माथागढीका महिलालाई अण्डा, घरमा हरियो झण्डा

0
Shares

कविराज नेपाल, पाल्पा
गर्भवती अवस्थामा पोषण स्वास्थ्य र उचित हेरचाहको आवश्यकता हुन्छ, यो सबैले भन्ने गरेको कुरा हो । वास्तविकतामा यस्तो नभएको पनि देखिन्छ । तर, पाल्पाको एउटा गाउँपालिकाले भने गर्भवती महिलालाई नै लक्षित गरेर महिलालाई अण्डा, घरमा हरियो झण्डा कार्यक्रम सञ्चालन गरेको छ । खासगरेर गर्भवती र सुत्केरी महिलालाई लक्षित गरेर गर्भवती भएको घर चिनाउने गरी हरियो झण्डा राख्ने र पोषणलाई ध्यान दिँदै गर्भवती र सुत्केरीलाई अण्डा वितरण गरिने भएकाले यस कार्यक्रमलाई ‘महिलालाई अण्डा, घरमा हरियो झण्डा’ कार्यक्रम भनी नामकरण गरिएको हो ।
गाउँपालिकाले गत आर्थिक वर्ष २०७६÷०७७ बाट यो कार्यक्रम लागू गरेको हो । पछिल्लो समय यो कार्यक्रम लागू भएपश्चात् स्वास्थ्य चौकीमा आएर स्वास्थ्य परीक्षण गर्ने र पौष्टिकताका लागि अण्डा लिएर जाने गर्भवती महिलाको संख्या बढेको छ ।
गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराई गर्भवतीहरु गर्भावस्थामा स्वास्थ्यप्रति संवेदनशील होऊन् र नियमित स्वास्थ्य जाँच गराऊन् भन्ने उद्देश्यका साथ नियमित गर्भ जाँच गराउनेलाई अण्डा र सुत्केरी प्रोसाहन रकम वितरण गर्ने अभियान सञ्चालन गरेको बताउनुहुन्छ ।

उहाँका अनुसार संस्थागत सुत्केरी प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले अण्डा र झण्डा अभियानलाई पनि सँगसँगै अगाडि बढाएको हो । यस कार्यक्रममा गर्भवती महिलामा गर्भ रहेको सामान्यतया चार महिनादेखि नौ महिनासम्म गर्भ जाँच गर्न आउँदा स्वास्थ्य संस्थामार्फत नै अण्डा वितरण गर्ने गरिएको छ ।

गाउँपालिकाले अहिलेसम्म विभिन्न स्वास्थ्य संस्थामा चेकजाँच गर्न पुगेका १ सय ६० जना गर्भवती तथा सुत्केरी महिलालाई अण्डा वितरण गरिसकेको छ । गर्भवतीलाई नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र पोषणयुक्त खानामा ध्यान पु¥याउने भन्दै गत वर्षदेखि नियमित गर्भ जाँच गराउनेलाई अण्डा वितरण अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले जानकारी दिनुभयो ।

अध्यक्ष थापाका अनुसार अण्डामा मानिसलाई चाहिने सबै पोषक तत्व पाइने र सबैभन्दा बढी प्रोटिनको स्रोत भएकाले गर्भवती र सुत्केरी अवस्थामा पोषण पर्याप्त भए जन्मने शिशु स्वस्थ जन्मिने भएकाले पनि पालिकाभित्रका गर्भवती तथा सुत्केरी महिलालाई उपहारस्वरुप अण्डा वितरण गर्दै आइएको हो ।

माथागढी गाउँपालिका–१ चिदीपानीकी २५ वर्षीय कविता सारु आफू गर्भवती भएदेखि नै नियमित गर्भ परीक्षणका लागि स्वास्थ्य चौकी जाने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘अहिले समय–समयमा परीक्षण गराउन मात्र होइन अण्डा पनि पाएकी छु, जसले गर्दा मेरो र शिशुको स्वास्थ्य अवस्था राम्रो हुनेमा विश्वस्त छु ।’

गाउँपालिकाले यस कार्यक्रमका लागि गत वर्ष चार लाख रकम विनियोजन गरी अभियान अगाडि बढाएको थियो भने कार्यक्रम प्रभावकारी भएको गाउँपालिकाले अहिले पनि त्यसलाई निरन्तरता दिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक केशव जिसीले बताउनुभयो ।

गाउँपालिकाले गर्भ रहेका महिला स्वास्थ्य संस्थामा आए ३ सय ५० बराबरको अण्डा दिने व्यवस्था मिलाएको छ । यसबाहेक गाउँपालिकाले स्वास्थ्य संस्थामा गएर सुत्केरी भएमा संस्थागत सुत्केरी प्रोत्साहन रकमसमेत वितरण गर्दै आएको छ ।

गाउँपालिकाले गत वर्ष ६५ र अहिले ४० जना संस्थागत सुत्केरी महिलाहरुलाई संस्थागत सुत्केरी प्रोत्साहन रकम वितरण गरिसकेको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई गाउँपालिकाले २५ सय रुपियाँका दरले प्रोत्साहन रकम दिँदै आएको छ । ८ वटा वडा रहेको गाउँपालिकामा हाल ७ वटा स्वास्थ्य चौकी, दुईवटा सामुदायिक स्वास्थ्य एकाइ गरी ९ वटा स्वास्थ्य संस्था रहेका छन् ।