कोरोना संक्रमितलाई उपचार खर्च दिइने

0
Shares

नेपाल समाचारपत्र, पर्वत
उत्तरी पर्वतको जलजला गाउँपालिकाले आफ्नो पालिकाभित्रका कोरोना संक्रमितलाई उपचार खर्च सहयोग गर्ने भएको छ ।
समुदायस्तरमा कोरोना परीक्षण गर्न ‘एक घर, एक पीसीआर’ को अवधारणा अघि सारेको जलजलाको लामाखेतस्थित कार्यालयमा बसेको कार्यपालिका बैठकले संक्रमितलाई उपचार खर्च पनि उपलब्ध गराउने निणर्य गरेको हो ।
परीक्षणका क्रममा पहिचान भएर जटिल अवस्थाका अस्पताल भर्ना हुनेलाई उपचार खर्चबापत प्रतिव्यक्ति १० देखि २५ हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । ‘लक्षण नदेखिएका संक्रमितको होम आइसोलेनमा राखेर उपचार गर्ने र अस्पताल भर्ना हुनुपर्नेहरुका लागि उपचार खर्च उपलब्ध गराउने निर्णय भएको छ’, उहाँले भन्नुभयो– ‘अस्पताल भर्ना हुन धरौटी राख्न र उपचार गर्न नसक्ने विपन्न र गरीब समुदायका नागरिकका लागि लक्षित गरेर यस्तो व्यवस्था मिलाएका हौं ।’
गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले ‘एक घर एक पीसीआर जाँच’को अवधारणा अघि सार्दै पालिकाबासीलाई सो सुविधा लिन अपिल गर्नुभएको छ । अघिल्लो आइतबारदेखि पर्वत बेनीबाट एक घर एक पीसीआर जाँच अभियान शुरु गरिएको थियो ।
यसैबीच जलजलाका जनप्रतिनिधिहरुले प्रदेश सरकारको कानुनअनुसार दशैं भत्तावापत पाउने सुविधाको रकम कोरोना कोषमा जम्मा गरेका छन् । अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य र गाउँसभा सदस्य गरी ४७ जनाको दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ ।
गाउँपालिकाका अध्यक्ष मल्लले कोरोनालाई हेलचेक्र्याइँ गर्न नहुने बताउँदै आफूले संक्रमित हुँदा भोगेको समस्याबारे समुदायमा जानकारी गराई अभियानलाई जनताको घरदैलामै पुग्ने गरी सञ्चालन गरिने बताउनुभएको छ । यसअघि गाउँपालिकाका करीब पाँच सय जनाको पीसीआर परीक्षण गरिसकिएको छ ।
यसैबीच तत्काल पाँच शय्याको कोरोना अस्पताल बनाएर आवश्यकतानुसार विस्तार र होम आइसोलेसनलाई जनस्वास्थ्यको मापदण्डको कार्यान्वयन हुने गरी प्रयोग गरिने गाउँपालिकाले जनाएको छ । अध्यक्ष मल्ल कोरोना जितेर दशंैअघि घर फर्कनुभएको थियो ।