वीरका १६ चिकित्सकको सामूहिक राजीनामा

0
Shares

काठमाडौं, (नेस)
वीर अस्पतालको आकस्मिक विभागमा कार्यरत तथा अस्पताल व्यवस्थापनप्रति असन्तुष्ट १६ जना चिकित्सकले बुधबार अस्पतालका निर्देशकलाई सम्बोधन गरी पत्र लेख्दै राजीनामा दिएको जनाएका छन् ।

अस्पताल प्रशासनको विभेदका कारण आफूहरुले राजीनामा दिएको विज्ञप्तिमा उल्लेख छ । राजीनामा दिने चिकित्सकहरुले व्यवस्थापनले कोरोनाका समयमा पनि आवश्यकताअनुसारको उपकरण, सेवासुविधा नदिएको उल्लेख गरेका छन् । प्रशासनको ध्यानाकर्षण गराउँदै तलब, भत्ता, बिदा सुविधाका विषयलाई लिई यही कात्तिक २ गतेदेखि चिकित्सक तथा कर्मचारीहरु विरोधमा उत्रिएका थिए ।

राजीनामा दिने चिकित्सकहरुले वीर अस्पताल प्रशासनले आफूहरुलाई ज्यालादारी भन्दै दशैंतिहारको भत्तासमेत नदिएको र उल्टै एक दिनको तलब कटाएर दिएको उल्लेख गरेका छन् । अस्पतालले आवश्यकताअनुसारको स्रोत सामग्रीसमेत नदिएकाले राजीनामा नै दिनुपर्ने बाध्यता परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वीर अस्पतालको आकस्मिक विभागमा विशेष गरी करारकै चिकित्सकलाई काम गराइने एक उच्च अधिकारीले बताएका छन् । करार र स्थायीलाई काम र तलबमा भेदभाव गर्न नपाउने उनको भनाइ छ ।

नियमसंगत हप्तामा ४० घण्टा काम गराउन मिल्छ तर करार भनेर समयमा तलब नै नदिई ९६ घण्टासम्म काम लगाइएको सामूहिक राजीनामा दिने चिकित्सकहरुको गुनासोको प्रशासन पक्षले सुनावाइ नगरी पेलेर काम गराउन खोज्नु ठूलो गल्ती भएको ती अधिकारीको बुझाइ छ ।