टेण्टले भरिभराउ बाँसखर्क,लिदीगाउँमै छन् स्थानीय

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।

३९ जनाको ज्यान जानेगरि लिदीगाउँमा पहिरोले बस्ती नै पुरेको महिना बित्यो । खोज, उद्धार र राहतसँगै पहिरोपीडित तथा विस्थापितका लागी सेलाङको बाँसखर्कमा डेढ सय परिवारलाई अस्थायी वासस्थान व्यवस्थापन गरियो । बाँसखर्कको पाखो टेण्टले भरिभराउ हुँदा बहुसंख्यक लिदीवासी गाउँमै बसिरहेका छन् ।

बाँसखर्क टेण्टले भरियो, बहुसंख्यक लिदीवासी थातथलोमै छन् । १ सय ३२ घरका ७ सय ६० जनसंख्यामध्ये बाँसखर्कको अस्थायी सेल्टरमा २ सय ५९ जना मात्र भेटिए । पहिरोले घरबास उठाएकाहरु बाँसखर्कमै छन्, परिवारका एक जनालाई बाँसखर्कमा राखेर अधिकाँश स्थानीय गाउँमै बसोबास गर्दै आएका छन् । राहत सामाग्री लिन बाँसखर्कमा परिवारका एकजना बस्छन्, अरु लिदीगाउँमै छन् ।

स्थानीय सरकार र जिल्ला विपद व्यवस्थापन समितिले लिदीगाउँका विस्थापितलाई अस्थायी बसोबासका लागी बाँसखर्कमा टेण्ट राखिदिएपनि लिदीबासीले थातथलो भने छाडेनन् । तत्कालका लागी अस्थायी बसोबासका लागी बाँसखर्कमा व्यवस्थापन त भयो तर झण्डै सय परिवारका ३ सय ३६ जना बासँखर्क आएनन् ।

‘उहाँहरुको लागी अस्थायी बसोबासका लागी बाँसखर्कमा हामीले व्यवस्थापन गरेका हौँ, केहि संख्यामा लिदीबासी गाउँमै हुनुहुन्छ भन्ने मैँलेपनि सुनेको छु’, जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले भन्नुभयो । लिदीगाउँसँगै जुगल गाउँपालिकाभित्र सयौँ घरपरिवार पहिरोको जोखिममा रहेको र उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरणको लागी गाउँपालिकाले आन्तरिक तयारी थालिसकेको अध्यक्ष श्रेष्ठ बताउँनुहुन्छ ।

भूगर्भविद ल्याएर भू अध्ययन गरि सम्भव भएसम्म साविकको बस्ति नजिकै जोखिमका जनतालाई पुनसर््थापना गर्ने जुगलको तयारी छ । तयसो नभए सम्बन्धित वडाभित्र र वडाभित्र पनि उपयुक्त ठाउँ नभेटिए गाउँपालिकाभित्र कुनैपनि स्थानमा जोखिमका जनतालाई स्थायी स्थानान्तरण गरिने अध्यक्ष श्रेष्ठ बताउँनुहुन्छ ।

‘उपयुक्त ठाउँ पहिचान गर्दैछौँ, सम्भव भएसम्म स्थानीयलाई सहज र सुविधा हुनेगरि स्थायी रुपमा स्थानान्तरण गर्नेछौँ’, अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘परिवार संख्याका आधारमा घर संचना तयार गरिदिनेछौँ ।’ यसअघि ०७२ को विनाशकारी भूकम्पपछि लिदीबासी विस्थापित भएर बाँसखर्कमै आएका थिए । केहि महिना बाँसखर्क बसेर उनीहरु गाउा फर्कीएका थिए ।

यसअघि नै टेण्टको असहज बसाइँ भोगेका उनीहरु टेण्टमा बस्न यसपटक नआएका हुन् । पहिरोले घरगोठ क्षति गरेपनि बँचेका गाईबस्तु, भेडाबाख्रा सम्हाल्नका लागी बहुसँख्यक लिदीबासी गाउँमै बसोबास गरिरहेका हुन् । ‘गाईबस्तु हेर्नुपरयो, खेतिपाती उतै छ’, बाँसखर्कमा बस्दै आएकी सुकुमाई योञ्जनले भन्नुभयो, ‘परिवार उतै छन्, म मात्र यहाँ बस्दै आएको छु ।’

पहिरोमा परि ज्यान गुमाएकाहरुको ४५ दिनको तिथी नजिकिँदै गर्दा मृतकका परिवार पनि गाउँ फर्कन थालेका छन् । दीर्घरोगी, सुतकेरी, गर्भवती र अपांगहरुलाई टेण्टको चिसोमा बस्न समस्या हुनेभएपछि उनीहरु गाउँकै घरमा बसेका हुन् । लिदीगाउँका पहिरो प्रभावित मध्ये १५ जना अपांग, १घ जना गर्भवति, ४ जना सुत्केरी र ६ जना दीर्घरोगी छन् ।