छलक छलक छल्क्यो माया



निर्देशक गम्भीर विष्टले सम्भवतः पहिलो पटक म्युजिक भिडियोमा चलचित्र शैलीको एक्सन दृश्य समावेश गरेका छन्। बुधबार युट्युबबाट सार्वजनिक गरिएको छलक छलक छल्क्यो माया बोलको गीतको म्युजिक भिडियोमा एक्सनसहित रोमान्स, डान्स र प्रेमकथा प्रस्तुत गरिएको छ।

दीपक सिलवालको शब्द तथा संगीतमा गायक शिव परियार र निरुषा भट्टराईको स्वर रहेको गीतको भिडियोमा अभिनेताद्वय पल शाह र शिशिर भण्डारीसँगै अभिनेत्री वर्षा राउतले नृत्य गरेका छन्। कोरोना महामारीका कारण फिल्म हल बन्द भएको अवस्थामा दर्शकलाई फिल्म हेरेको जस्तो महशुस गराउन भिडियोमा एक्सन दृश्य समावेश गरेको निर्देशक विष्टले बताए। ‘कोरोना संक्रमण जोखिका कारण हामीले नयाँ फिल्म हेर्न नपाएको लामो समय भइसक्यो। अब कहिले फिल्म हेर्न पाइन्छ, टुंगो छैन । नायक पल शाह, नायिका वर्षा राउतलाई पनि हामीले चलचित्रमा हेरे जसरी नै हेरौं र देखाऔं भन्ने इच्छाले नै मैले यो गीतको भिडियोमा नै एक्सन राखेको हुँ।’ –विष्टले भने। संगीत तथा शब्द रचनाकार सिलवालले गीतले वैंशालु उमेरमा युवक युवतीको प्रेमभाव प्रस्तुत गर्ने बताए। ‘मैले केही गीत सर्ट लिस्ट गरेको थिएँ। शिव र निरुषाजीलाई नै सुहाउने गीत मैले बनाउने कोशिस गरिरहेको थिएँ। निरुषाजीले पनि मसँग काम गर्ने इच्छा राख्नुभएको थियो। त्यहीअनुसार नै मैले गीत बानएको हुँ।’ –उनले गायनमा निरुषा र शिवलाई रोज्नुको कारणबारे भने। उनले दुई दिन लगाएर एक्सन दृश्यसहित भिडियोको छायांकन गरिएको बताए।

‘संगीतकार दीपक सिलवाल अत्यन्तै उर्जाशील साधक संगीतकार भएकाले पनि मैले यो गीत गाएको हुँ।’ –गायक परियार भन्छन्। त्यस्तै, बेलायतमा रहेकी गायिका भट्टराईले संगीतकार सिलवालले आफूले भनेबमोजिमको गीत तयार गरेपछि गाएको बताइन्। ‘मेरो नशा–नशामा संगीत बगेको छ। मैले लामो समयदेखि राम्रो गीत गाउने कोशिस गरिरहेकी थिएँ। थोरै भए पनि फरक प्रकारको गीत गाउने इच्छा थियो। मैले दीपकजीलाई आफूले गाउने इच्छा रहेको गीतको बारेमा बताएकी थिएँ र सोहीअनुरूप गीत तयार भएपछि रिलिज गरेका हौं। अत्यन्तै मीठो गीतमा प्रेम र रंगका कुरा गरिएका छन्। नेपाली मौलिक पञ्चेबाजा प्रयोग गरिेएको छ।’ –उनले भनिन्। भिडियोमा सञ्जय थापा र शुक्रराज शाहको एक्सन निर्देशन रहेको छ।

प्रतिक्रिया दिनुहोस्