सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार

0
Shares

भगवती तिमल्सिना, काठमाडौं ।

नेपालमा कोरोना संक्रमण प्रवेश गरेको ८ महिना १८ दिन बितिसकेको छ । सरकारले यो अवधिमा पटकपटक लकडाउन गर्ने, खोल्नेजस्ता कामलाई ठूलै उपलब्धिका रुपमा लिए पनि लकडाउनका समयमा जनस्वास्थ्यका विषयमा खासै काम नगरेकै कारण अहिले कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको विज्ञहरुको ठम्याइ छ ।

कोरोनालाई सरकारले ठेक्कापट्टा गर्ने गराउने र धन कमाउने माध्यम बनाएकै कारण आज देश र सर्वसाधारण जनता ठूलो मारमा परिरहँदा औंलामा गन्न सकिने व्यवसायी, उद्योगी, नेताहरु भने मालामाल भएको समेत विज्ञहरुले कडा शब्दमा आलोचना गरेका छन् ।

मुखैमा आएको दशंै, तिहार, छठका बेलामा आफन्तजनलाई भेटघाट हैन टाढैबाट नमस्कार गर्ने र सामाजिक दूरी कायम गर्दै धर्म, संस्कृतिको जगेर्ना गर्नका लागि नेपाल सरकारले आह्वान गरे पनि खासै जनताको मन छुन सकेको पाइन्न ।

सरकारले जो जहाँ छ त्यहीं बसेर दशंै मनाउन दैनिकरुपमा स्वास्थ्य मन्त्रालयको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भन्न छोड्नुभएको छैन । तर जनताले मान्ने र मान्नुपर्ने कुनै ठोस आधार नबनेका कारण दैनिकजसो बिनासजकता गाउँको यात्रा तय भइरहेको छ । यो दृश्य सरकारले पनि नदेखेको भने होइन ।

जनताले किन सरकारले जो जहाँ छ त्यहीं बस भनेको नियम पालना गर्दैनन्, वास्तवमै सरकारले जनतालाई यथास्थानमा बस्ने आधार कहाँ तय गरेको छ ? कोरोना संक्रमण भयो भन्दा त घरभेटीेले घरबाट निकाल्दा समेत टुलुटुलु हेरेर नदेखेझैं गर्ने सरकारका भनाइले आफ्नो परिवारको मुखमा माड नलाग्ने देखेर नै सर्वसाधारण जनता गाउँफर्क अभियानका साथ अघि यात्रा तय गरेको देखिन्छ ।

सोमबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा गौतमले उपत्यकाका सबै सरकारी अस्पतालमा अब कोरोना संक्रमितको उपचार हुने बताउनुभयो । तर केकस्तो तयारी भएको छ र अन्य बिरामी कहाँ जान्छन् भन्नेबारेमा उहाँले प्रस्ट पार्नुभएन । यो डा. गौतमको व्यक्तिगत निर्णय नभई सरकारले दिएको निर्देशनको पालना हो भन्ने स्पष्ट देखिन्थ्यो ।

डा. गौतमले दहचोकस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल तथा कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई कोभिड–१९ को लक्षणसहितको संक्रमितको उपचार गर्ने गरी कोभिड अस्पतालका रुपमा स्तरोन्नति गर्ने निर्णय भएको बताउनुभयो ।

सरकार अझै पनि काठमाडौंमा मात्र केन्द्रित भएकै कारण कोरोना संक्रमण एकैपटक भयावह भएको बुझ्न गाह्रो नपर्ने ग्यास्ट्रोलोजिस्ट डा. मधु घिमिरेले पटकपटक औंल्याउँदै आउनुभएको छ ।

त्यसैगरी कोभिड अस्पताल धुलिखेलका डा. राम गुरुङले पनि सामाजिक सन्जालमा स्टाटस नै लेखेर कोरोनालाई सामान्य नमानांै, अब अस्पतालका बेड भरिभराउ भइसके कम्तीमा मास्क लगाएर सभ्यताको पहिचान दिन आग्रह गर्दै आउनुभएको छ ।

त्यसै गरी धुलिखेल नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सन्दीप केसीले पनि फेसबुक स्ट्याटसबाट नेता र सर्वसाधारण जनतालाई लक्षित गरी कोरोना नफैलियोस् भनेर हामी रातदिन पीपीईमा गुम्सिएर तपाईंहरुलाई बचाउन तल्लिन छौं तर तपाईंहरु भने एउटा मास्कसमेत नलाएर कोरोना फैलाउँदै हुनुहुन्छ भन्दै मार्मिक भावना राख्नुभएको छ ।

यता कला क्षेत्रदेखि पत्रकारितामा समेत परिचित कृति भट्टराईले कोरोना केही होइन नभन्नोस्, मास्क लगाउने र नियमित साबुनपानीले हात धुने गर्नुस् । मैले कति सावधानी अपनाउँदा अपनाउँदै कोरोना संक्रमण भयो र अहिले कोरोना जितेर यो सन्देश दिँदै छु ।

मेरी ६५ वर्षीया आमाले पनि कोरोना के हो जान्नुभएको थिएन तर संक्रमण भयो । त्यसैले कोरोना परिचय दिएर आउँदैन आफैले सतर्कता अपनाएर टाढा राख्ने हो भन्नुभएको छ ।

कोरोना केही होइन भनेर मान्छेले हेलचेक्र्याइँ गरेकै कारण देशभर कुल संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगिसकेको तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ । संक्रमितमध्ये हालसम्म डिस्चार्ज हुनेको संख्या ७७ हजार २ सय ७७ रहेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ४५ पुगिसकेको छ ।

यो अवस्था आइसक्दा पनि सरकारले देखेको नेपाल अझै पनि काठमाडौं उपत्यका मात्र रहेको सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले पढेर सुनाउनुभएको सन्देशले स्पष्ट पार्छ । सरकारले आम नागरिकलाई नेपाली र सबै नेपालीको स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकारको रक्षा र सम्बोधन नगरेसम्म कोरोना संक्रमणको न्यूनीकरण सम्भव देखिन्न ।

डा. गौतमले काठमाडौंमा रहेका सम्पूर्ण सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गर्ने सरकारले निर्णय गरेको छ भनिरहँदा ग्रामीण भेगका जनताको स्वास्थ्यप्रति सम्बोधन खोइ ?