रवीन्द्रले दिलाए नेपाललाई स्वर्ण

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
खेलाडी तथा प्रशिक्षक रवीन्द्र मानन्धरले सातौं निसिमुरा कप कराते अनलाइन काता प्रतियोगितामा स्वर्ण प्राप्त गरेका छन्।
फिलिपिन्स कराते लिगको आयोजनामा भएको अनलाइन प्रतियोगिताको ३७–४५ वर्ष उमेर समूह एडवाच मास्टर्स कातामा मानन्धरले नेपाललाई स्वर्ण दिलाएका हुन्। उनले स्वीडेनका एन्टोन कुमरलाई हराएका थिए। प्रतियोगितामा नेपालले १६ स्वर्ण, १२ रजत र ७कांस्यका साथ कुल ३५ पदक जितेको प्रशिक्षक एवं निर्णायक रवी शाहीले जानकारी गराए।
यसैगरी, नेपालका सुभास घतानेले १८ देखि २५ वर्ष उमेर समूहअन्तर्गत एडवाच कातामा नेपालकै जगत सिंह धाकुनलाई हराएर स्वर्ण जितेका हुन्। त्यस्तै, २५ देखि ३५ वर्ष उमेर समूहमा सुभास कार्कीले स्वीडेनका खेलाडी केन्टारो एरिक्सनलाई पराजित गर्दै नेपाललाई थप स्वर्ण दिलाए। नेपालका लागि स्वर्ण जोड्ने क्रममा मनीष कार्कीले फिलिपिन्सका म्याथी बाल्डेटामोनलाई पराजित गरे । उनले १३ देखि १५ वर्ष उमेर समूहमा स्वर्ण जितेका हुन्।
त्यस्तै, सत्कार घर्ती मगरले ९ वर्षमुनिको तौल समूहमा फिलिपिन्सका चाहतगट सिंगलाई पराजित गर्दै नेपालका लागि स्वर्ण जिते। सोही तौल समूहको महिलातर्फ नेपालकी सुविता गौतमले फिलिपिन्सकी मरिएल्ल उर्बनोलाई पराजित गरिन्। १० देखि १२ वर्ष उमेर समूहको नविक कातामा नेपालकी मंग्रान्तीले नेपालकै न्यान्सी क्षत्रीलाई हराउ“दै स्वर्ण हात पारिन्।
यस्तै, १३ देखि १७वर्ष उमेर समूहको एडवाच कातामा इन्डोनेसियाकी नबिला सकिला लिनोमेलाई पराजित गर्दै नेपालकी सन्जु देसारले स्वर्ण कब्जा गरिन्। १३ देखि १५ वर्ष उमेर समूहमा नविक कातामा स्वीडेनकी नाथली कोमरलाई पराजित गर्दै नेपालकी गरिमा मगरले स्वर्ण हात पार्दा अर्की खेलाडी रोशमा राईले १८ देखि २५ वर्ष उमेर समूहको एडवाच कातामा नेपालकै निता आचार्यलाई पछि पार्दै स्वर्ण जितेकी हुन्। २६ देखि ३५ वर्ष उमेर समूह एडवाच कातामा रिना श्रेष्ठले स्वर्ण हात पार्ने क्रममा फिलिपिन्सकी कन्जेलन्न बोर्जेलाई पराजित गरिन्।
च्याम्पियनसिपको कुमितेतर्फ ९ वर्षमुनिको तौलमा रेन्जेन लामाले स्वर्ण जिते। उनले नेपालकै आरभ देवकोटालाई पराजित गरेका थिए। १८ देखि २५ वर्ष समूहमा आशिष कार्की सन्देश लामालाई पन्छ्याउ“दै स्वर्ण जित्न सफल भए। महिला ९ वर्ष उमेर समूहमा सुविता गौतमले जुलियाना मोक्तानलाई पराजित गर्दै प्रथम भएकी छन्। च्याम्पियनसिपमा १६ देशका २ सय ३२ खेलाडीले सहभागिता जनाएका थिए। नेपाललगायत फिलिपिन्स, इरान, स्वीडेन, जापान, क्यानडा, चिली, इटली, मकाउ, यूएई, इजिप्ट, यूएसए, इन्डोनेसिया, सिंगापुर, हङकङले सहभागिता जनाएको नेपालका लागि संयोजनकर्ता प्रशिक्षक तथा निर्णायक रवी शाहीले जानकारी गराए।