मंसिर दोस्रो साताबाट परीक्षा लिने तयारीमा त्रिवि

0
Shares

नेपाल समाचापत्र, काठमाडौं

त्रिभुवन विश्वविद्यालयले मंसिरको दोस्रो साताबाट परीक्षा गर्ने तयारी गरेको छ । त्यसका लागि परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीलाई पायक पर्ने स्थानीय निकायको केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ ।

त्रिविले कोभिड–१९ को कारण सबै विद्यार्थी उपत्यका, सदरमुकाम, शहरमा आउन नसक्ने भएपछि घरपायक केन्द्रबाट परीक्षा दिन मिल्ने गरी अनलाइन फारम भर्न अनुुरोध गरेको छ । चैतदेखि स्थगित परीक्षा सञ्चालन गर्न होम सेन्टरबाट समेत परीक्षा दिन मिल्ने व्यवस्था गरेको हो । यो वर्ष कोभिड संक्रमणको हटस्पट काठमाडौं आउनुपर्ने बाध्यता हटेको छ ।

लुम्बिनी बौद्ध, पूर्वाञ्चललगायत केही विश्वविद्यालयले घरबाटै परीक्षा सम्पन्न गरिसकेको अवस्थामा त्रिविले बल्ल यो व्यवस्था गर्न लागेको हो । विद्यार्थीले शैक्षिकसत्र खेर जान लागेको भन्दै दबाव दिएपछि त्रिविले परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

त्रिविले छठलगत्तै परीक्षा सञ्चालन गर्ने तयारीसहित विद्यार्थीलाई पायक पर्ने स्थानबाट परीक्षा दिन मिल्ने गरी अनलाइन फारम भर्न शुरु गरेको हो । त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहालले मंसिर १० देखि कार्यतालिका सार्वजनिक गरी परीक्षा लिन शुरु गर्ने जानकारी दिनुभयो । उहाँले कुनै आपत्कालीन अवस्था नआए पाँचैवटा संकायका परीक्षा लगातार सञ्चालन गर्ने बताउनुभयो ।

कात्तिकसम्म अनलाइन फारम भर्ने विद्यार्थीको तथ्यांक संकलन गर्ने र त्यसका आधारमा केन्द्र थप गरी परीक्षा सञ्चालन गर्ने तयारीमा त्रिवि रहेको छ ।

त्रिविले इन्जिनियरिङ, चिकित्सा शिक्षा, कृषि र वनबाहेक सबै संकायको परीक्षा लिने भएको छ । विश्वविद्यालयको मानविकी, व्यवस्थापन, कानुन, शिक्षा र विज्ञान संकायका सबै तहको परीक्षा स्थगित भएको छ । ‘पहिला अन्तिम तहको परीक्षा सम्पन्न गर्नेछौं, त्यसपछि अन्य तहको परीक्षा सञ्चालन गर्छौं।’ –रजिस्ट्रार प्राडा दाहालले भन्नुभयो ।

तथ्यांकअनुसार करिब ४ लाख विद्यार्थीले परीक्षा दिन पाएका छैनन् । त्रिवि प्राध्यापक संघका अध्यक्ष सहप्राध्यापक वसन्त ढकालले त्रिविले कसरी परीक्षा सञ्चालन गर्ला भन्ने विषय गम्भीर रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘जिल्लामा एउटा क्याम्पस छ, अन्य केन्द्र कसरी राख्न सकिन्छ?’ उहाँले करिब ४ लाख १५ हजार विद्यार्थीको परीक्षा व्यवस्थापन गर्न समस्या रहेको बताउनुभयो ।

कुन प्रक्रियाले परीक्षा लिने, मोडल कस्तो हुनेलगायतका विषयमा निर्णय नगरी परीक्षा गर्न मुस्किल पर्ने उहाँको भनाइ थियो । परीक्षामा सामेल हुने विद्यार्थीले एमआरपी फोटो, नागरिकताको फोटोकपी, नागरिकता पाएको जिल्लाबाहेकबाट परीक्षा दिने हो भने स्थानीय निकायको सिफारिसको फोटोकपीसमेत पनिकामा अपलोड गर्नुपर्नेछ ।

रजिस्ट्रार दाहालले कोभिड–१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न विद्यार्थीलाई आग्रह गरेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेबसाइटमा गएर विद्यार्थीले आफूलाई पायक पर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउने व्यवस्था गरेको छ ।

त्रिविले प्रवेशपत्र पनि अनलाइनबाट आफै विद्यार्थीले प्रिन्ट गरेर लिने सक्ने व्यवस्था गरेको छ । कोभिड–१९ को कारणले गत चैत ७ गतेदेखि त्रिविअन्तर्गतका सबै परीक्षा स्थगित भएका थियो । त्रिविले पहिलो विकल्पका रुपमा भौतिक उपस्थितिमा परीक्षा लिने तयारी गरेको छ ।