शेयर बजारमा लगानीकर्ताको पुँजी करिब २२ खर्ब पुग्यो


नेपाल समाचारपत्र, काठमाडौं

दशैंपछि शेयर बजारमा वृद्धि हुने अपेक्षा गरिए पनि अपेक्षाअनुसार नेपाल स्टक स्क्सचेन्ज (नेप्से) परिसूचक भने वृद्धि भएको छैन । शुरूका दिनमा वृद्धि हुने संकेत देखिए पनि क्रमशः ओरालो लाग्दै भएको स्थिति छ । परिसूचक ओरालो लाग्दा यस साताको कुल कारोबारमा नेप्से करिब १० अंकले घटेको छ ।

साताको पहिलो दिन कारोबार शुरू हुँदा १६४५ दशमलव ६७ बिन्दुमा रहेको नेप्सेको कारोबार बन्द हुने बेलामा १६३६ दशमलव १७ बिन्दुमा झरेको छ । यससँगै नेपाली शेयर बजारको समग्र बजार पुँजीकरण भने २१ खर्ब ९२ अर्ब रुपियाँबराबरको भएको छ ।

बैैैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा रकममा वृद्धि गर्दा लगानीकर्ता उत्साहित भएका छन् । तर, त्यसअनुसारको चहलपहल बजारमा देखिएको छैन । उतारचढावपूर्ण रहेको बजारमा हरेक दिन जस्तै केही निश्चित कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लाग्दै आएको पाइन्छ । यसलाई विश्लेषण गर्दा लगानीकर्ताहरू यतिबेला ‘पर्ख र हेर’को स्थितिमा रहेका छन् ।

यस साता अघिल्लो साताको तुलानामा कारोबार कारोबार रकम घटेको छ । गत साता २ अर्ब ८८ करोड रुपियाँबराबरको शेयर भएकोमा यस साता २ अर्ब ४४ करोड रुपियाँ बराबरको शेयर कारोबार भएको छ । यस साता व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै १० दशमलव ९५ प्रतिशत घटेको छ। साथै लघुवित्त समूह ३ दशमलव १७ प्रतिशत र हाइड्रोपावर ३ दशमलव शून्य ६ प्रतिशत बढेको छ । यस अघि बिहीबार कारोबार भएका १२ समूहमध्ये चार समूहको परिसूचक उकालो लागेको छ भने आठ समूहको परिसूचक ओरालो लागेको छ ।

होटल समूह ४ दशमलव ८६, विकास बैंक समूह ५ दशमलव शून्य ५, जलविद्युत् समूह १३ दशमलव ९३ र जीवन बीमा समूह १ दशमलव ३५ अंकले उकालो लागेको छ । यस्तै बैंकिङ समूह ७ दशमलव ९, व्यापार समूह १९ दशमलव शून्य ३, वित्त समूह शून्य दशमलव .२, निर्जीबन बीमा समूह १६ दशमलव १८, उत्पादन समूह ४ दशमलव २१, अन्य समूह शून्य दशमलव ६७, लघुवित्त समूह १३ दशमलव ३४ र सामूहिक लगानी कोष समूह शून्य दशमलव शून्य २ अंकले ओरालो लागेको छ । यस दिन पनि कारोबार रकमका आधारमा प्राइम बैंक अगाडि रहेको छ । सो बैंकको २० करोड ८४ लाख रुपियाँबराबरको कारोबार भएको छ ।

त्यसैगरी अरुण काबेली पावर १८ करोड ५४ लाख, एभरेष्ट बैंकको १६ करोड ४५ लाख, अपि पावर कम्पनीको १४ करोड ३४ लाख, हिमालयन डिस्ट्रिलरी १० करोड दुई लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ । कारोबारका आधारमासानिमा जनरल इन्स्योरेन्स ९ दशमलव ९४, रैराङ हाइड्रोपावर ९दशमलव ९१, गोर्खाज फाइनान्सको ९दशमलव ६८, सिन्धु विकास बैंकको ९ दशमलव ३८, घलेम्दी हाइड्रोको ८ दशमलव ७३ प्रतिशतले शेयर मूल्य वृद्धि भएको छ । तर, बिहीबार विशाल बजार कम्पनी, शिवश्री हाइड्रोपावर, एभरेष्ट बैंक, नाडेप लघुवित्तलगायतका कम्पनीका लगानीकर्ताले तुलनात्मक अन्य कम्पनीका लगानीकर्ताले भन्दा बढी गुमाएका छन् ।