द भाइब्ज ब्यान्डको दशैं उपहार मात्र तिमी



लोकप्रिय नेप्लिज अमेरिकन रक ब्यान्ड द भाइब्ज ब्यान्डले विजया दशमीको सांगीतिक उपहारस्वरूप रमाइलो म्युजिक भिडियोसहित नयाँ गीत सार्वजनिक गरेको छ।

ब्यान्डले विजया दशमी–२०७७ का अवसरमा मात्र तिमी बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेको हो।

अमेरिकाको क्यालिफोर्नियास्थित शान्ता रोजामा छायांकन गरिएको म्युजिक भिडियो दीपक बमजनको छायांकन र निर्देशनमा तयार भएको हो। भिडियोमा ब्यान्डका गितारिस्टरूपक लामा र उनको पत्नी इन्दिरा राईले अभिनय गरेका छन्। भाइब्जको म्युजिक भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। द भाइब्ज ब्यान्डले केहीअघि मात्र कुनै जादुु बोलको आफ्नो लोकप्रिय गीतलाई नयाँ भर्सनमा तयार पारी सार्वजनिक गरेको थियो। ब्यान्डले २० वर्षअघि नै सार्वजनिक भई लोकप्रियता कमाउन सफल कुनै जादुु बोलको गीत अनप्लग्ड भर्सनमा ल्याएको थियो।

द भाइब्ज ब्यान्ड अमेरिकाको सन्त रोसामा रहेका उत्साहित सांगीतिक युवाहरुले स्थापना गरेको ब्यान्ड हो। ब्यान्डले गठन भएको ४ वर्षको मेहनतपछि स्तरीय नेपाली रक गीत–संगीतहरुलाई समावेश गरेर पहिलोपटक सन् २००९ मा द भाइब्ज जेनेरेसनको नाममा रक गीति अडियो एल्बम सार्वजनिक गरेको थियो। पहिलो एल्बमबाटै वाहवाही पाए पनि ब्यान्डले दोस्रो एल्बम सार्वजनिक गर्नका लागि अर्को ४ वर्ष लामो सयम लगाएको थियो भने सन् २०१३ मा दोस्रो एल्बम को हुँ म बजारमा ल्याएको थियो। पहिलो एल्बम ल्याएलगत्तै सन् २००९ को हिट्स एफएम अवार्ड र इमेज अवार्ड चुमिसकेको द भाइब्ज ब्यान्ड संगीत क्षेत्रमा केही गर्ने उच्च महत्वकांक्षाका साथ मुख्यतया ३ उत्साही युवाले गठन गरेका थिए।

ब्यान्डमा दिरेकललाल श्रेष्ठ ड्रमर, प्रइन सिंह भोकलिस्ट र रूपक लामा गितारिस्ट रहेका छन्। ब्यान्डले खै के भो, थाकिसकें, त्यही पल, आमा, फसें म र हाम्रो तारा बोलका गीत र त्यसमाथिको म्युजिक भिडियोमार्फत समेत ख्याति आर्जन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्