धोनीको सबैभन्दा खराब आईपीएल

0
Shares

फिरोज राजोपाध्याय, काठमाडौं ।

युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) महेन्द्र सिंह धोनीको लागि निकै खराब रह्यो । चेन्नाई सुपर किंग्सको कप्तान धोनीले यो १३औं सिजनको आईपीएलमा कुनै खेलमा पनि गतिलो ब्याटिङ समेत देखाउन असफल भए । यसैले चेन्नाई सुपर किंग्स यसपटक किंग साबित हुन सकेन । जबकी यसअघिका संस्करणमा टिमको प्रदर्शन उत्कृष्ट थियो ।

आईपीएलमा चेन्नाई सुपर किंग्सले ३ पटक उपाधि जित्नुका साथै ५ पटक उपविजेता बन्न मौका मिलेको छ । यसअघिका संस्करणमा चेन्नाईको टिम संतुलित थियो । टिमले ८ पटक त फाइनलमा पुगेर एउटा कीर्तिमान समेत राखेको छ । यसरी आईपीएलमा सर्बाधिक फाइनल खेल्ने एक्लो टिम चेन्नाई नै हो । टिमले २०१०, २०११ र २०१८ माउपाधि जितेको थियो ।

यसपटक भने टिमले १४ खेलमध्ये ६ मा जित हासिल गर्नसक्यो र पहिलो पटक प्लेअफमा पुग्न सकेन । टिम १२ अंकसहित प्रतियोगिताबाट सातौं स्थानमा रहेर बाहिरिनुप¥यो । भारतीय मिडियाहरुले चेन्नाईको खराब प्रदर्शनको कारण स्वयम् धोनीलाई नै दोष लगाएका छन् । उनीहरुको आरोप यस्तो छ कि धोनीले युवा खेलाडीहरुलाई किनारा लगाएर उमेर पुगेका र अनुभवी खेलाडीमाथि भरोसा जनाए । यही निर्णयले गर्दा टिम नराम्रोसँग हार्न पुगेको हो ।

धोनीका भरोसेमन्द ब्याटसम्यानहरु शेन वाटसन, मुरली विजय, केदार जाधव र पियुष चावला पुरै फ्लप भए ।उनीहरुको तुलनामा नयाँ उदीयमान खेलाडी ऋतुराज गायकवाद र सेम करनले राम्रो खेले । तापनि उनीहरुले कमै मौका पाए । तर खेल्दा हरेक पटक उनीहरुले आफुहरुलाई अब्बल साबित गरे ।

गायकवाद शुरुवाती खेलमा जम्न सकेनन् र उनलाई धोनीले बाँकी खेलहरुमा ड्रप गरेका थिए । जब टिम प्लेअफ पुग्न नसकेपछि धोनीले बाँकी ३ खेलमा उनलाई फेरि मौका दिए । यो मौकामा गायकवादले लगातार तीन खेलमा अर्धशतक लगाएर आफ्नो खुबी देखाइदिए ।
चेन्नाईको टिममा हेर्ने हो भने १० जना नियमित खेलाडीको उमेर ३० नाघेका र १ खेलाडी ४० उमेर कटेका छन् ।

टिममा सबैभन्दा पाको खेलाडी इमरान ताहिर हुन् । बलर ताहिरको उमेर ४१ वर्ष हो । त्यस्तै शेन वाटसन र धोनीको उमेरर ३९–३९ वर्ष हो । अन्यमा ड्वायन ब्राभो ३७, फाफ डु प्लेसिस, अम्बाती रायडु र मुरली विजय ३६, केदार जाधव ३५, कर्ण शर्मा ३३ तथा रविन्द्र जडेजा र पियुष चावला ३१ वर्षका हुन् ।

धोनीले यस सिजनमा १४ खेल खेलेर १२ इनिङमा मात्र २ सय रन बटुलेका छन् । उनले एउटा पनि अर्धशतक प्रहार गर्न सकेनन् । उनको उच्चतम व्यक्तिगत स्कोर भनेको नटआउट ४७ रन थियो । वाटसनले पनि २ खेललाई छाडेर खासै राम्रो गर्न सकेनन् । उनले कूल २ सय ९९ रन बनाए । मुरलीले ३ खेलमा केवल ३२ रन जोडे ।

तर डु प्लेसिस कूल ४ सय ४९ रन जोडेर यस सिजनमा टिमका सर्वाधिक रन बनाउने खेलाडी बने । रायडु ३ सय ५९ रन बटुलेर टिमका दोस्रो सर्वाधिक रन बनाउने ब्याटसम्यान बने । जम्मा दुई खेलाडीले मात्रै ३ सय रन पार गर्नाले पनि चेन्नाईको यस सिजन अरु सिजन जस्तो वाहवाह हुन सकेन ।

हरभजन र रैना नहुँदा नोक्सान

चेन्नाईका लागि प्रमुख म्याच विनर हरभजन सिंह र सुरेस रैना नहुनु पनि नोक्सान भएको हो । प्रतियोगिता हुन अघि यी दुबै खेलाडीले नाम फिर्ता लिएका थिए । यी दुबै जना प्रतियोगिताबाट हटेपछि टिमको प्रदर्शनमा सीधै असर प-यो । लिगको इतिहासमा चेन्नाईको लागि रैनाले १ सय ९३ खेल खेलेको अनुभव छ । उनले ५ हजार ३ सय ६८ रन बनाएका छन् ।

त्यही हरभजनले १ सय ६० खेलबाट १ सय ५० विकेट लिएका छन् । अर्का प्रमुख अलराउन्डर ब्राभो चोटको कारण शुरुवाती खेलबाट बाहिर थिए । उनको अनुपस्थितमा टिमको बलिङ कमजोर भएको थियो । तर ब्राभो खेलमा फर्के पनि उनको बलिङमा पहिले जस्तो धार भने देखिएन । उनले ६ खेलबाट ६ विकेट लिएका थिए ।