प्रधानमन्त्रीद्वारा सभाहलको निरीक्षण

प्रगति विवरण तयार गर्न निर्देशन

0
Shares

ललितपुर, (नेस)
प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीस्थित सभा हलको अवलोकन गर्नुभएको छ । आइतबार दिउँसो शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठसहित हलको हालसम्मको प्रगति विवरणबारे जानकारी लिन अकस्मात् गोदावरी पुग्नुभएको थियो ।
सो क्रममा उहाँले हालसम्मको प्रगतिको प्रशंसा गर्दै अबको तीन महिनाभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । अवलोकनको क्रममा उहाँले सो हल चाँडै सम्पन्न गरी महत्वपूर्ण कार्यक्रम यही हलमा गर्नसक्ने गरी तयारी गर्न आग्रह गर्नुभएको थियो ।
सो अवसरमा शहरी विकासमन्त्री श्रेष्ठले नेकपाको सरकार बनेको तीन वर्ष पुगेको दिन अर्थात् फागुन ३ गते उद्घाटन गर्ने गरी तयार गर्न निर्देशन दिनुभएको थियो । माघमा सम्पन्न गरी फागुन ३ मा उद्घाटन गर्ने व्यवस्था मिलाउन शहरी विकास तथा भवन निर्माण विभागका अधिकारीलाई निर्देशन दिनुभएको थियो ।
प्रम ओलीलाई प्रगति विवरणबारे जानकारी गराउँदै मन्त्री श्रेष्ठले विभागका अधिकारीलाई भन्नुभयो– ‘मलाई आजबाटै प्रत्येक हप्ताको प्रगति विवरण जानकारी गराउनुस् ।’ उहाँले मन्त्रालयले सोचअनुसार कामको प्रगति हँुदै गएको बताउनुभयो ।
मन्त्रीको धारणा सुनेपछि प्रम ओलीले शहरी विकास मन्त्री श्रेष्ठको निर्देशनअनुसार प्रगति विवरण तयार गर्न निर्देशन दिनुभएको थियो ।
२०७६ असोज २० गतेबाट निर्माण शुरु भएको सो हल यही २७ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । करिब ४३ रोपनी क्षेत्रफलमा निर्माणाधीन सो हल केसी–समानान्तर जेभीले ५८ करोड २४ लाख रुपियाँमा ठेक्का पाएको हो ।
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले हलको बारेमा जानकारी गराउँदै हालसम्म ६५ प्रतिशत प्रगति भइसकेको जानकारी गराउनुभएको थियो । ४३ रोपनीमध्ये ११ रोपनीमा सिटीहल, ३ रोपनी ३ आनामा आन्तरिक सडक, १६ रोपनीमा बगंैचा र हरियाली र १३ रोपनी क्षेत्रफलमा पार्किङ गर्न गरी निर्माण भइरहेको छ ।
कोभिड–१९ को कारण समयमै निर्माण सम्पन्न गर्न नसकेको जानकारी गराउँदै गेलालले भन्नुभयो– ‘अब माघभित्र सम्पन्न गर्ने अन्तिम तयारी गरेका छौं ।’ मन्त्री श्रेष्ठले कोभिडको कारण उत्पन्न समस्या अब समाधान भइसकेको बताउँदै स्वास्थ्य मापदण्ड अनपाएर थप मजदुर परिचालन गरी तोकिएको समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।
खराब बाटोको कारण त्यहाँ पुग्न समस्या भएपछि प्रम ओलीले माघ महिनाभित्र बाटोमर्मत सम्पन्न गर्नसमेत निर्देशन दिनुुभएको थियो । अवलोकन गर्न प्रम ओलीसँगै धर्मपत्नी राधिका शाक्य, सांसद नवराज सिलवाल, प्रमका प्रमुख सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहका सूर्य थापा, शहरी विकास मन्त्रालयका सचिव डा. रमेशकुमार सिंह, नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारलगायतको टोली गोदाबरी सभाहल पुगेको थियो ।