भूपराज बस्याल, स्याङ्जा
पैसा कमाएपछि धेरैको इच्छा हुन्छ, ठूलो घर बनाउने, घरमा कामदार राख्ने र आफू चिल्लो गाडीमा सयर गर्ने । तर, यस्ता रहरलाई चटक्क छाडिदिएका छन् सेवानिवृत्त तीन भारतीय गोर्खा सैनिकहरूले ।
सेवानिवृत्त भएपछि सोखको जिन्दगी जिउनुपर्छ, काम गर्नुहुँदैन भन्ने मान्यता बोकेको हाम्रो समाजलाई चुनैती दिँदै उनीहरूले कृषि पेसालाई रोजेका छन् । हिलो र धूलोको समेत पर्वाह नगरी सामूहिक कृषि गर्ने र देशलाई आत्मनिर्भर बन्न योगदान दिने उद्देश्य उनीहरुको रहेको छ ।
स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नम्बर ३ मा बसोबास गर्ने तीन पूर्व भारतीय गोर्खा सैनिकहरूले सामूहिक खेती शुरु गरेका छन् । भारतीय सेनामा रहँदा राष्ट्र र राष्ट्रियतालाई राम्रोसँग बुझेका उनीहरुले स्वदेश फर्केलगत्तै कृषि विकासमा योगदान दिने प्रण गर्दै लागेका उनीहरू देशलाई आत्मनिर्भर बनाएर मात्र राष्ट्रियता बलियो हुनेमा विश्वास राख्छन् । त्यही कारण सामूहिक कृषि रोजेको बताउँछन् ।
यो सन्दर्भ गल्याङ–३ निवासी महेश राना, तालबहादुर थापा र वीरेन्द्र राना मगरको हो । उहाँहरुले कृषि पेसामा नयाँ प्राविधिको प्रयोग गरिरहेका स्थानीय ओम थापासँंग सहकार्य गर्दै यो पेसा अपनाउनुभएको हो ।
ओम थापाले आफ्नै घरको छतमा माटोबिनाको तरकारी खेती गर्नुभएको छ । यो प्रविधि प्रयोग गर्ने उहाँ अगुवा कृषक हुनुहुन्छ । ‘युटुब हेरेर माटोबिनाको खेती गरेको’ बताउने थापाले हाल माछा पालनको नयाँ प्राविधि प्रयोग गरिरहनुभएको छ । माछाको दिसाबाटै माछाको दाना तयार गर्न सकिने उहाँको विश्वास छ । विदेशमा प्रयोग भइसकेको प्राविधिलाई थापाले यहाँको सामूहिक खेतीमा प्रयोग गर्न थाल्नुभएको हो ।
गल्याङ बायोफलक्सको नाम राखेर शुरु गरिएको सामूहिक कृषिमा हाल टमाटर, करेला, काँक्रोलगायत उत्पादन गरिएको छ ।
‘माछा उत्पादन यस फर्मको प्रमुख उद्देश्य हो’, थापा भन्नुहुन्छ– ‘दशवटा पोखरीमा एक–एक हजारका दरले माछाका भुरा पाल्ने योजना रहे पनि हाल लकडाउनका कारण उद्देश्यअनुसार काम हुन सकेको छैन ।’ थापाका अनुसार पोखरीको लागि आवश्यक सामग्री चीनबाट आउन नसक्दा उत्पादन कार्यमा ढिलाइ भएको हो ।
थपाका अनुसार माङगुर, कमन काप र फङगासियस जातको माछा पाल्न लागिएको हो । यस क्षेत्रको लागि फङगासियस जातको माछा नयाँ छ तर पनि वायोफ्लक्स प्रविधिको लागि विज्ञको सुझाव लिएर यी जातका माछा छनोट गरिएको हो । पटक–पटक स्थानीय सरकारलाई गुहार गर्दा पनि अहिलेसम्म कुनै सहयोग नपाएको थापाको गुनासो छ । ‘हामी धेरैपटक नगरपालिका गयौं, तर कुनै सहयोग भएन ।’ –थापाले भन्नुभयो ।
‘भारतीय सेनामा रहँदा हामीले राष्ट्रियतालाई राम्रोसँग बुझ्ने मौका पायौें । हाम्रो देश धेरै चिजको लागि भारतमा निर्भर छ । भारतमा बिक्री हुन छाडेको वा अत्यधिक विषादी प्रयोग गरेर तयारी गरेका फलफूल नेपाल पठाउने गरेका छन्’, भारतीय पूर्वसैनिक महेश राना अगाडि भन्नुहुन्छ– ‘आफ्नै देशमा रहेर प्रदेशलाई तरकारीमा आत्मनिर्भर बनाउन सकिन्छ कि भनेर कृषि पेसातिर लागेको हुँ ।
बाहिरबाट आउने विषादीयुक्त तरकारीको उपभोगले यहाँका मानिसमा विभिन्न रोगहरु भित्रिँदै गएको स्मरण गर्दै राना भन्नुहुन्छ– ‘आफ्नै देशमा रहेका अग्र्र्यानिक तरकारीको उपभोगमा प्रोत्साहन गर्ने उद्देश्यले यस पेसामा लागेका हौं ।’
अर्का पूर्वसैनिक वीरेन्द्र राना भन्नुहुन्छ– ‘हामी जागिर पनि गर्न सक्थ्यौं। त्र, जागिरभन्दा देशका लागि योगदान हुन सक्ने कृषि पेसा नै रोज्यौं ।’ केही गरौं भनेर तीन जनाले सल्लाह भरिरहेको बेला ओम थापासँग भेट भयो। अनि चार भाइ मिलेर काम गरौं भन्ने निष्कर्षमा उहाँहरु पुग्नुभयो ।
व्यावसायिक कृषि खेती गर्न सके आम्दानी राम्रो हुने मात्र होइन, बजार पनि राम्रो रहेको विचार स्थानीय नेता तथा समाजसेवी सूर्य चापागाईंको छ । यस क्षेत्रका लागि आवश्यक पर्ने तरकारी भारत एवम् तराईका जिल्लाबाट आउने हुँदा व्यावसायिक कृषि खेतीको सम्भावना रहेको उहाँको भनाइ थियो ।
व्यावसायिक कृषि खेतीमा मुख्य जोड दिएको कृषि ज्ञान केन्द्र स्याङ्जाले खाद्यान्न, फलफूल र तरकारीमा आत्मनिर्भर हुनका लागि अनुदान दिँदै आएको छ । ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले व्यावसायिक कृषि गर्न चाहने व्यक्तिले सम्पर्क राखेमा ज्ञान केन्द्रले सहयोग गर्ने जानकारी दिनुभयो ।
गण्डकी प्रदेशमा माछासम्बन्धी काम गर्दै आएको एक मात्र निकाय मत्स्यविकास केन्द्र मिर्मीका प्राविधिक तिलकचन्द्र रावतले छनोट गरिएका माछा यस क्षेत्रको लागि उपयुक्त भएको बताउनुभएको छ । नेपालमा भर्खर मात्र भित्रिएको र जिल्लामा समेत नमुुना फर्म बनेको यस प्रविधिबारे उहाँ भन्नुहुन्छ– ‘यो प्रविधिबाट सानो ठाउँमा धेरै उत्पादन गर्न सकिन्छ ।’
प्रतिक्रिया