नेकपा सचिवालय बैठक : अध्यक्षद्वयलाई मन्त्रिमण्डल पुनर्गठनको जिम्मा

0
Shares

नेपाल समाचारपत्र,काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले मन्त्रिमण्डल पुनर्गठनको निर्णय गर्ने अधिकार पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । सचिवालयको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको तीन विकल्पको आधारमा मापदण्ड तय गर्न नसकेपछि दुई अध्यक्षले सहमति गरेर मन्त्रिमण्डल पुनर्गठन गरिने भएको छ । सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनको एजेण्डा पहिलो नम्बरमा राखिए पनि ठोस निर्णय हुन सकेन ।

मन्त्रिमण्डल पुनर्गठनको विषयमा सोमवार अध्यक्षद्धय ओली र प्रचण्डबीच छलफल भएर उक्त एजेण्डामा प्रवेश नै नगरेको बताइएको छ । सचिवालयका एक सदस्यका अनुसार मन्त्रिमण्डल पुनर्गठनको विषयमा अध्यक्षद्धयले सहमति कायम गरेर निर्णय गर्ने अधिकार दिइएको छ । त्यसैगरी बैठकले पार्टीको सांगठनिक एकीकरणका बाँकी कामलाई पूरा गर्नका लागि १० दिनभित्र कार्ययोजना बनाउन अध्यक्षद्वय ओली प्रचण्डका साथै महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले कार्ययोजनाबारे फेरि सचिवालयमा छलफल गरेर निष्कर्षमा पुग्ने तय गरेको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले संवैधानिक आयोगमा रिक्त रहेका पदपूर्तिका साथै राजनीतिक नियुक्ति पनि छिटो गरिसक्न सरकारलाई आग्रह गरेको बताउनुभयो ।

संवैधानिक परिषद्को छिटो बैठक गरेर रिक्त रहेको ठाउँमा तत्काल पदपूर्ति गर्न प्रधानमन्त्री ओलीलाई बैठकले आग्रह गरेको उहाँको भनाई थियो । बाँकी रहेका विविध एजेन्डामा २–३ दिन भित्र बैठक बसेर छलफल र निर्णय गरिने बताउदै उहाँले मन्त्रिमण्डल पुनर्गठनका लागि मापदण्ड तयार गर्ने अपेक्षा गरिएको कुनै निर्णय नभएको बताउनुभयो ।
|
प्रवक्ता श्रेष्ठले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गरिएकोमा सर्वोच्चमा रिट परेको विषयमा सरकारलाई सर्वोच्चबाट जानकारी आइनसकेको जानकारी दिदै औपचारिक जानकारी आएपछि कसरी अघि बढ्ने भन्नेमा आवश्यक छलफल र निर्णय लिइने बताउनुभयो । कुलमान घिसिङको पुनः नियुक्तिको विषयमा राखिएको जिज्ञासामा प्रवक्ता श्रेष्ठले सचिवालय बैठकमा घिसिङको बारेमा कुनै छलफल नभएको जानकारी दिनुभयो ।

मन्त्रिमण्डल पुनर्गठन गर्ने विषय प्रवेश भएसँगै प्रधानमन्त्री निवास वालुवाटा र प्रचण्ड निवास खुमलटारमा हाल मन्त्री रहेकाहरुले निरन्तरतताका लागि नयाँले नियुक्तिका लागि दौडधुप थालेका छन् । गत आइतवार पार्टी कार्यालय पेरिसडाँडामा सचिवालयको बैठक बसेपनि पार्टीको बैठक पुनः प्रधानमन्त्री निवासमै बस्न लागेको छ ।