सडक नबनेकोमा स्थानीय आन्दोलित

‘प्रचण्ड हिँड्ने बाटो बन्ने, हाम्रो नबन्ने । यही हो लोकतन्त्र, गणतन्त्र ?’

0
Shares

नेपाल समाचारपत्र, ललितपुर

सातदोबाटो सुनाकोठी हुँदै चापागाउँ जाने सडक निर्माण वर्षांैदेखि लथालिंग भएपछि स्थानीयहरु फेरि आन्दोलित भएका छन् ।

वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्यले गर्दा अनेक कष्ट सहनुपरेकाले कोरोना महामारीको पर्वाह नगरी उनीहरु सडकमा उत्रिएका हुन् । सडक निर्माण नहुँदा धुलोले त्यहाँका स्थानीयको जनजीवन निकै प्रभावित बनेपछि स्थानीयहरु पटकपटक सडकमा ओलिँदै आएका छन् ।

सोही क्रममा आइतबार पुनः सुनाकोठीको मुख्य सडकमा आवागमन ठप्प पारेका थिए । स्थानीयको विरोधपछि चापागाउँ जाने दोबाटो हुँदै चल्ने गाडीलाई सातदोबाटो हुँदै धापाखेलबाट डाइभर्ट गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार यस्तो बाटोका कारण आवागमन असहज छ, जनताको स्वास्थ्य नै बिग्रिन थालेको छ । ललितपुर महानगरपालिका–२७ का वडाध्यक्ष बाबुराजा महर्जनका अनुसार यो बाटो कान्ति लोकपथअन्तर्गत हो । सुनाकोठीमा मात्र पर्ने बिग्रिएको बाटोको क्षेत्रफल करिब दुई किलोमिटर छ ।

ठेकेदार कम्पनी र सडक विभागबीच यो बाटो २२ मिटर चौडा पार्ने सम्झौता छ । अहिले सो बाटो ८ मिटर चौडाको छ । महर्जनका अनुसार तत्कालै २२ मिटर फराकिलो पार्न नसकिए पनि ८ मिटर चौडामा रहेको अहिलेको बाटोलाई मर्मत गरेर जनजीवन सहज पार्न ठेकेदार कम्पनीलाई धेरै अनुरोध गरे पनि । ठेकेदारले दशैैंसम्ममा बाटो पिच गरेर आवागमन सहज पारिदिने बचन दिएका थिए । तर अहिलेसम्म ठेकेदारले नाकमुख देखाउन नआएको स्थानीयहरु बताउँछन् ।

सुनाकोठी, ठेचो, चापागाउँ सडक खण्ड विस्तार गर्ने भन्दै बाटो भत्काइएको थियो । तर ठेकेदारले वर्षौंसम्म सडक अलपत्र छाडेपछि स्थानीयले गत वर्ष सडक नै अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए । पछि सडक खुलाउने विषयमा सहमति भए पनि हालसम्म सडक निर्माण हुन सकेको छैन । यसअघि वैशाखमा पनि उनीहरुले सडकमा धान रोपेर विरोध जनाएको थिए ।

विरोधस्वरुप बाजा बजाएर उनीहरुले बिहानैदेखि सडक अवरुद्ध गरेका हुन् । नेवाज् क्लब र स्थानीयहरुले संयुक्तरुपमा सडक बनाउन आन्दोलन गरेका हुन् । ठेकेदार हराएपछि अहिले स्थानीयले आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरेर बाटो बनाउन दबाब दिनुपरेको बताउँछन् ।

‘असारमा पनि हामीले यसरी आन्दोलन गरेका थियौं। बनाउने सहमति भएको थियो। तर अहिलेसम्म काम नहुँदा हामी आन्दोलन हुन बाध्य बन्यौं’, क्लबका अध्यक्ष निरोज महर्जनले भन्नुभयो– ‘सडक नबनेसम्म हामी आन्दोलन गरिरहन्छौं ।’

सडक निर्माणको ठेक्का शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सनले पाएको थियो। सो कम्पनीका प्रोप्राइटर शारदाप्रसाद अधिकारी हुनुहुन्छ । उहाँ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटीसमेत हुनुहुन्छ ।

अधिकारीको सुनाकोठीस्थित सिभिल्स होमको कोलोनीमा अर्को घर पनि छ । त्यहाँ खानेपानी मन्त्री बिना मगर बस्नुहुन्छ । ठेकेदार अधिकारीले बाटो नबनाएको विरोधमा आइतबारदेखि आन्दोलनका कार्यक्रम नै सार्वजनिक गर्नुपरेको स्थानीयको भनाइ रहेको छ ।

सातदोबाटोदेखि प्रचण्ड बसिरहेको घर पुग्ने सडकसम्म बाटो बनेको र त्यहाँभन्दा माथि बाटो नबनेकोमा आक्रोशित हँुदै स्थानीयले भने– ‘प्रचण्ड हिँड्ने बाटो बन्ने, हाम्रो नबन्ने । यही हो लोकतन्त्र, गणतन्त्र ?’
झन्डै चार वर्षअघि निर्माणको काम शुरु गरे पनि अझैसम्म विस्तार नभएको उनीहरुको गुनासो छ ।

स्थानीयले यो बाटो बनाउने जिम्मा शैलुङ कन्स्ट्रक्सनका अधिकारीको भएको र उहाँको घरमा नेकपा अध्यक्ष ‘प्रचण्ड’ बस्दै आएकाले अधिकारीमाथि कारबाही नभएको बताएका छन् । दाहाल घरमा बसेकै आधारमा ठेकेदारले बाटो बनाउन ढिला गरेको आरोप स्थानीयको छ ।

‘यो बाटोमा धुलोको कारण स्थानीय बिरामी नै भएका छन्, कोेरोनाको बेला श्वासप्रश्वासमा समस्या छ, यो धुलोकै कारण थप क्षति पनि भइरहेको छ’, क्लबका अध्यक्ष महर्जनले भन्नुभयो– ‘यसको जिम्मेवारी कसले लिने? प्रचण्ड, बिना कि शारदाले ?’