समयमै निर्माण सम्पन्न गर्न मन्त्रीको निर्देशन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवन र ललितपुरको भैंसेपाटीमा निर्माण भइरहेको संघीय मन्त्री, प्रदेश मुख्यमन्त्री र प्रदेश प्रमुखको आवास भवन निर्माणको अवलोकन गर्नुभएको छ ।
शहरी विकास मन्त्रालयअन्तर्गतको गौरवका आयोजना अवलोकन गर्ने क्रममा मन्त्री श्रेष्ठले दुई स्थानको संरचना अवलोकन गर्नुभएको हो । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयलेअन्तर्गत निर्माण भइरहेको संघीय संसद् भवन र मन्त्री, मुख्यमन्त्री र प्रदेश प्रमुखको आवास भवनको प्रगतिबारे जानकारी लिन मन्त्री श्रेष्ठ निर्माणस्थल पुग्नुभएको हो । अवलोकन गर्ने क्रममा मन्त्री श्रेष्ठले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो ।
उहाँले गुणस्तरमा कुनै कमी कमजोरी नहुने गरी तोकिएकै समयमा निर्माण गर्न सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । ‘मैले यो आशा राखेको छु कि संघीय संसद्को अन्तिम बैठक यही भवनमा बस्नेछ।’ –संघीय संसद् भवनको अवलोकन गर्ने क्रममा उहाँले भन्नुभयो ।
संघीय संसद् भवन आयोजना प्रमुख प्रकृण तुलाधरले कोभिड संक्रमणका कारण निर्माण सम्पन्न हुन केही ढिलो हुनसक्ने बताउनुभयो । भन्नुभयो– ‘तैपनि तोकिएकै समयमा सम्पन्न गर्ने गरी कम्पनीलाई दबाब दिइसकेका छौं ।’
शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाल सिंहले गुणस्तरमा कुनै सम्झौता नहुने गरी योजना अघि बढिरहेको बताउनुभयो । प्रधानमन्त्री केपी ओलीको कार्यकालमा संसद्को अन्तिम बैठक बस्न मिल्ने गरी काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिँदै सचिव सिंहले भन्नुभयो– ‘समस्या परे तत्काल समाधान गर्नेछौं, कामलाई निरन्तरता दिनुपर्छ ।’
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले कोभिडको कारण काम गर्न केही समस्या भएको स्वीकार्दै अब जस्तो परिस्थिति भए पनि कामलाई निरन्तररुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री श्रेष्ठले कोभिड–१९ सँग डर नमानी सबै इन्जिनियर, कर्मचारी र मदजुरको स्वास्थ्य मापदण्ड पालना गरी कुनै दिन पनि काम नरोक्न निर्देशन दिनुभयो ।
सिंहदरबारको पुतली बगैंचामा १ सय ७३ रोपनी क्षेत्रफलमा प्रतिनिधि सभा, राष्ट्रिय सभा, अति विशिष्ट व्यक्तिको कार्यालय भवन, संसदीय दल, समिति, सचिवालय, चमेनागृह र प्रिन्टिङ प्रेस भवन रहनेछ । भवन परिसरमा ७ सय सवारी पार्किङ गर्ने व्यवस्था रहेको छ ।
भवनको गत असोज १ गते प्रधानमन्त्री केपी ओलीले शिलान्यास गर्नुभएको थियो । चालु आवमा २५ प्रतिशत प्रगति गर्ने योजना भए पनि हालसम्म करिब १२ प्रतिशत मात्र प्रगति भएको आयोजना प्रमुख प्रकृण तुलाधरले जानकारी दिनुभयो ।
त्यसै गरी भैंसेपाटीस्थित मन्त्री, मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास अवलोकन गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले समयमा काम सम्पन्न निर्देशन दिनुभएको थियो । सो परियोजनाका साइड इन्जिनियर प्रमोदकृष्ण कर्माचार्यले कोभिडको कारण केही समय समस्या आए पनि हाल निर्माणमा सन्तोषजनक रहेको जानकारी दिनुभयो ।
गत कात्तिक २७ बाट सम्झौता भएर आगामी वर्ष २७ गते सम्पन्न गर्ने गरी तयार भएको २४ वटा मन्त्री निवास, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्षको भवनको लागत १ अर्ब ३ करोड रहेको छ । मुख्यमन्त्री र प्रदेश प्रमुखको निवासको लागत ७२ करोड ४७ लाख छ ।
दुवै परियोजनाको बारेमा जानकारी गराउँदै शहरी विकास मन्त्रालयका सचिव डा. रमेशकुमार सिंहले परियोजना गुणस्तर खस्कन नदिन निगरानी बढाउनुपर्ने बताउँदै गुणस्तरमा गम्भीर हुनुपर्ने बताउनुभयो ।