कर्मचारीको दशैँ भत्ताबारे बेतुकको चर्चा



कृष्णहरि बास्कोटा ।

हाल नेपालमा सांसदले दशैँ खर्चबापत रकम लिएको विषयले आममानिस आन्दोलित भएका छन् । यो विषय चर्किंदै जाँदा कर्मचारीको पनि पर्व खर्चको शीर्षकमा दिइएको दशैँ खर्च खटौती गर्न सुझाव आएका छन् । केही कर्मचारीले एक कदम अघि बढेर ‘दशैँ भत्ताको के कुरा, कर्मचारीको तलब नै कट्टा गरे पनि सहमत हुने’ अभिव्यक्ति दिइरहेका छन् । अर्का थरीले लेख नै प्रकाशित गरेर प्रश्न गरेका छन्, ‘कर्मचारीले तलब भत्ता नखाएर के खाने ?’ यसको यथार्थता के हो, कर्मचारी तलब काटिए पनि, आधा तलब पाए पनि, दशैँ भत्ता नपाए पनि, पेन्सन हटे पनि, उच्च पदाधिकारीले सरकारी मोटर नपाए पनि जागिर खाइरहन्छन् त ? भन्ने प्रश्नमा घोत्लिन जरुरी भएकाले कम्प्युटरको किबोर्डमा हात पु¥याई यो आलेख तयार गरेकोे छु ।

विश्वमा मोटामोटी दुई प्रकारका कामदार हुन्छन् । एकथरी सरकारी सेवामा हुन्छन् । यिनलाई ‘ह्वाइट कलर जब होल्डर’ पनि भनिन्छ । यी मेचमा बसेर टेबुलमा कागज वा कम्युटर राखी काम गर्छन् । यस प्रकारको कामको दायरा बढ्दै गएको छ । हाल सार्वजनिक संस्थान, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हुँदै संयुक्त राष्ट्रसंघको जागिर पनि सरकारी जागिरसरह भएको छ । यी सबै जागिरमा पेन्सन आउँछ । यस अतिरिक्त चिकित्सक, इन्जिनियर, वकिल, पत्रकारजस्ता पेसाविद्हरु पनि जागिरमा छन् । यिनीहरुलाई बृहत्तररुपमा कर्मचारी भनिन्छ ।

अर्को वर्गमा मजदुर पर्छन् । सामान्यतः यिनीहरु उद्योगमा शारीरिक योगदानको काम गर्छन् । यसर्थ, यिनीहरुलाई श्रमिक पनि भनिन्छ । सिकर्मी, डकर्मी, सवारीचालक, ज्यामीलगायत सबै श्रमिक हुन् । यिनले कसैको लागि काम गरिदिन्छन् र सोबापत पारिश्रमिक पाउँछन् । यसैलाई सभ्य भाषामा तलब भनिन्छ । रेस्टुराँमा खाना खाएपछि बिल आउँछ । जसमा श्रमिकले पाउने १० प्रतिशत सर्भिस चार्ज पनि लेखिएको हुन्छ । कर्मचारीलाई दिइने यस्ता टिप्सलाई भत्ता भनिन्छ । यसरी विश्लेषण गर्दा सरकारी कर्मचारी र आमरुपमा बुझिने श्रमिक एकै प्रकारका हुन् । दुवैले तोकिएको काम गर्छन् । सोबापत तलब, भत्ता, पारिश्रमिक वा ज्याला पाउँछन् । सो नदिएमा तोकिएको काम गर्दैनन् । खेल खत्तम । यस्तो कुरामा पनि माथापच्चीसा गर्नु बिनासित्तीको कुराबाहेक केही होइन ।

हब्स, लक र रुसोको सामाजिक अनुबन्धनको सिद्धान्तअनुसार जनताले तिरेको करबाट सुविधा लिई जनतालाई सेवा गर्ने गरी राज्य प्रणाली सञ्चालित छन् । कर्मचारीतन्त्रमा पिता म्याक्स वेइभरका अनुसार गाँस, बास र कपास जुटाउनकै लागि मानिस कर्मचारी हुने हो । लोक सेवा आयोगको परीक्षा उत्तीर्ण हुने भनेकै रोजगारी पाउनको लागि हो । रोजगारी हासिल गर्ने भनेको जीवनवृत्ति चलाउने र केही रकम बचत गरी आर्थिक सम्पन्नता हासिल गर्ने हो । यसका लागि तलब नै वृद्धि गर्दा ठूलो आर्थिक भार पर्ने हुँदा विभिन्न सुविधा र भत्ता दिने प्रचलन बढेको हो । नेपालका कर्मचारीको दशैँ भत्ता पनि यही वर्गमा पर्छ ।

राज्यले कर असुली गरेकै कर्मचारीलाई तलब भत्ता दिन पनि हो । आज भत्ता दिनुपर्दैन भनी कुरा उठाउनेले भोलि तलब पनि दिनुपर्दैन नभन्लान् भन्न सकिन्न । कर्मचारीलाई तलब भत्ता नै दिनु नपरेपछि किन कर असुली गर्ने, खारेज गरे हुन्छ भन्ने आवाज अवश्य उठ्नेछ । कर पनि नलिने निर्णय गरेपछि सरकार नै किन चाहियो भनी प्रश्न उठ्ने पक्का छ । यसबाट पुनः हामी ढुगें युगमा पुग्नेछौं । सो बखत ‘जसको हातमा लठ्ठी उसैको भैंसी’ भन्ने ठाउँमा पुग्छौं र पूर्णतः अराजक स्थितिमा पुग्नेछौं । यसर्थ, कर्मचारीले वर्षौंदेखि खाइपाइ आएको दशैँ खर्च दिनुपर्दैन भन्ने सुझनबुझको कुरा नगरौं ।

केहिले भनेको सुनेँ– नेपाल धर्मनिरपेक्ष भएकाले दशैँ भत्ता दिनुपर्दैन । कुरा ठीक हो, हाल नेपालमा ३६५ दिनमा जुन कर्मचारीले जे पर्वमा रकम लिए पनि एक महिनाको पर्व भत्ता पाउने व्यवस्था छ । धेरै मानिस हिन्दू भएकाले दशैँमा भत्ता लिएकाले जनजिब्रोको भाषामा दशैँ भत्ता भएको मात्रै हो, कानुनी भाषा पर्व भत्ता नै हो ।

लकडाउनमा कर्मचारीले काम नगरेकाले तलब पाउन्नन् भन्ने र कर्मचारीको पर्व भत्ता कट्टी गरौं भन्ने एउटै सोच भएका मानिस हुन् । होचा र अग्ला मानिसलाई लाइनमा राखेर समान उचाइ देखाउनुप¥यो भने होचा कद भएकाको जुत्तामा हिल हाल्नुपर्छ, नकि लामा खुट्टालाई गिँड्ने धृष्टता गर्नुहुँदैन । हातमा घाउ आयो भने त्यसको उपचार गर्नुपर्छ, हात नै काटेर फाल्नुहुँदैन । यसै अनुसार हाल नेता, सांसद र अन्य राजनीति गर्नेले दशैँ भत्ता खाए भनेर विरोध हुँदा तिनै नेताको भत्ता खोस्ने हो, कर्मचारीको भत्तातिर तीर सोझ्याउनुहुँदैन ।
सबैले बुझ्नुपर्ने कुरा भनेको के हो भने, मानिसले दुई किसिमले काम गर्छ । पहिलो– आफ्नो मर्जीले, दोस्रो– अर्काले अराएको काम गर्ने ।

यी दुईको भेद खुट्याउन सकेपछि कसले दशैँ भत्ता पाउने र कसले नपाउने भन्ने सहजै निष्कर्षमा पुग्न सकिन्छ । मन्त्री आफ्ना मर्जीले राजनीतिमा लागेका हुन् । उनी आफ्नो लागि होइन, राष्ट्र र जनताका लागि मन्त्री भएका हुन् । यसै अनुरुप संघीय सांसद, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि एवं राजनीतिक नियुक्ति हुनेहरु, राजनीतिक दल आबद्ध सार्वजनिक पदमा पुग्नेहरु सबैजना यही श्रेणीमा पर्छन् । यिनले तलब नलिने, भत्ता नलिने, सुविधा नलिने घोषणा गरेर आफ्नो सार्वजनिक छवि उच्चो बनाउन सक्छन् । यिनले ढुकुटीबाट सुविधा खान खोजे जनताबाट विरोध हुन्छ । यो स्वाभाविक विषय हो ।

ठीक यसको विपरीत, मुख्य सचिवलगायतका निजामती कर्मचारी, प्रधानसेनापतिसहितका सैनिक र प्रहरी महानिरीक्षकसहितका प्रहरीले तलब नपाउने कल्पना पनि गर्न सकिन्न । कुनै कर्मचारीले तलब नै लिन्न भनेमा ऊ स्वतः अपवाद हुन्छ । यी सबै पदाधिकारीहरु आफ्नो मर्जीले काम गर्न पाउँदैनन्, यिनले त लगाए÷अराएको काम गर्ने हो । प्रचलित कानुनले दिएको अधिकार प्रयोग भने यिनले आफ्नो विवेकले गर्छन् । यसको सार्वजनिक जवाफदेहिता यिनैले पूरा गर्नुपर्छ । सामान्यतः यिनको सुविधा वृद्धि गर्दै लगिन्छ, घटाउने, कटाउने कुरै आउँदैन । मुलुकलाई विपत्ति परेका बखत एकपटकका लागि यो सुविधा लिँदैनौं, यत्ति योगदान गर्छाैं भन्नु एउटा कुरा हो । तर नेताले दशैँ भत्ता खाए, सो फिर्ता हुनुपर्छ र यसै बखत कर्मचारीको दशैँ खर्च पनि रोक्नुपर्छ भनी तुलना गर्न नसकिने, नमिल्ने विश्वव्यापी सर्वमान्य सिद्धान्त मात्रैै अघि सार्ने जमर्को गरेको हुँ ।

अन्त्यमा, मुलुक सबैको साझा हो । यसर्थ, सबैले सर्वजन हिताय, सर्वजन सुखाय अर्थात् सबैजना सुखी र खुशी हुने सोच राख्नुपर्छ । म जागिरमा छैन, यसर्थ जागिरदारले पाउने सुविधा काटिँदा मलाई सन्तुष्टि मिल्छ भन्ने भावना राख्नुहुँदैन । यसै गरी राजनीतिज्ञहरुले पनि बुभ्mनुपर्छ । ‘अति गर्नू, अतिसार नगर्नू’ भन्छन् । अर्थात् राजनीति गरेको, जनताको सेवा गरेकोले मौकामा सुविधा लिन हो भन्ने भाव जनतामा पुग्ने गरी दशैँ भत्ता खानुहुँदैन ।

समाजको सन्तुलन कायम गर्नुमै हामी सबैको हित हुन्छ । हामीमध्ये कसैले इच्छा राख्दैमा कर्मचारीले पाउँदै आएको भत्ता हट्ने पनि होइन । यसर्थ जुन कुरा हुन सक्तैन, त्यस्ता विषयमा विचार दिएर सामाजिक सन्तुलन बिगार्नुले कसैको पनि हित गर्दैन । कर्मचारीतन्त्रले पनि पाई आएको सुविधा हट्ने होइन, यसर्थ ढुक्क भएर सदैव राष्ट्र र जनताको हितमा समर्पित हुनुपर्छ । कानुनले दिएबाहेक कुनै पनि सुविधा वा दानदातव्य वा उपहार वा अन्य सुविधाको लोभलालच गर्नुहुँदैन । कर्मचारीतन्त्रले आफ्नो उच्च मनोबल र पूर्ण सदाचारयुक्त जीवन पद्धतिबाट आमजनताको माया एवं आदर पाउने ध्येय राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्