छैन स्वास्थ्य सावधानी : कोरोनालाई सामान्यरूपमा लिँदा संक्रमण बढ्दै

0
Shares

रोशन पराजुुली, हेटौंडा

नागरिकले कोरोनालाई सामान्यरूपमा लिँदा हेटौंडामा पछिल्लो समय कोरोना संक्रमण दर बढेको छ । स्वास्थ्य सावधानी नअपनाइँदा यसले भोलिका दिनमा अझ संकट निम्तिन सक्ने देखिएको छ ।

हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागार्इंका अनुसार हिजोआज स्वाब दिन आउनेको संख्या बढ्दा कोरोना संक्रमण दर पनि बढेको छ । स्वास्थ्य सावधानीमा लापरबाहीका कारण यो अवस्था अझ दयनीय बन्न सक्छ ।

मकवानपुरमा आइतबारसम्म भाइरस संक्रमण पुष्टि हुनेको संख्या २ हजार ९ सय ५६ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले जिल्लामा हालसम्म पुष्टि भएकामध्ये २ हजार ४४ जना संक्रमणमुक्त भएका बताउनुुभयो ।

जिल्लामा कोरोना संक्रमणका कारण हालसम्म २३ जनाले ज्यान गुमाएका छन् । जसमा हेटौंडा उपमहानगरपालिकाका १८ जना, थाहा नगरपालिकाका २ जना र मनहरी, बकैया, बागमती गाउँपालिकाका एक–एक जना छन् । जिल्लामा ८ सय ८७ जना सक्रिय संक्रमित उपचाररत छन् ।

कोरोनासँग लड्न पहिलो प्राथमिकतामा राखिनुपर्ने स्वास्थ्य मापदण्ड नै पछिल्लो समय लागूू हुन छाडेकोमा चौलागाईंको चिन्ता छ ।

लकडाउन तथा निषेधाज्ञा हटेपछि हरेक ठाउँमा भीडभाड बढेको छ । भौतिक दूूरी, अनिवार्य मास्क, सेनिटाइजर जस्ता स्वास्थ्य मापदण्ड पालना गरिएको पाइँदैन । कोरोना भनेको केही होइन । कोरोना लाग्दैमा केही हुँदैन भन्ने सोचका कारण मकवानपुरमा कोरोना संक्रमण फैलँदै गएको सूचना अधिकारी केसीको धारणा छ । हेटौंडा उपमहानगरपालिकामा कोरोना संक्रमित धेरै भेटिएका छन् ।

मास्क नलगाउनेलाई जरिवानासमेत गराएर अनिवार्य मास्क प्रयोग गर्न जोड दिन जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य मापदण्ड पालना गराउन ‘निर्देशन’ दिँदै आएको जिल्ला प्रशासन कार्यालयलगायत जिम्मेवार निकाय पछिल्लो समय मौन देखिएका छन् ।

कोरोना भाइरसको लक्षण देखिँदा परीक्षणका लागि स्वाब दिएपछि स्वास्थ्य मापदण्ड पालना नगर्दा पनि संक्रमण बढिरहेको छ । नेपालमा पहिलो चरणमा कोरोना संक्रमण देखिँदा कोरोना लक्षण देखिएकालाई आइसोलेसनमा केही दिन राखेर परीक्षण गरी रिपोर्ट आएपछि मात्र घर पठाउने गरिएको थियो । तर, हाल संक्रमण संख्या तीव्र बढिरहँदा संक्रमित होम आइसोलेसनमै छन् ।

‘लक्षण देखिएर, परिवारका सदस्यमा पुष्टि भएर वा संक्रमितको सम्पर्कमा आएकामा कोरोना परीक्षणका लागि स्वाब परीक्षणका लागि दिएपछि व्यक्ति स्वयं सचेत हुनुपर्ने हो । तर, स्वाब दिएका अधिकांश सचेत नहुँदा संक्रमण फैलने सम्भावना छ ।’ –चौगालाईंको भनाइ छ ।

मुख्यमन्त्री पौडेल डिस्चार्ज
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कात्तिक ६ गते गरिएको परीक्षणमा कोरोना (कोभिड–१९) पोजेटिभ रिपोर्ट आएपछि उपचारका लागि उहाँ शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्र काठमाडौंमा भर्ना हुनुभएको थियो ।

कात्तिक १५ गतेको गरिएको पुनःपरीक्षणमा उहाँको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आइतबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँसँगै संक्रमित मुख्यमन्त्रीकी पत्नी विजया पौडेलको पुनः परीक्षणमा कोरोना संक्रमण रिपोर्ट पोजेटिभ नै आएको छ । दुवै ललितपुर भैंसेपाटीस्थित सरकारी निवासमा आइसोलेसनमा रहनुभएको छ ।