बोक्सी भगाउने नाममा गाला डामियो

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे

बोक्सी भगाउन भन्दै ३७ वर्षीया महिलालाई माता बताउने एक बालिकाले गाला तथा शरीरका अन्य भागमा तातो पन्युँले डामेकी छिन् । महिलाका श्रीमान्ले मातालाई घरमै बोलाएर झारफुक गरिदिन भनेपछि बोक्सी भगाउन पन्युँ तताएर महिलाको गाला, हातको औंला र शरीरका विभिन्न भागमा डामिएको थियो ।

पाँचखाल नगरपालिका–१० की शर्मिला विकलाई सोही नगरपालिका–१२ की आफूलाई माता बताउने १६ वर्षीया बालिकाले बोक्सी भगाउन भन्दै तातो पन्यँुले डामेकी हुन् । लामो समयदेखि मानसिक रोगबाट पीडित महिलालाई बोक्सी भगाउँदा निको हुन्छ भन्ने अन्धविश्वासका कारण पन्युँ डामिएको हो ।

श्रीमान् सानुबाबु विकले मातालाई घरमै बोलाएर श्रीमतीलाई झारफुक गर्न अनुरोध गरेका थिए । ‘लामो समयदेखि दिदी मानसिक रोगबाट पीडित भएकाले राजधानीका विभिन्न अस्पतालमा उपचार गराइरहेका थियौं’, पीडित शर्मिलाका भाइ दीपक रसाइलीले भन्नुभयो– ‘राजधानीमा बस्दै आए पनि लकडाउनपछि परिवारका सबै सदस्य पाँचखालमा रहनुभएको थियो । त्यही बेला दिदीलाई थप गाह्रो भएकाले झारफुकमा विश्वास गर्ने गरी उहाँलाई बोलाएर फुक्न लगाउँदा पन्युँ तताएर डामिएको रहेछ ।’

शर्मिलालाई छोप्ने र दिमागसँग सम्बन्धित मानसिक रोग थियो । श्रीमान् केही वर्ष विदेश बसेर गत वर्ष मात्रै फर्कनुभएको थियो । अनेक स्थानमा उपचार गर्दा पनि निको नभएकाले झारफुकबाट निको हुन्छ भन्ने सोचेर मातालाई बोलाएको जानकारी गराएको दीपक रसाइलीले जानकारी दिनुभयो ।

आइतबार जिल्ला प्रहरी कार्यालय काभ्रेमा बोक्सी भगाउने भनी गरिएको अमानवीय व्यवहारका विरुद्ध पीडकलाई कारबाही, पीडितको उपचार र क्षतिपूर्ति मागसहित जाहेरी दर्ता गरिएको छ । प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले बोक्सी भगाउने भन्दै महिलामाथि गरिएको अमानवीय घटनाविरुद्ध जाहेरी दर्ता भएको र माता बताउने बालिकालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको बताउनुभयो । महिलालाई धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइए पनि थप उपचारका लागि राजधानीको छालासम्बन्धी अस्पतालमा रिफर गरिएको भाइ दीपकले बताउनुभयो ।

डेड वर्षअघि घरमा कुलायनको पूजा लगाउँदा आफूलाई माता चढेको बालिकाले बताउनुभयो । एक वर्षदेखि माताकै रुपमा उपचार गर्दै आएकाले विश्वासका कारण महिलाको श्रीमान् सानुबाबु विकले एक महिनादेखि बोलाएको भए पनि आफू नगएको उहाँले बताउनुभयो ।

माता बताउने बालिकाले भन्नुभयो– ‘कात्तिक १४ गते साँझ म पसलमा ग्यास लिन जाँदै थिएँ । महिलाका श्रीमान्ले बाटोमै रोक्नुभयो । मेरो घरमा आफै ग्यास पु¥याइदिनुभयो र मलाई उहाँको घरमा जबरजस्ती लैजानुभयो ।’

‘घरमा महिलालाई ८ जनाले समाएर राख्नुभएको रहेछ । म पुग्नेबित्तिकै उहाँहरुले महिलालाई छाडिदिनुभयो । उहाँले मेरो कपाल समाएर भुइँमा गाड्नुभयो । मैले दुईवटा धूप र सिस्नुपानी लगाउन खोजेको थिएँ । उहाँहरु सबैले मलाई पन्युँ तताएर गालामा डाम्नुपर्छ भन्नुभयो ।

मैले उहाँहरुले ग्यासमा तताएर ल्याएको पन्युँले केही समस्या पर्दैन परेको हामी बेहोरौंला भनेपछि डामेको हुँ’, बालिकाले भन्नुभयो– ‘भर्खर एसईई दिएर बसेकी मैले यस्ता धेरै महिलाहरुलाई निको पारेको छु । सामान्य परिवारको सदस्य भएकाले मैले धेरै तान्त्रिक विद्या केही आर्जन गरेको छैन ।’