मानवले निम्त्याएका महामारी र मानवीय चेत


  • विमलादेवी ढकाल

मानव अनुकूल वातावरण रहँदासम्म मानव दौडिरहन्छ । कृत्रिम पखेटा लगाएर भए पनि आजाद पक्षीको सरह उडान भर्न तल्लीन रहन्छ । यही सोच र जाँगरको फलस्वरूप यस मानव सभ्यतामा धेरै असल र मानवोपयोगी आविष्कारहरु सम्भव भए । रात परेपछि टुकीको भरमा जेनतेन उज्यालो निर्वाह गरेका मानिसले बिजुली बत्तीको आविष्कारपछि रातलाई दिनजस्तो उज्यालो बनाइदिए । रातभरि उज्यालो हुने भएपछि रातमा पनि मानिसले काम गर्न थाले । धेरै उद्योग कलकारखानाहरुमा आज पनि दिन र रात चौबीसै घन्टा काम भइरहन्छ । यसबाट विश्वको बढ्दो जनसंख्यालाई काम र माम मिलेको छ । जुन सबैका लागि सुखद पक्ष हो । एउटा गाउँबाट अर्को गाउँ, एउटा देशबाट अर्को देश गर्न कठिनाइ हुँदै गर्दा ठूला–ठूला पुल, पानीजहाज र हवाईजहाजको निर्माण सम्भव हुनुले सारा पृथ्वी नै एउटा सानो शहरजस्तो सुगम हुनु अर्को खुशीको कुरा हो ।
हामीले हाम्रो चेतना र अथक मेहनतले अझै धेरै कुरा आविष्कार ग¥यौं । मरुभूमिमा अन्न, सागपात र फलफूल लहलह बनायौँ । नयाँ–नयाँ र सजिला औजार र उपकरणको आविष्कार निर्माण र प्रयोगबाट कृषिमा आधुनिकीकरण गर्दै थुप्रै अन्नपात, फलफूल र तरकारीको उत्पादनबाट बढ्दो जनसंख्याको भोक साम्य पार्न सफल भयौँ । यो कर्मले मानव सभ्यता धन्य–धन्य भएको छ ।
चिकित्सा विज्ञानमा मानव जातिले ठूलो सफलता हात पारेको छ । संसारबाट बिफर उन्मूलन भयो । टीबी रोग नियन्त्रणभित्र छ । औलोरोग नियन्त्रणभित्र छ । हैजा नियन्त्रणभित्र छ । एचआईभी नियन्त्रण उन्मुख छ । पोलियो, दादुरा, भ्यागुते रोग पनि नियन्त्रणका क्रममा छन् । रेबिज र विभिन्न प्रकारका हेपाटाइटिस रोगहरु नियन्त्रणकै क्रममा छन् । रातदिनको प्रयासले धेरै प्रकारका भाइरस र ब्याक्टेरियाविरुद्ध दिइने खोप र औषधिको आविष्कार एवं निर्माणले जीवन लम्बिएको मात्रै छैन, सजिलो पनि भएको छ ।
हामीले स–साना झुप्रा, बस्तीका ठाउँमा ठूला–ठूला महल बनायौँ । रातभरि ननिदाउने शहरहरु बनायौँ । डिस्को, बार र सिनेमाघर अनि पार्र्टी प्यालेसहरु बनायौँ । खेतीयोग्य जमिन मासेर ठूला–ठूला सपिङ मलहरु, रंगशाला, एयरपोर्टहरु बनायौँ । ठूला–ठूला होटल र लजहरु बनायौँ । सयौं तला भएका गगनचुम्बी बिजनेस टावरहरु बनायौँ । जमिनको प्राकृतिक स्वरुप बदलेर कङ्क्रिटाइज्ड गर्दा सभ्य भइन्छ भन्ने ठानेर आँगन, पिँढी, भान्छा, बाटोघाटो सबैतिर ढलान गरिदियौँ ।
हामीले प्रकृतिको स्वच्छ हावालाई घरभित्र पस्नबाट वञ्चित ग¥यौं । हामीले घामको किरणलाई हाम्रो घरभित्र छिर्न दिएनौँ । हामीले वर्षादको पानीलाई सीधै जमिनमुनि सोसिनबाट वञ्चित ग¥यौं । भोक मेटाउन जुनसुकै पशुपक्षी र जलचर, थलचर जीवजन्तुको भक्षण गर्न थाल्यौँ । हामीले राष्ट्रको ढुकुटीबाट धेरैभन्दा धेरै खर्च मानवीय हितमा भन्दा पनि हातहतियार र शस्त्रअस्त्रको निर्माण र ओसारपसारमा लगाइरहेका छौँ । हामी पञ्चशीलको सिद्धान्तको मर्म बुझ्दैनौँ । सिमानामा एक बित्ता जमिनको लागि छिमेकीको सेनाको कञ्चटमा गोली हान्छौँ र आफूलाई महाशक्तिशाली भएको ठान्छौँ । सानाले प्रगति गरोस् भन्ने हाम्रो चाहना छैन । अरुलाई दबाइराख्नुमा आफ्नो प्रगति ठान्छौँ हामी । हामी आफूलाई नरुचे बरु फ्याँकिदिन्छौँ तर जुठो नहाल्दै भोकाहरुलाई सम्झँदैनौँ । हामीलाई अरुको दुःखमा कठै भन्न त आउँछ तर तन, मन र धनले सहायता गर्न आउँदैन ।
हामी यसरी नै दौडिरहँदा धेरै दैवी विपत्ति र महामारीहरु आए । कहिले हैजाको महामारी त कहिले सार्सको महामारी, कहिले बिफरको महामारी त कहिले स्वाइनफ्लुको महामारी, कहिले प्लेगको महामारी त कहिले इबोला महामारी र अहिले कोरोना महामारी । कुनै एउटा महामारी चल्दै गर्दा र उक्त महामारीसँग लड्दै गर्दा फेरि पनि अर्को यस्तै वा फरक खालको महामारी आउन सक्छ र आयो भने के–कसरी मानव सभ्यताको रक्षा गर्न सकिएला भनेर तत्कालीन मानव जगत्ले चिन्तन गरेको भए पक्कै पनि दास्रो महामारीको असर कम पर्न जान्थ्यो ।
जस्तो कि सार्सको महामारी आउँदा मास्क लगाउनुपर्छ, भीडभाडमा जानुहुँदैन । घरभित्र घाम छिर्ने र स्वच्छ हावा ओहोरदोहोर भएको हुनुपर्छ । राम्रोसँग पाकेको स्वच्छ खाना र स्वच्छ पिउने पानीको प्रयोगले रोगसँग सजिलै लड्न सकिन्छ । सार्सको महामारी रहुन्जेल हामीले माथिका हरेक कुरामा ध्यान दियौँ । तर जब महामारीको असर कम हुँदै गयो तब हामीले सबै कुरा बिर्संदै र छोड्दै गयौँ । हामी डिस्को र पार्र्टीमा रमाउन थाल्यौं । भीडभाडमा जाँदा मास्क प्रयोग गर्न छाड्यौँ । ठूला–ठूला हलमा सेमिनार र गोष्ठी गर्न थाल्यौं । काँचो, फ्रिजमा राखेको र बाहिरको खाना खाँदै गयौँ । सानो जग्गामा ठूलो घर बनाएर एसी, पंखाको हावामा रमाउँदै गयौँ अनि कोरोनाको महामारी आउँदा मास्कको हाहाकार, एकान्तवासको हैरानी, घरमै पकाएर खानुपर्ने बाध्यता, साथीभाइ र इष्टमित्र भेट्न नपाउँदाको पीडा, हात नमिलाई नमस्कारमा अभ्यस्त हुनुको मर्म, स्यानिटाइजर र साबुन–पानीले नियमपूर्वक हात धुनुको निर्विकल्पतासँग बानी पर्नुको बाध्यता ।
जे होस्, मानव सभ्यतामा कोरोना महामारीले धेरै कुरा सिकाएको छ । जस्तो कि प्रकृति महान् छ । प्रकृतिको विरुद्ध जानाले प्राकृतिक विपत्तिहरु आउँछन् । जनावर र पशुपक्षीबाट मानिसमा धेरै प्रकारका रोगहरु सर्ने सम्भावना छ । काँचो मासु, राम्ररी नपखालिएको फलफूल र तरकारी हानिकारक हुन्छ । भीडभाडमा जाँदा सुरक्षाका सामग्री प्रयोग गर्नुपर्छ । मानसिक र शारीरिकरुपमा तन्दुरुस्त व्यक्तिलाई कोरोनाले कमै आक्रमण गर्छ । ताजा फलफूल, तरकारी र घरमै पकाएको खाना खाँदा रोग लागिहाले पनि छिट्टै सन्चो हुन सकिन्छ ।
अब यो कोरोनाको महामारीबाट आर्जित ज्ञान र व्यवहारलाई हामीले जीवनपर्यन्त लागू गर्दै जाने र आउँदो पुस्तालाई पनि यस्ता कुरामा जागरुक एवं अभ्यस्त गराउँदै लैजान सक्नु हाम्रो बुद्धिमानी हुनेछ । ढिलो–चाँडो यस्तै अर्को महामारी नआऊला भन्न सकिने अवस्था छैन नै ।
(लेखक ढकाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नर्सिङ अधिकृत हुनुहुन्छ ।)