कोरोना परीक्षण निःशुल्क : उपचारमा १० हजार सहयोग गर्ने पालिकाहरुको निर्णय

0
Shares

चिरञ्जीवी मास्के, दोलखा

दोलखाका स्थानीय तहहरुले आफ्ना नागरिकको कोरोना संक्रमण (कोभिड १९) को परीक्षण निःशुल्क गरिदिने भएका छन् । त्यसै गरी जिल्लामा हुने उपचार निःशुल्क गर्ने र जिल्लाबाहिर उपचारका लागि पठाउन पर्ने भए सम्बन्धित पालिकाले १० हजार नगद सहयोग गर्ने निर्णय गरेको छ ।

आइतबार जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकाका प्रमुखसहितको उपस्थितिमा भएको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणको शङ्कास्पद बिरामी, कन्ट्र्याक ट्रेसिङमा परेका व्यक्ति र कोरोना पोजेटिभ देखिएका बिरामीको दोस्रो परीक्षण सम्बन्धित पालिकाले निःशुल्करुपमा गरिदिने निर्णय भएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताउनुभयो ।

त्यसरी कोरोना परीक्षणका लागि हरेक हप्ताको सोमबार, बुधबार र शनिबार धुलिखेल अस्पतालको दोलखा र किर्नेटारमा बिहान ६ बजेदेखि ९ बजेसम्म स्वाब दिन सकिने समन्वय प्रमुख पाण्डेले बताउनुभयो ।

त्यसैगरी कोरोना पोजेटिभ देखिएका बिरामीको जिल्लाभित्र हुने उपचारको सम्पूर्ण खर्च सम्बन्धित पालिकाले दिने र जिल्लाबाहिर काठमाडौं तथा धुलिखेल लैजानुपर्ने भए सम्बन्धित पालिकाले नगद १० हजार सहयोग गर्ने निर्णय भएको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीको सभापतित्वमा सम्पन्न बैठकले कोरोना संक्रमण परीक्षणको लागि स्वाब परीक्षणका लागि दिएका र परीक्षणमा कोरोना पोजेटिभ देखिएका बिरामीलाई अनिर्वायरुपमा आइसोलेसनमा बस्न अनुरोध गरेको छ ।

आइसोलेसनमा नबसी बाहिर हिँडेको देखिएमा कानुनअनुसार कारबाही गर्ने निर्णय भएको जनाइएको छ ।

त्यसैगरी बैठकले दोलखा उद्योग वाणिज्य संघ र चेम्बर्स अफ कर्मसको सहयोगमा पालिकाहरुले चेतनामूलक अभियान सञ्चालन गर्ने, सामाजिक दूरी र मास्कको प्रयोग अनिर्वाय गर्ने र त्यसको पालना नभए कानुनअनुसार काबाही गर्ने निर्णय भएको जनाइएको छ ।