फोन सम्पर्कका लागि आधा घण्टा पैदलयात्रा

0
Shares

मिला दरै, तनहुँ

प्रविधिको युगमा तनहुँको एक गाउँपालिकाबासी सञ्चार माध्यमबाट नै वञ्चित छन् । एउटा कोठामा बसेर २१औं शताब्दीमा प्रविधिको प्रयोगबाट विश्व हेर्न सक्ने भएका छौं । तर तनहुँको आ“बुखैरेनी गाउँपालिका–५ र ६ नम्बर वडाबासी भने अझै पनि सञ्चारको पहुँचबाट टाढा रहेका छन् ।

त्यस क्षेत्रलाई अझै पनि सञ्चार क्षेत्रले छुन सकेको छैन । त्यस क्षेत्रका बासिन्दाले कोही कसैलाई फोन सम्पर्क गर्नका लागि करिब आधा घण्टा पैदल हिँडेर टावर टिप्ने स्थान खोज्नुपर्ने हुन्छ । पैदल हिँडेर टावर टिप्ने ठाउ“ खोजी गरी कसैलाई फोन सम्पर्क गर्नु त्यहाँका जनताको बाध्यता रहेको छ । पर्यटकीयस्थलसमेत रहेको यस हिलेखर्कमा विशेष गरी गुरुङ जातिको बाहुल्यता रहेको छ भने केही दलित जातिको पनि बसोबास रहेको छ ।

समुन्द्री सतहदेखि करिब १७ सय मिटर उचाइमा रहेको उक्त स्थानका स्थानीयबासीलाई टावरले टिप्ने डाँडाकाँडा पुग्नुपर्ने अवस्था रहेको आँबुखैरेनी गाउँपालिका–६ का वडाध्यक्ष सुनाराम गुरुङले जानकारी दिनुभयो । हिलेखर्क पर्यटकीय दृष्टिकोणले उपयुक्त गन्तव्य स्थलका रुपमा परिचित भए पनि सञ्चार र विद्युत्ले छुन नसक्दा ओझेलमा परेको गुरुङले बताउनुभयो ।

आँबुखैरेनी गाउँपालिका–५ मा टेलिकमले टावर राख्ने कार्यको शुरुआत गरे पनि वडा नम्बर ६ मा भने कुनै पनि सुरसार नभएको उहाँले बताउनुभयो । यस वडामा करिब तीन हजार जनसंख्या रहेका छन् । ‘विद्युत् र सञ्चार क्षेत्रको पहुँचबाट यहाँका बासिन्दाहरु पछि परेका छन्, विद्युत् र सञ्चार क्षेत्रबाट टाढिनु पर्दा कष्टकर जीवन बिताउँदै आएका छन्।’ –वडाध्यक्ष गुरुङले भन्नुभयो ।

उक्त क्षेत्रमा विद्युत्का पोल गाडे पनि बिजुलीको तार टाँग्ने कार्य बाँकी रहेकाले टेलिकम र एनसेलको टावर राख्न कठिनाइ भएको हो । ‘जहाँ पायो त्यहीं टावरले टिप्दैन्’, उहाँले भन्नुभयो– ‘बेलाबेलामा गाउँपालिकामा सम्पर्क गर्नुपर्ने हुन्छ, सम्पर्क गर्नका लागि घरदेखि टाढा डाँडामा गएर टावर टिप्ने स्थानबाट सम्पर्क गर्नुपर्ने यहाँको बाध्यता रहेको छ ।’

सम्बन्धित निकायमा पटक–पटक घच्घच्याउने कार्य भइरहे तापनि दशैंपछि हुन्छ भन्ने आश्वासन दिने गरेकोले थोरै भए पनि आशा जागेको उहाँले बताउनुभयो । चितवनस्थित कविलासको टावरले टिप्ने स्थानमा गएर सम्पर्क गर्नुपर्ने अवस्था रहेको सोही वडास्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मणप्रसाद सिंखडाले बताउनुभयो । गाउँभन्दा पर डाँडामा गएर सम्पर्क गर्ने यहाँका सर्वसाधारणलाई बानी नै परिसकेको छ ।

‘सहज रुपमा सञ्चारको पहुँच पुग्न नसक्दा स्थानीयबासीले सास्ती भोग्नु परेको छ।’ –उहाँले भन्नुभयो ।
जिल्लाका नेता गोविन्द भट्टराई, प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानलगायतका नेतालाई यहाँको सञ्चार पहु“चको अवस्थाका बारेमा आफूले समेत पटक–पटक जानकारी गराएको प्रअ सिंखडाले जानकारी दिनुभयो ।

पूरा गर्न नसक्ने सपना देखाएर भोट माग्न भने फकाउँदै अहिले ठूला संसद्मा पुगेका नेताहरुले पनि आश्वासन मात्रै दिने गरेको स्थानीयहरु बताउँछन् । तर जितेपछि भने यहाँको अवस्था कस्तो समेत सोध्ने नगरेको हिलेखर्कबासीको भनाइ छ । विगतमा भोट माग्ने बेलामा जितेपछि विद्युत् र सञ्चारको सहज पहुँचमा ल्याउँछु भने पनि अहिले बेवास्ता गरेको उनीहरु बताउँछन् ।