन्न शहरमा विद्युत् माग कम हुन गए कुलेखानी आयोजनाको उत्पादनमा कटौती गर्नुपर्ने अवस्था आउने सम्भावना छ । उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका—१ स्थित इन्द्रसरोवर जलाशयमा हाल पानीको सतह भरिन करिब साढे पाँच मिटर बाँकी रहेको कुलेखानी प्रथम आयोजना नियन्त्रण कक्षले जानकारी दिएको छ ।
आयोजनाको जलाशय सरोवर तालको समुद्री सतहबाट एक हजार पाँच सय ३० मिटरसम्म पानी जम्मा गर्न सकिने क्षमता छ । वर्षाले कुलेखानीको माथिल्लो क्याचमेन्ट क्षेत्रका खोलामा बाढी आउनुका साथै पानीको बहाव तीव्र भएपछि पानी संकलन हुने क्रम तीव्र हुने गर्दछ । माथिको मूल नफुटी कुलेखानी भरिँदैन ।
२०७२ को भूकम्पपछि कुलेखानी भरिएको छैन । २०७२ पुसमा कुलेखानीमा पानीको सतह १ हजार ५ सय २६ दशमलव ९७ मिटरमा सतह पुगेर स्थिर भएको थियो । रनअफ रिभर हुँदा सुक्खायामका लागि विद्युत् उत्पादन निम्ति पानी सञ्चय गर्ने गरिएको छ । प्राधिकरणको निर्देशानुसार कुलेखानी सञ्चालन गरिँदै आएको छ । मुलुकलाई ‘ब्ल्याक आउट’ हुनबाट जोगाउने उद्धेश्यले मानवनिर्मित सबभन्दा ठूलो जलाशय इन्द्रसरोवरलाई जोगाउन दीगो विकास नीति अवलम्बन गरिएको छ । कुलेखानी जलविद्युत्का निम्ति निर्मित इन्द्रसरोवरको पिँधमा माटो तथा बालुवा थुप्रँदै जलाशयको सतह बढेकोले उक्त क्षेत्रको वातावरणीय संरक्षण र दिगो विकास निम्ति निर्मित वातावरणीय व्यबस्थापन विशेष कोष सञ्चालन कार्यविधिलाई परिमार्जन गरी लागू गरिएको हो ।
प्रतिक्रिया