नेपाली कांग्रेसमा अब नयाँ नेतृत्वको खाँचो


श्रीमन नारायण
देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस, आफ्नो इतिहासकै सर्वाधिक असहज, प्रतिकूल एवं अप्ठ्यारो परिस्थितिको सामना गरिरहेको अवस्था छ । संघीय संसद्देखि लिएर प्रादेशिक संसद्हरुमा समेत पार्टीले प्रतिपक्षमा बसी रहनुपरेको अवस्था छ । विगत तीन वर्षमा पार्टीले न त संसद्मा, न त सडकमा नै सशक्त ढंगले प्रतिपक्षी दलको भूमिका निर्वाह गरिरहेको अवस्था छ । पार्टी वर्तमान अवस्थामा मधेसी, दलित, जनजाति, किसान मजदुर र गरिब वर्गबाट टाढिएको अवस्था छ ।

मधेसवादी राजनीतिक दलको क्रियाकलापका कारण मधेसका जनता पनि विकल्पको खोजीमा छन् । सत्ताधारी नेकपा सरकारको तीन वर्षको क्रियाकलापका कारण सिङ्गो देशकै जनता एक सशक्त राजनीतिक विकल्पको खोजीमा छन् तर देशको राजनीतिमा प्रतिपक्षी दलको भूमिका कहीँ–कतै देखिएको छैन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा कोइराला परिवार, वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गगन थापा तथा विमलेन्द्र निधि पार्टी नेतृत्वको निम्ति आफ्नो दाबी गर्दै आएका छन् । उपरोक्त सबै नेताहरुले आफ्नो योग्यता, क्षमता र जनाधारको प्रदर्शन गरिसकेका छन् ।

अब नेपाली कांग्रेसको नेतृत्व जनजातिको हातमा आउनु आवश्यक छ । त्याग एवं बलिदानको लामो पृष्ठभूमि बोकेका र प्रधानमन्त्रीको पदलाई समेत अस्वीकार गरिसकेका गणेशमान सिंहको उच्च राजनीतिक गरिमालाई नेपाली कांग्रेसले सम्मान गर्नु आवश्यक छ । तीन–चारपटकदेखि राष्ट्रिय राजधानी काठमाडौंबाट निर्वाचित हुँदै आएका प्रकाशमान सिंहलाई अब नेपाली कांग्रेसले नेतृत्वको जिम्मेवारी दिनु समयको माग हो । उनको नेतृत्वमा राष्ट्रिय राजधानीलगायत काठमाडौं उपत्यकामा मात्रै होइन, अपितु देशभरिका जनजाति, मधेसी समुदाय, दलित र गरिब वर्ग फेरि पनि नेपाली कांग्रेसप्रति आकर्षित हुन सक्नेछन् । यथास्थितिवादी चिन्तन तथा नेतृत्वले पार्टीलाई नयाँ ऊर्जा प्रदान गर्न सक्नेछैन ।

करिब तीन वर्षअघि सम्पन्न प्रादेशिक तथा संसदीय निर्वाचनमा पार्टीले ठूलो पराजय भोग्नुपरेको थियो । त्यस पराजयको समीक्षा गर्ने काम भएन । नेपाली कांग्रेसकै नेतृत्वको सरकारले निर्वाचन पनि गराएको थियो तर पनि पार्टीले अकल्पनीय तथा दुःखद पराजय भोग्नुप¥यो । राजनीतिक नैतिकताको आधारमा पार्टी सभापतिले पदबाट राजीनामा गर्नुपर्दथ्यो तर पराजयको जिम्मेवारी सबैको काँधमा हाल्ने काम भयो । पराजयको सूक्ष्म विश्लेषण भरसक भएन । अन्यथा तीन वर्षसम्म यसरी पार्टी चुप लागेर बस्ने थिएन ।

जनआन्दोलन–२ को सफलतापश्चात् पार्टीले संवैधानिक राजतन्त्रको सट्टा गणतन्त्र र हिन्दू धर्मसापेक्षताको ठाउँमा धर्मनिरपेक्षतालाई स्वीकार गरेको तथा प्रतिपक्षविहीन राजनीतिलाई विकसित गरी कथित राष्ट्रिय सहमतिको नाममा कम्युनिस्टहरुसित गहिरो सहकार्य एवं सहयात्रा गर्न थाले, जसले गर्दा नेपाली कांग्रेसले स्वयं आफूलाई नै बिस्तारै–बिस्तारै कमजोर बनाउने काम ग¥यो । पार्टी संगठनलाई ऊर्जावान् बनाउन किसान, मजदुर, युवा, जनजाति, मधेसी, दलित र गरिबलाई आफूतिर कसरी आकर्षित गर्ने भन्ने विषयमा पार्टीले प्रस्ट दृष्टिकोण बनाउन सकेको छैन । आफूलाई सत्ताको स्वाभाविक उत्तराधिकारी ठान्दै आएको नेपाली कांग्रेसलाई विगत तीन वर्षदेखि सत्ताभन्दा बाहिर बस्नुपरेका कारण अप्ठ्यारो अवस्थाको सामना गरिरहनुपरेको छ ।

पार्टीका नेताहरु आफूलाई असहज ठानिरहेका छन् । लोकतान्त्रिक शासन भएको देशमा कुनै पनि राजनीतिक दलले सधैँ आफूलाई नै सत्ताको स्वाभाविक उत्तराधिकारी ठान्नु उचित होइन । देश र जनताको चाहना र आवश्यकतालाई हृदयंगम गरी तत्अनुसार पार्टीको नीति निर्धारण गर्ने र कार्यक्रमहरुलाई धरातलमा उतार्ने काम भइरहेसम्म कुनै पनि राजनीतिक दल सत्ताभन्दा बाहिर हुन सक्दैन तर केवल पार्टीको नाम तथा इतिहास भजाएर लामो समयसम्म सत्ताको बागडोर हातमा कायम राख्न सकिँदैन ।

भनिन्छ, पुर्खाले कमाएको भौतिक सम्पत्तिको स्वाभाविक उत्तराधिकारी तपाईं हुन सक्नुहुन्छ तर नाम, पद, प्रतिष्ठा र सम्मान कमाउन आफ्नो पुरुषार्थ देखाउनै पर्दछ । नेपाली कांग्रेसमा बडो चलाखीपूर्ण तरिकाले कोइराला परिवारलाई देवत्व प्रदान गर्ने काम भई आएको छ । कोइराला परिवारको कमी–कमजोरीलाई पनि विशेषताको रुपमा परिभाषित गर्ने काम भइरहेको छ, जबकि कोइराला परिवारजति नै योगदान गरेका अथवा कतिपय अर्थमा त्यो भन्दा पनि बढी योगदान पु¥याएका कतिपय परिवारहरुको समुचित चर्चा पनि हुन सकेको छैन ।

नेपाली कांग्रेस आज कमजोर अवस्थामा पुग्नुको एउटा ठूलो कारण गणेशमान सिंह र सुवर्णशमशेरजस्ता महान् व्यक्ति एवं समर्पित नेताहरुको योगदान र समर्पणलाई नेपाली जनतासामु पु¥याउन नसक्नु पनि हो । वि.सं. २०४६ सालको ऐतिहासिक जनआन्दोलनको सफलताका महानायक गणेशमान सिंहलाई पनि नेपाली कांग्रेसले उचित सम्मान दिएन । राजधानी काठमाडौंको जाबो २ सिटमा गणेशमान सिंहको परिवारका २ जना सदस्य चुनाव लड्दा उनीहरुलाई पराजित गर्न कोइराला परिवार दत्तचित भएर लागेको थियो ।

प्रधानमन्त्रीको पदलाई त्याग गरेका गणेशमान सिंहको परिवारका २ जना सदस्य जो आफ्नै योग्यता, क्षमता, त्याग र समर्पणका कारण पनि निर्वाचनमा उम्मेदवार हुनेलायक थिए, तिनको विरुद्धमा दुष्प्रचार गर्ने काम भयो । तर कोइराला परिवारका आधा दर्जनभन्दा पनि बढी सदस्यहरु कोही बाँके, कोही सिन्धुली, कोही सुनसरी त कोही मोरङबाट चुनाव लड्दा पनि त्यसको चर्चा भएन । नेपाली कांग्रेसमा एउटा लबी विगत लामो समयदेखि पूर्वाग्रही भएर अन्य नेताको योगदानलाई धुमिल पार्ने र कोइराला परिवारलाई मात्रै नेपाली कांग्रेसको ‘अक्सिजन सिलिन्डर’ को रुपमा परिभाषित गर्न काम गरिरहेको छ ।

अखिर टंकप्रसाद आचार्य, सूर्यप्रसाद उपाध्याय, भद्रकाली मिश्र, रामनारायण मिश्र, नारदमणि थुलुङ, राधाकृष्ण थारुहरुको पनि त योगदान थियो ।

शेरबहादुर देउवा देशका प्रधानमन्त्री र नेपाली कांग्रेसका पार्टी सभापति भएर पनि पार्टीलाई चुनावमा सफलता दिलाउन सकेनन् । रामचन्द्र पौडेल पनि शारीरिक कारणले र घट्दो जनाधारका कारण पार्टीको नेतृत्व गर्न सक्ने आवस्थामा छैनन् । कृष्णप्रसाद सिटौलाकै सुझाव र सल्लाहका कारण देशमा कम्युनिस्ट पार्टीले बढी महत्व पाउन सकेको हो । कोइराला परिवारका कुनै पनि सदस्य अब नेपाली कांग्रेसलाई पुरानो अवस्थामा फर्काउन सक्ने क्षमता राख्दैनन् ।

विगत तीन वर्षयता देश विपक्षविहीन देखिएको छ, न त सडकमा, न त संसद्मा नै नेपाली कांग्रेसको प्रभावकारी भूमिका देखिएको छ । यसको निम्ति पार्टीका वर्तमान सभापति शेरबहादुर देउवा र उनको सम्पूर्ण टिम नै पूर्णतः जिम्मेवार रहेको मान्नुपर्दछ । वर्तमान अवस्थामा नेपाली कांग्रेसले नयाँ ढंगले नेतृत्वको चयन गर्नु आवश्यक छ । देशमा लोकतन्त्रको जरोलाई बलियो बनाउन तथा नेपाली कांग्रेसको घट्दो जनाधारलाई पुनः हासिल गर्न जनजाति समुदायबाट स्वीकार्य नेतृत्व आवश्यक भएको छ ।