सिलिचोङका पहिरोपीडितलाई दशैं हर्क न विस्मात्


इन्द्र गिरीं, संखुवासभा

नेपालीको महान् चाड दशैं नजिकिए पनि संखुवासभाका पहिरोपीडितलाई दशैं हर्क न विस्मत भएको छ । तीन महिना अगाडिबाट पालमुनि कष्टका साथ रातदिन बिताइरहेका उनीहरुमा नजिकिएको दशैं पनि पालमुनि बित्ने चिन्ताले सताएको छ ।

गत असार २७ गते गएको पहिरोले आफन्त र घरबारी गुमाएको पीडा त उनीहरुमा छँदै छ । त्यसमाथि पनि तीन महिना अगाडिबाट प्लास्टिकको पालमुनिको कष्टकर बसाइले थप पीडा भएको उनीहरुको दुखेसो छ । अझैसम्म स्थायी बासको टुङ्गो नभएकाले उनीहरु निराश र दुःखी बनेका छन् ।

लामो समयसम्म अस्थायी टेन्टमा बस्नुपर्दा विभिन्न समस्या झेल्नुपरेको विस्थापितले गुनासो गरेका छन् । स्थानीय सरकारले चाँडै आफूहरुलाई सुरक्षित स्थानमा स्थायी पुनर्बास गर्न विस्थापित धीराज राईले माग गर्नुभएको छ ।

उहाँले प्लास्टिकको टेन्टमा बस्दा कहिले घामले पोलेर गर्मी हुने त कहिले पानीको बाछिटा आउने र भुइँबाट आउने चिसोले पिरलेको दुखेसो गर्नुभयो ।

विस्थापित राई मात्र होइन, सिलिचोङको विभिन्न स्थानमा अस्थायी बासस्थानमा बसेका पहिरोबाट विस्थापित परिवारमा एकै खालको पीडा रहेको छ ।

सिलिचोङकै बुधबारेको अस्थायी बासमा बसिरहेका अर्का हीरालाल राईको पीडा पनि उस्तै छ । उहाँले बुधबारेमा २९ घरपरिवारका करिब १ सय ४० जनाभन्दा बढी भएकाले एक परिवार एक पालमुनि कष्टकररुपले बसे पनि खानपान र शौचालयलगायतका धेरै समस्या भोग्नुपरिरहेको बताउनुभयो ।

अहिले स्थानीय सरकार र प्रदेश सरकारको सहयोगमा पहिरो विस्थापित १ सय ६ घरपरिवारलाई तीन ठाउ“मा अस्थायी बासस्थान गरिएको छ । उनीहरुलाई स्थायी पुनर्बासका लागि गाउँपालिकाले उपयुक्त जग्गा खोजीमा पहल गरिरहेको सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले बताउनुभयो ।

उहाँले पहिरो पीडितका लागि गाउँपालिकाले जग्गा खरिद गर्न नमिल्ने भए पनि दाताहरु, संघसंस्था, विदेशमा रहनुभएका नेपालीलगायत जिल्लाबासीबाट ४५ लाख सहयोग संकलन भएको बताउनुभयो । सोही नगदले जग्गा खरिद गरी गाउँपालिकाको अन्य क्षेत्रमा खर्च गरी स्थायी बसोबासको व्यवस्थाका लागि पहल शुरु गरिएको उहाँले बताउनुभयो ।

गएको असार २७ गते राति पहिरो जाँदा सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँका नौ घर बगाउनुका साथै ११ जना बेपत्ता बनाएको थियो । त्यसपछि उद्धार गर्ने क्रममा स्थानीय २५ वर्षीय मदन राईको हृदयाघातको कारण मृत्यु भएको थियो ।

पहिरोले जमिन सबै चिरा–चिरा भएर बस्न खतरा भएपछि बेसिन्दा गाउ“का ८६ घरपरिवार र चप्चेवाका २० घरपरिवार गरी १ सय ६ घरपरिवार पूर्णरुपमा विस्थापित भएका थिए ।