एस्टोनले जित्दा टोटनह्याम रोकियो 

0
Shares

लन्डन, (एजेन्सी) ।

इंग्लिस प्रिमियर लिगको नयाँ सिजन उत्कृष्ट लयमा रहेको एस्टोन भिल्लाले जितको नतिजा निकाल्दा टोटनह्याम हट्सपर भने वेस्टह्यामसँग बराबरीमा रोकिएको छ।

एस्टोन भिल्लाले लिगकै एक बलियो टिम लेस्टर सिटीलाई आइतबार राति भएको खेलमा १–० गोल अन्तरले स्तब्ध बनाएको हो। निकै प्रतिस्पर्धात्मक खेलमा भिल्लाले ९० मिनेटपछि थपिएको इन्जुरी समयमा विजयी गोल गर्दै घरेलु टोलीलाई पराजित गरेको हो।

खेल गोलरहित बराबरीतर्फ अघि बढेका बेला थपिएको समयको पहिलो मिनेटमा नै नयाँ खेलाडी रोज बार्केलीले गोल गरेपछि लेस्टर आफ्नै घरमा पराजित भएको हो।

यो जितपछि भिल्लाले ४ खेलबाट १२ अंक जोडेको छ। भिल्लाले यो सिजन खेलेका चारवटै खेलमा शतप्रतिशत जित आत्मसात् गरेको छ। यता, लेस्टर सिटीको भने ५ खेलबाट ९ अंक रहेको छ। लेस्टरले शुरुआती ५ खेलमध्ये दुई खेल हारिसकेको छ।

त्यस्तै, पूर्वखेलाडी तथा वेल्स स्टार ग्यारेथ बेलको डेब्यू गरेको खेलमा टोटनह्याम बराबरीमा रोकिएको छ। आइतबार राति भएको लिगको पाँचौं खेलमा टोटनह्यामले आफ्नो घरेलु मैदानमा ३–० को फराकिलो अग्रता जोगाउन नसक्दा पाहुना टोली वेस्टह्यामसँग ३–३ गोलको बराबरीमा चित्त बुझाउन बाध्य भयो।

टोटनह्यामले खेलको १६ मिनेटभित्रै ३–० को सहज अग्रता बनाए पनि अन्तिम समय सम्हालिन सकेन। नाटकीयरूपमा खेलको ८२ मिनेटपछि लगालग ३ गोल गरेर पाहुना टोली वेस्टह्यामले टोटनह्यामविरुद्ध सनसनीपूर्ण कमव्याक गर्न सफल भयो।

आफ्नो घरेलु मैदान वेम्बली रंगशालामा टोटनह्यामले खेल शुरू भएको पहिलो मिनेटमै अग्रता लिएको थियो। वेस्टह्यामविरुद्धको पहिलो मुभमै दक्षिण कोरियन फरवार्ड सन हेङ मिनले शक्तिशाली प्रहारमा सानदार गोल गरेका थिए।

त्यसपछि, खेलको आठौं मिनेटमा सनको पासमा केनले आफ्नो पहिलो गोल गरे। खेलमा लगातार पकड जमाउँदै गएको घरेलु टोली टोटनह्यामका लागि पहिलो गोल गरेका केनले १६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि टोटनह्यामले ३–० को अग्रता लिएको थियो। तर, वेस्टह्यामले अन्तिम समयमा तीनवटै गोल फर्काएर पुनरागमन ग¥यो।

खेलको ८१औं मिनेटसम्म ३–० को अग्रता बनाएको टोटनह्यामले त्यसपछि ४ मिनेटमा दुई गोल व्यहो¥यो। खेलको ८२औं मिनेटमा फाबिएन बालबुएनाले हेडिङमार्फत गोल गरेर खेललाई ३–१ को स्थितिमा ल्याएका थिए। त्यसको ३ मिनेटपछि टोटनह्यामका ड्याभिन्सन सान्चेजले बक्समा हेडिङमार्फत बल क्लियर गर्न खोज्दा आफ्नै गोलपोस्टमा गोल गरेपछि खेल ३–२ मा खुम्चिन पुग्यो।

त्यसपछि, खेलमा थपिएको समयको अन्तिम मिनेटमा वेस्टह्यामका मानुएल लान्जिनीले डिबक्स बाहिरबाट हानेको प्रहारले गोलपोस्टको कुना च्याप्दै जाली चुमेपछि खेल ३–३ गोलको बराबरीमा टुंगियो। बराबरीपछि टोटनह्यामले शुरुआती ५ खेल सकिँदा ८ अंक जोडेको छ। यता, वेस्टह्यामको भने ७ अंक भएको छ।