तेक्वान्दोमा मूलपानीलाई तीन स्वर्ण

0
Shares

काठमाडौं, (नेस)
आयोजकमध्येको एक मूलपानी तेक्वान्दो डोजाङले प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिताको पहिलो दिन सोमबार तीन स्वर्ण जितेको छ। कुल ११ स्पर्धा समावेश प्रतियोगिताको पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा मूलपानीले सर्वाधिक ३ स्वर्ण जितेको हो। स्युचाटार तेक्वान्दो डोजाङले २ तथा कोटेश्वर तेक्वान्दो डोजाङले ले १ स्वर्ण जितेका छन्।

मूलपानी र कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष १२ वर्ष उमेर समूहमा स्युचाटारका जेसन थापाले स्वर्ण जिते। उनले ६ दशमलव १६ अंक जोड्न सफल भए। रजत जितेका मूलपानीका भिजन तामाङले ६ दशमलव १० अंक जोडे। काभ्रेस्थलीका मिराज केसी र मूलपानीका प्रशान्त धमलाले तेस्रो स्थानमा चित्त बुझाएका छन्।

उक्त स्पर्धाको महिलामा स्युचाटारकी ग्रिवानी थापा ६ दशमलव ३० अंकसाथ पहिलो भइन्। दोस्रो भएकी गोदावरीकी सर्गम थापाले ६ दशमलव १६ अंक प्राप्त गरिन्। मँलपानीकी मेलिना राई तथा बुटवलकी अनुष्का तामाङले कांस्य हात पारे।

कागेश्वरी मनोहरा नगरपालिकाको मुख्य प्रायोजन र युनिटी तेक्वान्दो डोजाङ, हङकङका अध्यक्ष दिल गुरुङको सह–प्रायोजनमा भइरहेको प्रतियोगिताको पुरुष १५ वर्ष उमेर समूहमा मूलपानीका आयुष ढुंगेल शीर्ष स्थानमा रहे। ६ दशमलव ३ अंक जोडेका आयुषले ६ अंक जोडेका मूलपानीकै महेश आङथुपुलाई पछि पारे।

सैनिक आवासीय महाविद्यालयका सुजन श्रेष्ठ तथा गोदावरीका श्रृजल श्रेष्ठ तेस्रो बने। सोही स्पर्धाको महिलामा कोटेश्वरकी सन्ध्या लामा च्याम्पियन बनिन्। सन्ध्याले ६ दशमलव १३ अंक जोडिन्। ६ दशमलव १० अंकसाथ मूलपानीकी प्रगति कुइकेल दोस्रो भइन्। चन्द्रसूर्यका हिमाला अधिकारी तथा सोनी शेर्पाले तेस्र्रो स्थानमा चित्त बुझाए।

पुरुष ४१ वर्षमाथि मधुसूदन सापकोटाले मूलपानीलाई अर्को स्वर्ण दिलाए। आफ्ना प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा मधुसूदनले ६ दशमलव शून्य ३ अंक जोडे । ५ दशमलव ८३ अंकसाथ पाटनका ईश्वरराम बज्राचार्य दोस्रो स्थानमा रहे। बाग्लुङका पर्शुनारायण बोहरा तथा बुटवलका दीपक राणा तेस्रो भए। महिला ३१–४० वर्ष उमेर समूहमा मूलपानीकी तृप्ति बुढाथोकीले पहिलो स्थान कब्जा गरिन्। तृप्तिले ५ दशमलव ७६ अंक ल्याएकी छन्।

प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले एक कार्यक्रमका बीच उद्घाटन गरे। सो अवसरमा आयोजक खेलकुद विकास समितिका अध्यक्ष रामप्रसाद पुडासैनीलगायतको उपस्थिति थियो। दुई दिने प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेनासहित विभिन्न ४४ टिमका २ सय ८ खेलाडीको सहभागिता छ।
हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार पाउनेछन्।

सहभागीमध्ये एक खेलाडीलाई ‘मोस्ट पपुलर प्लेयर’ अवार्ड प्रदान गरिनेछ। अवार्डको राशि ५ हजार नगद रहेको छ। यो विधाको चयन गर्न प्रत्येक सहभागी खेलाडीको भिडियो युट्युबमा राखिनेछ। त्यसमध्ये सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई ‘मोस्ट पपुलर प्लेयर’ को अवार्ड प्रदान गरिनेछ। यसको नतिजा भने अक्टोबर २० तारिखमा सार्वजनिक गरिनेछ। प्रतियोगिताको निर्णायक मण्डलमा अशोक खड्का, हिराबहादुर थापा, नोर्बु लामा, बिक्रम खड्गी र मिन न्यौपाने रहेका छन्।