कोरोना बीमाको भुक्तानी दिन निर्देशन


काठमाडौं, (नेस)

बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी एक साताभित्र गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । विभिन्न बाहानामा बीमा कम्पनीले महिनौंदेखि दाबी भुक्तानी रोकेपछि जनगुनासो बढ्दै गएको थियो ।

जनगुनासो आक्रोशमा बदलिन थालेपछि अर्थ मन्त्रालयले चासो राखी निर्देशन भएपछि समितिले सो निर्देशन दिएको हो ।

अर्थ मन्त्रालयले दाबी भुक्तानी कार्यमा आएको जनगुनासो सम्बोधन गरी हरेक दिन सोको जानकारी मन्त्रालयमा पठाउन पनि समितिलाई निर्देशन दिएको छ ।

यसअघि कोरोना बीमाका विषयमा उठेका विषयमा छलफल गर्न मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा मन्त्रालयका सचिव, बीमा समिति र बिमक संघका अध्यक्षसहितको बैठक बसेको थियो ।

करिब १४ सय जनाको दाबी भुक्तानी भए पनि १३ हजारभन्दा बढीको दाबी भुक्तानी रोकिएको गुनासो रहेको छ । ५० हजार रुपियाँ र एक लाख रुपियाँको दुईथरी कोरोना बीमा रहेको छ ।

यस बीमा कार्यक्रमको शुरूमा पीसीआर रिपोर्ट पोजेटिभ आउने बित्तिकै भुक्तानी दिने भनिएकोमा पछि मापदण्ड परिमार्जन गर्दै २५ प्रतिशत शुरूमा र बाँकी ७५ प्रतिशत आइसोलेसन र हस्पिटलको बिल पेश गरेपछि भुक्तानी गर्ने नीति समितिले ल्याएको थियो ।

तर, निजी अस्पताल र ल्याबको रिपोर्ट नक्कली आएको लगायतका विभिन्न बाहाना बनाउँदै बीमा कम्पनीले भुक्तानी रोकेका थिए ।