कपल च्यालेन्ज कि अध्ययन च्यालेन्ज ?


विजय शर्मा
कोरोना भाइरसका कारण अहिले विश्वले अकल्पनीय जटिल परिस्थितिको सामना गरिरहनुपरेको छ । महामारीको रूपमा जरा गाडेको यस भाइरसको असर हालसम्म २१० भन्दा बढी राष्ट्रमा देखा परिसकेको पाइन्छ । जसको प्रभावबाट नेपाल पनि अछूतो रहन सकेको छैन । त्यसका विरुद्धमा राष्ट्रहरू आफ्नो क्षमताले भ्याउनेसम्म रणनीतिकरूपमा लागिपरेका छन् । दिन–प्रतिदिन संक्रमितहरूको संख्या बढिरहेको छ । निको हुनेहरूको संख्याभन्दा संक्रमितहरूको संख्या धेरै हुने क्रम जारी छ । बिस्तारै समुदाय स्तरमा सर्ने क्रम बढेकोले अन्ततः अझै महामारीको रूप लिई संकटको अवस्था आउन सक्ने सम्भावना रहेको विज्ञहरूको भनाइ छ । यो अवस्था कहिलेसम्म रहने हो, कसैले तत्काल भन्न सक्ने अवस्था रहेको पनि देखिँदैन ।

भाइरसलाई समुदाय स्तरसम्म फैलिन नदिनका लागि सरकारले लकडाउन र निषेधाज्ञाको वैकल्पिक उपायहरू पनि आत्मसात् नगरेको होइन । देशमा आर्थिक सङ्कट बढ्दै जाने तथा भोकमरीबाट मानिसहरू मर्ने डर गम्भीररूपमा देखिन थाल्यो । त्यसैले सरकारले सामाजिक सचेतना तथा स्वास्थ्य सावधानी अपनाई बिस्तारै अधिकांश क्षेत्रहरूलाई खोल्ने निर्णय गरेको पाइन्छ । तर हालसम्म पनि शैक्षिक संस्था, ट्युसन सेन्टर तथा तालिम केन्द्र, सार्वजनिक पुस्तकालय तथा संग्रहालयहरू बन्द नै छन् । शिक्षामन्त्रीले पनि अहिले नै प्रत्यक्षरूपमा पठनपाठन गर्ने वातावरण नभएकोले विद्यालय खोल्न हतार नगर्नू भनेका छन् ।

कति विद्यालयहरू अझैसम्म पनि क्वारेन्टाइन स्थलको रूपमा रहेका छन् । कोरोनाको त्रासपूर्ण मनोविज्ञानबाट संत्रस्त बालबालिकाहरू तत्काल विद्यालयहरू खोले पनि सहजरूपमा अध्ययन गर्ने वातावरण बन्न नसक्ला ।
बालबालिकाले शिक्षा आर्जन गर्ने पहिलो पाठशाला भनेको घर–परिवार नै हो । उसले परिवारबाटै जीवन जिउने आधारभूत कुराहरू सिकेको हुन्छ । त्यसपछि उ औपचारिक शिक्षाका लागि विद्यालय जान्छ । जहाँ उसलाई समाज, समुदाय, संस्कृति, राष्ट्र आदिको बारेमा बुझ्ने मौका मिल्छ ।

विद्यालयबाट नै बौद्धिकतालाई निखार्दै नैतिकवान् चरित्रको विकास गर्छ । समाज परिर्वतनका लागि जिम्मेवार नागरिकका रूपमा आफूलाई स्थापित गर्न चाहना राख्छ । त्यसैले विद्यालय औपचारिक शिक्षाको माध्यमबाट बालबालिकाको भविष्यको गोरेटो निर्माण गर्ने स्थान हो । विद्यालय गई उज्ज्वल भविष्य कोर्ने सपना देखेका बालबालिकाहरू अहिले घरभित्रै टिकटक, युट्युबका साथै टेलिभिजनको पर्दामा कार्टुनको स्वादमा रुमल्लिइरहेका छन् ।

बालबालिकालाई भविष्यका कर्णधार, समाजका ऐना तथा परिवर्तनका सम्बाहकको रूपमा हेर्ने गरिन्छ । भविष्यमा हामीले कस्तो समाजको कल्पना गर्दछौं आजका बालबालिकालाई हामीले अहिले गर्ने व्यवहारले निर्धारण गर्दछ । भन्ने गरिन्छ, बालबालिका भनेका काँचो माटो हुन्, जुन जे चीजको आकृति बनाउन चाहिन्छ त्यसैको आकृति बन्छ । त्यो कलिलो मस्तिष्कमा सकारात्मक विचार, सोच, अभ्यास र व्यवहारले भर्नु आवश्यक हुन्छ । यसका लागि सानैदेखि उचित शिक्षा, दीक्षा र संस्कारलाई निरन्तरता दिई दक्षता, क्षमता तथा कार्यकुशलता अभिवृद्धि गर्नुपर्दछ ।

बालबालिकाको न्यूनतम सिकाइ सुनिश्चित गर्नका लागि केही निजी विद्यालयहरूले वैशाखदेखि र सामुदायिक विद्यालयहरूले असार महिनादेखि अनलाइन कक्षाहरू सञ्चालन गरेको पाइन्छ । तर त्यस्ता खुल्ला तथा दूरशिक्षा कार्यक्रम शहरी क्षेत्रमा केही मात्रामा प्रभावकारी भए तापनि दूरदराजका बालबालिकाहरूका लागि कति व्यावहारिक र फलदायी भयो भन्ने कुरा विचारणीय छ ।

यस्ता वैकल्पिक सिकाइका क्रियाकलापले गर्दा बालबालिकाहरू बिहान उठेर, हतार–हतार दुई–चार गाँस खाना खाएर, शरीरले थाम्न नसक्ने गरी किताबको भारी बोकेर विद्यालय जानुपरेको छैन । दिनभरि विद्यालयको पढाइबाट थाकेर लखतरान भई घर फर्कनुपर्ने बाध्यता पनि छैन । विद्यालयबाट घर आइसकेपछि दिनभरको गृहकार्य भ्याइ–नभ्याइ गर्नुपर्ने अवस्थाबाट स्वतन्त्रता मिलेको छ ।

तर सरकार जे–जसरी चलेको अनलाइन कक्षा भए तापनि वैधानिकता दिने तथा पाठ्यक्रम नै परिमार्जन गरेर भए पनि शैक्षिक सत्रलाई नियमितता दिन कार्ययोजनातिर लागेको छ । विद्यार्थीको सिकाइलाई सहजीकरण गर्दै निरन्तर, प्रभावकारी र व्यवस्थित बनाउने भनी निर्देशिका नै जारी गरिसकेको छ । ग्रामीण भेगमा रेडियो कार्यक्रम पनि प्रभावकारी नभएपछि अहिले टोल–टोलमा शिक्षक परिचालन गरी कोर्स पूरा गरेको भन्ने कर्मकाण्डी व्यवहारमा लागेको देखिन्छ ।

फेस टु फेस भएर पठनपाठन गर्ने संस्कारमा हुर्केका हाम्रा बालबालिकालाई अनलाइन विधिको सिकाइ पचिसकेको छैन । दिनको आठ–नौ घण्टा विद्यायलमा शिक्षकको निगरानीमा अध्ययन गर्ने बानी परेको वास्तविकता थियो । त्यसमाथि पनि अतिरिक्त समय ट्युसन पढ्ने त फेसन नै भैसकेको थियो । शिक्षकले घोकाउने विद्यार्थी घोक्ने अनि परीक्षामा उच्च अङ्क प्राप्तिको चाहनाको भारी बोक्ने हाम्रो संस्कार नै हुन पुगेकोे छ ।

विद्यालयहरू ‘हाम्रा यति विद्यार्थीले ए प्लस ल्याए’ भनेर प्रचारप्रसार गर्ने ध्याउन्नमा हुन्छन् । अभिभावकहरू पनि त्यसैको पछि लागेर धेरै विद्यार्थीले ए प्लस ल्याएका विद्यालय खोज्दै नानीबाबुहरूलाई त्यहीँ भर्ना गर्ने दौडमा लागेको देखिन्छ । बालबालिकालाई सृजनशील, क्रियाशील, संवेदनशील तथा कल्पनाशील बनाउनतिर हाम्रो ध्यान जाँदै गएन । छोराछोरीलाई विद्यालयमा भर्ना गर्दा स्वअध्ययन, चिन्तन, मनन तथा अन्वेषण गर्ने वातावरण छ कि छैन भन्नेतिर हामीले कहिल्यै विचारै गरेनौ । त्यसैले हाम्रो शिक्षा नेपाली उखान ‘घोकन्ती विद्या धावन्ती खेती’ भित्र नै रुमलिरह्यो । यस्तो संस्कारबाट गुज्रेर आएका हाम्रा बालबालिकाहरूले अहिले दिनको एक–दुई घण्टा अनलाइन कक्षामा पढेर के सिक्ने ?
द्रुत गतिमा दिन–प्रतिदिन विकास हंँदै गइरहेको सूचना प्रविधिको प्रभाव बालबालिकामा पनि पर्नु स्वाभाविक हो ।

मोबाइल, टेलिभिजन, इन्टरनेटजस्ता विद्युतीय माध्यमहरूमा मनोरञ्जनात्मक कार्यक्रमहरू हेर्दै मूल्यवान समय व्यतीत गरिरहेका छन् । शहरदेखि गाउँघरसम्मका प्राथमिक तहका बालबालिकाहरूलाई पनि इन्टरनेटको प्रभाव परेको छ । दैनिक गृहकार्यसमेत गुगलको सहायताले गर्न थालेका छन् । आफंै मिहिनेत गर्ने बानीभन्दा पनि गुगलको रेडिमेड उत्तर सारेर शिक्षकको आँखा छल्ने काम बढेको छ ।

अझै भनांै, जन्मनेबित्तिकै युट्युबको साङ्गीतिक धुनमा खाने बानी परेका बालबालिकाहरूमा प्रविधिले कस्तो प्रभाव पर्ने हो, विचारणीय छ । यो लेखको आशय समयको मागसँगै विकास भएको सूचना प्रविधिको प्रयोगबाट बालबालिकालाई अलग गराउनुपर्छ भन्नेचाहिँ कदापि होइन । प्रविधिको प्रयोगका नाममा बालबालिकामा अध्ययन संस्कृति लुप्त हुन्छ कि भन्ने चिन्ता मात्र हो ।

नेपालमा अध्ययन संस्कृति कस्तो थियो भन्ने उदाहरणका लागि वेद, उपनिषद्, पुराण, रामायण, महाभारत आदिको सृजनालाई लिन सकिन्छ । तर इतिहासलाई देखाएर कोरोनाभन्दा पहिला हाम्रो अध्ययन संस्कृति राम्रो थियो भन्न मिल्दैन । अहिलेको हाम्रो अध्ययन प्रवृत्ति सूचनात्मक मात्र छ, त्यसमा गहिराइ छैन । कोरोनाले यसमा मलजल थप्ने काम मात्र गरेको हो भन्दा अत्युक्ति नहोला । यो अवस्थामा छोराछोरीलाई किताबको सङ्गतबाट टाढा जान दिनुहुँदैन ।

जसका लागि अभिभावकले नै उनीहरूको रोजाइको पुस्तकहरू उपलब्ध गराइदिनुपर्दछ । जस्तै– कविता, मुक्तक, चुड्किला, गाउँ खाने कथा, हास्यव्यङ्ग्यहरू आदि । आफू मोबाइलमा फेसबुक र युट्युब तथा टेलिभिजनमा सिरियल हेर्न व्यस्त हुने अनि छोराछोरीलाई पढ्–पढ् भन्ने करकर गर्ने बानीको अन्त्य हुनुपर्दछ । बालबालिकाको अध्ययनको समयमा पुस्तक वा पत्रपत्रिकाहरू पढेर वा हेरेर मात्र भए पनि बसेर जिम्मेवार अभिभावकको भूमिका निर्वाह गर्नबाट टाढिनुहुँदैन ।

सरकार पनि बालबालिकाको भविष्य कसरी सुनिश्चित गर्न सकिन्छ भनेर वैकल्पिक उपायहरूको खोजीमा भौंतारिरहेको देखिन्छ । तर यो भौंतारिने काम कहिलेसम्म ? विद्यालयस्तरमा अनलाइन कक्षाहरू असम्भव नै हुने देखियो । त्यसैले देशमा संघ, प्रदेश र स्थानीय तहसम्म सरकारका संयन्त्रहरू क्रियाशील छन् । त्यसका साथै टोल–टोलमा टोल सुधार समितिहरू, क्लबहरू, गैरसरकारी संघसंस्थाहरू पनि रहेका छन् । समाजमा रहेका यस्ता संयन्त्रहरूको पहिचान गरी कोरोनाको मनोवैज्ञानिक त्रासलाई हटाउन स–साना समूहमा सिकाइका साथै मनोरञ्जनात्मक कार्यक्रमहरू पनि सञ्चालन गर्नुपर्दछ । यस प्रकारले उनीहरूमा अन्तर्निहित प्रतिभाको प्रस्फुटन गराउनतिर लाग्नुपर्दछ । प्रविधिको प्रयोगको मात्र भरमा बस्ने हो भने अधिकांश बालबालिकाहरूको भविष्य अन्धकारको गोरेटोतिर लाग्ने सुनिश्चित छ ।

अभिभावकहरू पनि सरकारको भर परेर मात्र बस्नुभन्दा नानीबाबुहरूलाई भविष्यमा बढ्दो प्रतिस्पर्धी समाजमा कसरी स्थापित गराउने भन्नेमा ध्यान पु¥याउनु आवश्यक छ । ताकि कपल च्यालेन्ज र बेबी च्यालेन्जजस्ता सामाजिक सञ्जालका मौसमी हल्लामा रमाउने होइन । यो समय बालबालिकालाई साहित्यिक र व्यावहारिक ज्ञानका कुराहरू सिकाउन अवसरका रूपमा लिनुपर्दछ । सरकारले उपलब्ध गराएको सस्तो दरको इन्टरनेटको दुरुपयोग गर्दै टिकटक र युट्यबमा मात्र भुलेर बस्ने होइन । बालबालिकालाई अध्ययन च्यालेन्ज गराउनुपर्छ ।

त्यसै गरी खोलामा पौडी खेल्ने, माछा मार्ने तथा गाईवस्तुको गोठालो भएर दैनिकी बिताएका ग्रामीण बालबालिकालाई बिस्तारै अध्ययनको बानी बसाल्नतिर लाग्नुपर्दछ । समाजमा डलर पचाउन बसेको भनी आरोप खेपिरहेका बालहित, बालकल्याण, बालविकासजस्ता विविध नामले सक्रिय गैरसरकारी संघसंस्थाहरूले बालकालिकाहरूको हात–हातमा घुम्ती पुस्तकालय सेवामार्फत पुस्तकहरू पु¥याउन सक्नुपर्दछ । जसले गर्दा लामो समयसम्म पुस्तकको सङ्गत टुटेका बालबालिकाहरूलाई पुस्तकसँग जोडाउने काम गर्दछ । जब बालबालिकाहरूलाई घरमै बसी–बसी आफूलाई मन पर्ने कथा, कविता, निबन्ध, उपन्यास आदि पढ्ने वातावरण बन्दछ, तबमात्र उनीहरूमा अध्ययन संस्कृतिले निरन्तरता पाउनेछ फलतः उनीहरुको जीवनको पनि स्तरोन्नति हुनेछ ।