नाम मात्रको ‘अभिभावकत्व’ : कोरोना कहरमा बालबालिकाप्रति बेखबर


रोशन पराजुली, हेटौंडा
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वैशाख ५ गते ‘अभिभावकत्व’ लिनुभएका दुई बालबालिका पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा–६ स्थित राष्ट्रिय माविका सञ्जित भ्लोन र जेसिका प्रजा हुन् । भर्नाका क्रममा दुई बालबालिकाको अभिभावकको नाममा मुख्यमन्त्री पौडेलको नाम उल्लेख गरिएको छ ।
जेसिका र सञ्जित ८ वर्षका भए ।

मुख्यमन्त्री पौडेलले भर्ना गर्दा जेसिका दुई कक्षामा थिइन्, उनी हाल चार कक्षामा पुगिन् । सञ्जित तीनमा पुगेका छन् । उहाँले विद्यालयमै पुगेर भर्ना गर्दा शिक्षक र विद्यार्थी अनि उनीहरुको परिवारमा जुन उत्साह थियो, हाल छैन ।

विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर मोक्तानका अनुसार कोरोना महामारीमा मुख्यमन्त्री सम्पर्कमा आउनुभएको छैन । मुख्यमन्त्री पौडेल दुई बालबालिकाको भर्नापछि दुईपटक विद्यालय पुगेको र कपडालगायत सहयोग गरेको मोक्तानले बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले विद्यार्थी भर्ना अभियानअन्तर्गत अभिभावकत्व ग्रहण गर्नुभएका बालबालिकालाई जाडोका कपडा तथा स्टेसनरी सामग्री प्रदान गर्नुभएको थियो । उहाँले स्वेटर, ज्याकेट, कुर्थासुरुवाल तथा स्टेसनरी सामग्री प्रदान गर्नुभएको हो । मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले भर्नापछि मुख्यमन्त्री विद्यालयमा पुगेर विद्यार्थीको अवस्थाबारे जानकारी लिएको दाबी गर्नुभयो । उहाँले आफू सोधपुछ गर्न गएको भन्दै समय–समयमा सम्पर्कमा रहेर विद्यार्थीबारे बुझ्ने गरिएको दाबी गर्नुभयो ।

संसारलाई नै कोरोना कहरले आक्रान्त बनाएको छ । यस्तो बेलामा विशेषतः बालबालिकालाई जोगाउन र उनीहरुले रेखदेख गर्न विश्वसमुदायले विशेष अनुरोध गरिरहेको छ । कोरोना महामारीमा बालबालिकालाई हरेक पक्षबाट साथ र सहयोगको आवश्यकता भएका बेला मकवानपुरमा तामझामसाथ आफूले ‘अभिभावकत्व’ ग्रहण गरेकाहरुले संक्रमणको यस्तो त्रासका बेला ती बालबालिकाको सोधखोज त के पर्वाह नै नगरेको देखिएको छ । सरकारले भनेअनुसार वैकल्पिक शिक्षा ती बालबालिकाले पाए÷पाएनन्, लकडाउन र निषेधाज्ञाले ती विपन्न परिवारमा पारेको असर आदिबारे उहाँहरुको चासो नगएको देखिन्छ ।

अभिभावकत्व ग्रहण गरेकाहरुले आफ्नो अभिभावकीय जिम्मेवार बिर्सिएपछि बालबालिकाले महामारीमा आफ्नो ‘अभिभावक’ को साथ र सहयोग पाएका छैनन् । दुई वर्षअघि सरकारले विद्यालय बाहिर रहेका बालबालिकालाई कक्षाकोठासम्म ल्याउने उद्देश्यसाथ देशभर अभियान घोषणा गरको थियो ।

त्यहीअनुरुप मकवानपुरमा जनप्रतिनिधि तथा विभिन्न निकायमा उच्चपदस्थ व्यक्तिहरुले बालबालिकाको जिम्मेवारीसहित ८८ जनाले विद्यालयमै पुगेर विद्यार्थी भर्ना गरेका हुन् । प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री, सांसद, पालिका अध्यक्ष तथा जिल्लाका विभिन्न सरकारी निकायका प्रमुखहरु अभिभावकत्व लिने कार्यमा संलग्न थिए ।

तर, कोरोनाको महामारीको समयमा पनि ती जिम्मेवार ‘अभिभावक’ ले आफ्नो जिम्मामा रहेका बालबालिकालाई भेट्न त परै जाओस्, फोनमा सम्पर्कसमेत नगरेको शिक्षकहरुको गुनासो छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले हेटौंडा–२ मा रहेको सिद्धार्थ माविबाट रौतहटका निराकार रायमाझी र लीलाकर रायमाझीको अभिभावकत्व लिनुभएपछि उहाँ सम्पर्कमा नआएको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले बताउनुभयो ।

राष्ट्रिय सभा सांसद रामचन्द्र राईले हेटौंडा–१७ हटियामा रहेको लक्ष्मी निमाविमा अभिभावकत्व लिनुभएका सामुयल दर्नालको हालको अवस्थाबारे सांसदले सोधपुछ नगरेको प्रधानाध्यापक यदुदय उपाध्याय बताउनुहुन्छ । प्रतिनिधिसभा सांसद विरोध खतिवडाले महेन्द्रकिरण मावि मनहरीबाट सविन थिङ र विश्वास थोकर, प्रदेशसभा सांसद मुनु सिग्देलले कविता पाख्रिनको अभिभावकत्व लिनुभएको थियो ।

पाख्रिन कक्षा–६ मा अध्ययनरत् छिन् । विद्यालयका शिक्षक ज्ञानेन्द्र बर्तौलाका अनुसार सांसद सिग्देल भेट्न नआए पनि विद्यालयलाई फोन सम्पर्क गरेर ‘हेरविचार गर्न’ भन्नुभएको छ । सोही विद्यालयबाट जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालले अभिभावकत्व लिनुभएका विद्यार्थी आर्यन सुनारको पनि ‘सोधपुछ मात्र’ रहेको शिक्षक बर्तौलाले बताउनुभयो ।

प्रतिनिधिसभा सांसद कृष्णप्रसाद दाहालले हेटौंडा–५ मा रहेको बालज्योति माविमा आफू अभिभावक बनेर विद्यार्थी भर्ना गराउनुभएको थियो ।

दाहालले बालज्योतिमा ययुब राईलाई आफू अभिभावक बनेर भर्ना गर्नुभएको थियो । प्रदेशसभा सांसद ओम घलानले राष्ट्रिय मावि सुनाचुरीबाट अभिभावकत्व लिनुभएका सुनिल चेपाङको भर्नापछि सांसद घलान सम्पर्कमा नरहनुभएको प्रधानाध्यापक राधेलाल मण्डल बताउनुहुन्छ ।

भीमफेदी गाउँपालिकाका प्रमुख हिदम लामाले महालक्ष्मी मावि सुपिङबाट अभिभावकत्व लिनुभएका सिर्जना प्रजा र सोहित मिजार हुन् ।

बागमती गाउँपालिका प्रमुख सर्केश घलानले बागमती निमावि राईगाउँबाट अभिभावकत्व लिनुभएका प्रशान्त माझीको अवस्थाबारे पछिल्लो समय गाउँपालिका प्रमुख घलानले सम्पर्क नगरेको विद्यालयका प्रधानाध्यापक गोकर्ण थापाले जानकारी गराउनुभयो ।

मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले खुसी घिमिरे, वडा सदस्य पुष्कर सुवेदी तथा रामप्रसाद ढकालले क्रमशः गंगा प्रजा र विक्रम थिङको अभिभावक बनेर विद्यार्थी भर्ना गर्नुभएको थियो ।

विद्यालय शिक्षा भन्नाले १२ कक्षासम्म बुझिन्छ । अभिभावकत्व ग्रहण भनेको कति कक्षासम्म के–के सामग्री उपलब्ध गराउने भनेको हो, त्यो स्पष्ट छैन ।