किंग्स इलेभेन पन्जाबको सपना चकनाचूर

0
Shares

नयाँदिल्ली, (एजेन्सी)

चेन्नई सुपर किंग्ससामु आत्मसमर्पण गरेपछि किंग्स इलेभेन पन्जाबकोजारी इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुग्ने सपना चकनाचूर भएको छ।

किंग्स इलेभेनले बलिङ र ब्याटिङ दुवै विधा चम्काउन नसक्दा चेन्नईसँग ९ विकेटले हार स्वीकार गर्नुपरेको छ। टिमको पहिले ब्याटिङ कमजोर भयो भने पछि बलिङमा पनि धार तिखो बनाउन सकेन। यही कारण चेन्नईले १ सय ५४ रनको लक्ष्य १ विकेटको क्षतिमा आरामका साथ भेटायो।

किंग्सका लागि यो खेल जितेर १४ अंक बनाएर सीधै प्लेअफमा पुग्ने अवसर थियो। तर, चेन्नईले यस्तो हुन दिएन। त्यसो त चेन्नई प्लेअफबाट पहिले नै बाहिरिसकेको पहिलो टिम हो। यो जितले टिमको १२ अंक भएको छ। किंग्सको पनि १२ अंकसहित जारी सिजनको आईपीएलमा यात्रा समाप्त भएको छ।

टिमलाई जारी सिजनमा सुखद अन्त्य गराउन ओपनर ब्याट्सम्यानले सानदार ब्याटिङ गरे। फाफ डु प्लेसिसले ४८ रन र रुतुराज गायकबादले अर्धशतक प्रहार गरेका थिए। सेन वाटसनको सट्टामा ओपनर गर्न आएका गायकबादले नटआउट रहँदै ६२ रन जोडे। किंग्सको तर्फबाट विकेट लिनेमा क्रिस जोर्डन सफल भए।

यसअघि अबुधाबीको मैदानमा किंग्स इलेभेन पन्जाबले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ५३ रन बनाएको थियो। टिमका लागि दीपक हुडाले सर्वाधिक ६२ रनको योगदान दिए। नटआउट रहेका हुडाले ३० बलमा ४ छक्का र ३ चौका प्रहार गरेका थिए।

पन्जाबका लागि कप्तान लोकेश राहुल र मायन्क अग्रवालले राम्रो शुरुआत दिलाएका थिए। दुवैले पहिलो विकेटका लािग ३२ बलमा ४८ रनको साझेदारी गरेका थिए। यो साझेदारीलाई लुंगी एन्गिडीले तोडेका थिए। उनले मायन्कलाई व्यक्तिगत २६ रनमा बोल्ड गरेका गर्न पुगे। अर्का ओपनर राहुल पनि व्यक्तिगत २९ रनमा आउट भएपछि पन्जाबलाई ठूलो झट्का लागेको थियो।

त्यसैगरी,विस्फोटक ब्याट्सम्यान क्रिस गेलको ब्याट पनि चल्न सकेन। अघिल्लो खेलमा ९९ रन बनाएका उनी १२ रनमै चित्त बुझाएर पवेलियन फर्के। अर्का विस्फोटक ब्याट्सम्यान निकोलस पूरण पनि २ रनमै आउट भए। यी तीन शीर्ष ब्याट्सम्यान मात्र १० रनको अन्तरमा आउट भएपछि पन्जाब निकै दबाबमा पुगेको थियो।

यसपछि हुडा र मनदीप सिंहले टिमको ब्याटिङ उकासेका थिए। उनीहरूले चौथो विकेटका लागि ३६ रन साझेदारी गरे। १४ रन बनाएर मनदीप पाँचौं विकेटका रूपमा आउट भएका थिए। उनी आउट हुँदा टिम१ सय ८ कोस्कोरमा थियो। ५ रन जोड्दाजेम्स निसम २ रन बनाएर आउट भए। ६ विकेटको पतनपछि पन्जाब फेरि संकटमा परेको थियो।

तर, हुडा र क्रिस जोर्डनले थप विकेट गुमाउन दिएनन्। उनीहरूले सातौं विकेटका लागि अटुटरूपमा ४० रन बटुलेका थिए। सो साझेदारीमा जोर्डनको योगदान मात्र ४ रन थियो। अरू सबै रन हुडा एक्लैले जोडे। उनीहरूले केवल १७ बलको सामना गरेका थिए। हुडा चलेपछि पन्जाबले १ सय ५० रन कटाउन सफल भएको थियो। चेन्नईको बलरमा एन्गिडीले सर्वाधिक ३ विकेट लिएका थिए।