सिन्धुलीमा कोरोनाका कारण एक महिलाको मृत्यु

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीमा पहिलो पटक कोभिड १९ (कोरोना भाईरस)का कारण एक महिलाको मृत्यु भएको छ । कमलामाई नगरपालिका– ६ की ८३ वर्षिय महिलाको उपचारका क्रममा मृत्यु भएको हो । आइतबार साँझ उहाँको सिन्धुली अस्पतालको आकस्मीक कक्षमा मृत्यु भएको सिन्धुली अस्पतालले जनाएको छ ।

मृतक महिलालाई परिवारले उच्च ज्वरो र स्वास प्रस्वासमा समस्या आएपछि शुक्रबार उपचारका लागि काभ्रे स्थित धुलिखेल अस्पतालमा लगेका थिए । अस्पतालले उपचार सम्भव नभएपछि कोभिड परिक्षणका लागि स्वाव संकलन गरि विरामी घर फिर्ता पठाएको थियो ।

परिवारले विरामीलाई शनिबार राती १० बजे सिन्धुली अस्पतालको आपतकालिन कक्ष (इमर्जेन्सी) मा भर्ना गरि उपचार गरिएको थियो । उपचारका क्रममा रहेकी उनको मृत्यु भएको २ घण्टा अगाडि कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो ।

अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएपछि सिन्धुली अस्पतालको ईमर्जेन्सी कक्षबाट सेवा दिन बन्द गरिएको छ । आइतबार साँझदेखि सोमबार विहानसम्मका लागि आपतकालिन कक्षबाट सेवा नदिईने भएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलले बताउनुभयो ।

आपतकालिन कक्ष निर्मलीकरण गरेपछि सेवा सुचारु गरिने उहाँले बताउनुभयो । मृतक महिलाको शव नेपाली सेनाको वर्द बहादुर गणले कमलामाई नगरपालिका– ७ को बुका पुल नजिकै व्यवस्थापन गरेको छ ।