च्याम्पियन्स लिगमा रियलको पहिलो जित

0
Shares

लन्डन, (एजेन्सी)
यूईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा स्पेनिस क्लब रियल मेड्रिडले यस सिजनको पहिलो जित दर्ता गरेको छ।
रियलले समूह चरणको तेस्रो खेलमा इटालियन क्लब इन्टर मिलानलाई ३–२ गोल अन्तरले हराउँदै पहिलोपटक स्पष्ट जित निकालेको हो। रियलको टिम ‘बी’ को घरेलु मैदान अल्फ्रेडो डे स्टेफानो रंगशालामा रियललाई जिताउन दोस्रो हाफमा मैदान छिरेका ब्राजिलियन युवा खेलाडी रोड्रिगोले विजयी गोल गरेका थिए। रियलले खेलको ३३औं मिनेटमा नै २–० को अग्रता बनाएको थियो। तर, त्यसपछि पाहुना टोली मिलानले लगातार दुई गोल गरेर खेललाई बराबरीमा ल्याएको थियो। तर, सब्सिच्युट खेलाडी रोड्रिगोले निर्णायक गोल गरेपछि रियलले जित आत्मसात् गर्न पुग्यो।
रियलले खेलको २५औ मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता लिएको थियो। मिलानका खेलाडीले आफ्ना गोलकिपरलाई दिएको ब्याक पास बेन्जेमाले बिचैबाट बल खोसेर गोलकिपरलाई बिट गर्दै सहजै गोल गरेका थिए। त्यस्तै, खेलको ३३औं मिनेटमा कप्तान सर्जियो रामोसले हेडिङमार्फत गोल गर्दै रियलको अग्रता दोब्बर पारे। टोनी क्रुसको कर्नर किकमा रामोसले सुन्दर फिनिसिङमा गोल गरेपछि रियल खेलमा २–० ले अघि बढेको थियो। तर, दोस्रो गोल व्यहोरेको दुई मिनेटमै मिलानका लागि लौटारो मार्टिनेजले बारेल्लाको पासमा लो सटमा निकै आकर्षक गोल गरेपछि पहिलो हाफसम्म खेल २–१ मा टुंगिएको थियो।
मिलानले खेलको ६८औं मिनेटमा बराबरी गोल फर्काएको थियो। मार्टिनेजले डि बक्समा दिएको आकर्षक हेडिङ पासमा इभान पेरिसिचले चलाखीपूर्वक लो सटमा गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो। यता मिलानविरुद्ध जित्नैपर्ने दबाबमा रहेको रियलको अवस्था कठिन बनेपछि प्रशिक्षक जिनेदिन जिदानले लगातार तीनजना खेलाडी परिवर्तन गरेर भिनिसियस जुनियर, रोड्रिगो र लुका मोड्रिचलाई मैदानमा उतारेका थिए। फलस्वरूप खेलको ८०औं मिनेटमा रोड्रिगोले निर्णायक गोल गरेपछि रियलको जित सम्भव भएको थियो ।
त्यस्तै, अर्को स्पेनिस क्लब एथ्लेटीको मेड्रिड भने समूह चरणको तेस्रो खेलमा बराबरीमा रोकिएको छ। मंगलबार राति नै भएको खेलमा एथ्लेटीको रसियन क्लब लोकोमोटिभ मस्कोसँग उसैको घरेलु मैदानमा १–१ गोलको बराबरीमा रोकिएको हो। एथ्लेटीकोले खेलको १८औं मिनेटमा जोसे जिमेन्जको गोलमार्फत अग्रता लिएको थियो। तर, खेलको २५औं मिनेटमा मस्कोले पाएको पेनाल्टीमा एन्टोन मिरानचुकले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए।
बराबरीपछि एथ्लेटीकोले तीन खेलबाट मात्रै ४ अंक जोडेको छ। एथ्लेटीकोले ३ खेल जितेर एक खेल बराबरी गर्दा एकमा हार व्यहोरेको छ। पराजित मस्कोको भने दुई अंक मात्र रहेको छ।
मंगलबार नै भएको अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखले फराकिलो गोल अन्तरको जित निकालेको छ। समूह चरणअन्तर्गत भएको तेस्रो खेलमा बायर्नले अस्ट्रियन क्लब रेडबुल साल्जबर्गलाई उसैको घरेलु मैदानमा ६–२ को फराकिलो अन्तरले हराएको हो। बायर्नलाई अवे मैदानमा सानदार जित दिलाउने क्रममा स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीले दुई गोल गरे भने एक गोल उपहारमा पायो।
खेलमा अग्रता भने साल्जबर्गले लियो। साल्जबर्गका लागि मर्जिम बेरिसाले खेल शुरू भएको चौथो मिनेटमै गोल गर्दै अग्रता लिएको थियो। त्यसपछि, बायर्नले २१औं मिनेटमा पेनाल्टी पायो, जसमा लेवान्डोस्कीले गोल गर्दै खेललाई १–१ को गोलको बराबरीमा ल्याएका थिए। खेलको ४४औं मिनेटमा साल्जबर्गका डिफेन्डर रासमुस क्रिस्टिनसेनले आत्मघाती गोल गरेपछि पहिलो हाफसम्म बायर्नले २–१ ले अघि रहेको थियो। खेलको ६६औं मिनेटमा साल्जबर्गका लागि मासाय ओकुगुवाले गोल गरेपछि खेल दोस्रोपटक २–२ को बराबरीमा पुगेको थियो।
तर, त्यसपछि भने बायर्नले १३ मिनेटभित्र ४ गोल थप्यो। खेलको ७९औं मिनेटमा जेरोमे बोटेङले टोलीका लागि तेस्रो गोल गर्दा ८३औं मिनेटमा लिरोए सानेले गोल गरे भने ८८औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरेका थिए। त्यसपछि थप समयको दोस्रो मिनेटमा लुकास हर्नान्डेजले गोल गरेपछि खेल बायर्नले ६–२ ले सहजै जित्यो। जितसँगै बायर्नले समूह चरणका तीन खेल सकिँदा शतप्रतिशत जित हासिल गरेको छ। बायर्न ३ खेलबाट ९ अंक जोडेर समूह ‘ए’को शीर्ष स्थानमा छ।
त्यस्तै, अर्को खेलमा इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलले समूह चरणको तेस्रो खेलमा फराकिलो गोल अन्तरको जित आत्मसात् गरेको छ। लिभरपुलले इटालियन ‘सिरी ए’ क्लब एटलान्टालाई उसैको घरेलु मैदानमा ५–० को लज्जास्पद हारको स्वाद चखाएको हो। लिभरपुलको फराकिलो जितमा केही समयअघि मात्रै समर विन्डोमा अनुबन्ध भएका पोर्चुगिज खेलाडी डिएगो जोटाले ह्याट्रिक गरे। लिभरपुलका लागि खेलको १६औं मिनेटमा जोटाले पहिलो गोल गरेका थिए। त्यसपछि जोटाले नै खेलको ३३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफसम्म लिभरपुल २–० ले अघि रहेको थियो।
लिभरपुलले दोस्रो हाफ शुरू भएको चार मिनेटमै दुई गोल गरेको थियो। मोहमद सालाहले र साडियो मानेले गोल गरेपछि लिभरपुलले ४–० को अग्रता बनाएको थियो। त्यसपछि, ५४औं मिनेटमा जोटाले अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए। उनले लिभरपुलको जर्सीमा पहिलो ह्याट्रिक गरेका हुन्। जितसँगै लिभरपुलले शुरुआतका तीनवटै खेल जितेर ९ अंकसहित समूह ‘डी’ को शीर्ष स्थान ओगटेको छ। पराजित एट्लान्टा भने ४ अंकसहित तेस्रो स्थानमा रहँदा डच क्लब आयाक्स पनि ४ अंकसहित दोस्रो स्थानमा छ।
त्यस्तै, अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीले पनि जारी सिजनको च्याम्पियन्स लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ। समूह चरणको तेस्रो खेलमा सिटीले ग्रीसको ओलम्पियाकोसलाई आफ्नो घरेलु मैदानमा ३–० गोल अन्तरले पराजित गरेको हो। सिटीले समूह चरणमा खेलेका तीनवटै खेल जितेको छ। सिटीलाई जिताउने क्रममा तीनजना खेलाडीले गोल गरे। खेलको १२औं मिनेटमा फेर्रान टोरेजले पहिलो गोल गरेका थिए। उनको गोलमा केभिन डे ब्रुयेनेले असिस्ट गरेका थिए। उक्त गोलपछि सिटीलाई अर्को गोल थप्न खेलको अन्तिम समयसम्म नै कुर्नुपरेको थियो।
खेलको ८१औं मिनेटमा सिटीका लागि ग्याब्रियल जेससले गोल गरेपछि सिटीले जित पक्का गरेको थियो। उनको गोलमा पनि डे ब्रुयेनेले नै असिस्ट गरेका थिए। त्यसपछि खेलको ९०औं मिनेटमा जोआओ कान्सेलोले गोल गरेपछि खेल सिटीले ३–० ले जितेको हो। जितपछि सिटी समूह चरणमा शतप्रतिशत नतिजा निकाल्दै ९ अंक जोडेर समूह ‘सी’ को पहिलो स्थानमा रहेको छ। पराजित ओलम्पियाकोस ३ अंकसहित तेस्रो स्थानमा रहँदा पोर्चुगिज क्लब पोर्टो ६ अंकसहित दोस्रो स्थानमा छ। फ्रेन्च क्लब मार्सेइल्ली भने तीनवटै खेल हारेर समूहको पुछारमा छ।
च्याम्पियन्स लिग फुटबलमा युक्रेनको क्लब साख्तर डोनेट्स्कले भने लज्जास्पद हार व्यहोरेको छ। समूह चरणको तेस्रो खेलमा जर्मनीको बुन्डेसलिगा क्लब मोन्चेंलाडवाचले युक्रेनको क्लब साख्तरलाई उसकै घरेलु मैदानमा ६–० को फराकिलो गोल अन्तरले शिकार बनाएको हो। यसअघि रियल मड्रिडलाई उसकै घरेलु मैदानमा २–३ ले पराजित गरेको साख्तरले मोन्चेंलाडवाचसँग भने गोलको भारी नै बोक्नुप¥यो।
साख्तरलाई उसकै घरमा हराउने क्रममा मोन्चेंलाडवाचका लागि अलास्साने प्लियाले ह्याट्रिक गरे भने १ गोल उपहारमा पायो। मोन्चेंलाडवाचका लागि प्लियाले खेलको आठौं मिनेट र २६औं मिनेटमा गरी पहिलो हाफमा २ गोल गरेका थिए। १७औं मिनेटमा साख्तरले आफ्नै पोस्टमा गोल गरेको थियो। त्यसपछि, खेलको ४४औं मिनेटमा रमी बेन्सेबैनीले गोल गरेपछि मोन्चेंलाडवाच पहिलो हाफमा ४–० ले अघि रहेको थियो। त्यस्तै, दोस्रो ६५औं मिनेटमा मोन्चेंलाडवाचका लागि लार्स स्टिन्डलले गोल गरे। खेलको ७८औं मिनेटमा प्लियाले व्यक्तिगत तेस्रो गोल गरेर आफ्नो ह्याट्रिक पूरा गरे भने टिमको जित ६–० ले पक्का गरे।
जितसँगै मोन्चेंलाडवाच अब ३ खेलबाट ५ अंक जोडेर समूह ‘बी’ को शीर्ष स्थानमा छ। पराजित साख्तर ४ अंकसहित दोस्रो स्थानमा रहँदा रियल मेड्रिड ४ अंकसहित तेस्रो स्थानमा छ। इटालियन इन्टर मिलान २ अंकसहित चौथो स्थानमा छ। हालकै स्थितिमा मिलान सबैभन्दा खराब स्थितिमा छ। मिलानले ३ खेलबाट मात्रै २ अंक जोडेको छ।