कोरोनाको डर छैन दुर्गा पुज्नेलाई, भीडभाडकै बीच जनप्रतिनिधिले गरे कलशयात्रा


पुष्पा थापा, सर्लाही

कोरोना महामारीलाई बेवास्ता गर्दै सर्लाहीको विभिन्न स्थानमा शनिबारबाट दुर्गापूजा शुरु गरिएको छ । घटस्थापन दिनबाट शुरु हुने दुर्गापूजामा स्थानीय जनप्रनिनिधि, संघीय सांसद, स्थानीय प्रशासन र सर्वसाधरणको उल्लेख्य सहभागिता रहेको थियो ।

कोभिड–१९ को महामारीको बीच भौतिक दूरीको ख्याल नगरी आयोजना गरिएका यस्ता मेला महोत्सव तथा धार्मिक कलश यात्राका कारण समाजमा कोरोनाको जोखिम उच्च हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

जिल्लाको श्रीनगरमा भएको दुर्गापूजा कलश यात्रामा सर्लाही क्षेत्र नम्बर–१ बाट नर्वाचित संघीय सांसद प्रमोद साह तथा स्थानीय राजनीति दलका प्रतिनिधिको सहभागितामा कलश यात्रा गरिएको हो ।

यसरी दुर्गापूजा गर्दा लाग्ने खर्च स्थानीय पालिकाले बेहोर्ने गरेको छ । स्थानीय प्रशासनले भने कोरोनाको जोखिम कायम रहेकाले २५ जनाभन्दा बढी भेला भएर कुनै धार्मिक कार्य नगर्न÷नगराउन भनेको जिल्ला प्रशासन कार्यालय सर्लाहीका सूचना अधिकारी रामप्रमोद रायले बताउनुभयो ।

तराईका दुर्गा मन्दिर तथा शक्तिपीठमा घटस्थापना गर्नुभन्दा अघि गाउँका कन्याकुमारी तथा महिलाद्वारा नदीको चोखो जल घैंटामा भरेर नरिवल, आँपाको कलशसहितको घैंटा भरिको जल शक्तिपीठमा राख्ने चलन छ ।

शनिबार घटस्थापन गर्नुअघि जिल्लाको विभिन्न स्थानमा हजरौंको संख्यामा सहभागी कन्याकुमारी महिलाले कलशयात्रा गरेका हुन् । जिल्लाको मलंगवा, बरहथवा, बयलवास, श्रीनगर, बलरा, गोडैतालगायतका स्थानमा दुर्गाभवानीका मूर्ति स्थापना गरिएको छ ।

यसरी घटस्थापनाका दिन दशैंघरमा स्थापना गरिएको दुर्गाभवानीका मूर्ति, तथा अवशेषलाई कोजाग्रत पूर्णिमाका दिन नदी, पानीपँधेरा तथा जलघाटमा लगेर विसर्जन गर्ने सामाजिक चलन छ ।