खुलामञ्चमा भोजन

0
Shares

कोरोना महामारीका समयमा दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्ने गरिब नेपालीलाई खाना खुवाउँदा बेइज्जत हुन्छ कि उनीहरुलाई भोकै राख्दा ? दैनिक काम गर्न हम्मे परेका श्रमिकहरु दैनिक रूपमा खाना खान खुलामञ्चमा भेला हुँदा उनीहरुको कोरोना संक्रमण हुने खतरा बढ्ने भएकाले यस कार्यप्रति आपत्ति जनाइएको हो भने कुरा बेग्लै हो, विश्व स्वाथ्य संगठनले जारी गरेको मापदण्डको ख्याल गरिनुपर्छ भन्नु पनि ठीकै हो । तर, खुला मञ्चमा खाना बाँडेका कारण मुलुकको बेइज्जत भयो भन्नु आडम्बर मात्र हो ।

आफ्ना नागरिकलाई भोकै बस्नु नपर्ने अवस्थाको सिर्जना गर्नु मुलुकका लागि स्वाभिमानको विषय हो, सक्षम नागरिकले अक्षम नागरिकलाई खान–बस्न सघाउँछन् भने पनि गौरवकै विषय मान्नुपर्छ । मानवीय भावना भएको समाजका रूपमा त्यसको चित्रण हुन्छ । यस्ता कार्यले मुलुकको बद्नामी हुँदैन ।

सरकारले गर्न नसकेको काम सहयोगी हातहरुले गर्दै आएका छन् । उनीरुहको कामको उच्च सम्मान गर्नैपर्छ । व्यवस्थित रूपमा खाना खुवाउने विषयमा उनीहरुलाई सघाउन सकिन्छ । काठमाडौं महानगरपालिकाले व्यवस्थित रूपमा खाना खुवाउन अपिल गरिसकेको छ । खुला मञ्चमा खाना खुवाउँदा महानगरकै बेइजत भएको महसुस महानगरले गरेको छ ।

मेयर विद्यासुन्दर शाक्यले पत्रकार सम्मेलन गरी सो क्षेत्रमा खाना नखुवाउन आग्रह गरिसक्नुभएको छ । खाना खुवाउने स्थानको खोजी गर्न र त्यसको भाडा तिर्न महानगरपालिका तयार रहेको समेत जानकारी गराइसकिएको छ । तर, खाना खुवाउने संस्थाले खाना खुवाउन छाडेको छैन । साझा पार्टी र नेपाली कांग्रेसका नेता गगन थापाले त खुलेरै खुलामञ्चको खाना खुवाउने कामलाई समर्थन गरेका छन् ।

समाजसेवा गर्नु राम्रो काम हो, तर स्वाथ्यको मापदण्ड ख्यालै नगरी भीड जम्मा गरेर खाना खुवाउनु राम्रो होइन । महानगरले पनि विकल्प दिन नसक्नु उसको कमजोरी हो । कोरोनाको हटस्पट राजधानीलाई जोगाउन सबैले आ–आफ्नो ठाउँबाट प्रयास गर्नैपर्छ । कामपाले काम गर्न नसकेका मजदुरलाई कामको व्यवस्था गर्ने, खाना नपाएकालाई मानव सेवा आश्रममा खाना खुवाउने, उपचार नपाएकालाई उपचार गरिरहेको दाबी गरेको छ । सबै वडा कार्यालयले यसको व्यवस्थापन गरिरहेको जनाएको छ ।

तैपनि केही व्यक्तिले खुला मञ्चमै खाना खुवाएर राजनीतिक स्वार्थ सिद्धगरेको दाबी एकथरीको छ । महानगरमा बस्ने भोका जनतालाई आवश्यकता अनुसारको खाना खुवाउने, उपचार गर्ने र आवश्यकताको आधारमा अन्य सेवा दिने दायित्व महानगरको हो । यो दायित्वबाट पन्छिन कसैलाई पनि छुट छैन ।

पछिल्लो समय सरकार कोरोना रोकथाम र बिरामीको उपचारमा अकर्मण्य बनेको देखिन्छ । ठीक छ, खुलामञ्च खाना खुवाउनका लागि बेठीक हुन सक्छ, तर ठीक ठाउँ उपलब्ध हुनुप¥यो । तर, कस्ता व्यक्तिलाई खाना दिने, कसलाई रोजगारी दिने भन्ने काममा महानगरले मापदण्ड बनाउनुपर्छ ।

महानगरले रोजगारी गर्न सक्ने मदजुरलाई रोजगारी दिनुपर्छ । उपचार नपाएका नागरिकलाई उपचारको व्यवस्था गर्नुपर्छ । अहिलेको विषम परिस्थतिमा यी र यस्ता सबै कामको व्यवस्था गर्ने मूल दायित्व महानगरको हो । त्यसका लागि योजनासहित व्यवस्थापन गर्नुपर्छ ।