काठमाडौँ । नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीले संविधानको रक्षा र कार्यान्वयन गर्ने जिम्मेवारी काँग्रेसको भएको बताउनुभएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले संविधान दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘संविधान, लोकतान्त्रिक पद्धति र सरकारको कार्यशैली’ विषयक भर्चुअल अन्तक्र्रियामा उहाँले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने जिम्मा काँग्रेसको भएको बताउनुभएको हो ।
पूर्वमन्त्रीसमेत रहनुभएका नेता जोशीले सरकारले संविधानको मर्म र भावनाविपरीत काम गरेको आरोप समेत लगाउनुभयो । नेका केन्द्रीय सदस्य पुष्पा भुसालले संविधानको निशर्त पालना गर्नमा सरकार चुकेको बताउनुभयो । “वर्तमान सरकार संविधानलाई कमजोर पारेर आफू अनुकुल केन्द्रीकृत शासन प्रणालीतर्फ उन्मुख भएको छ,”उहाँले भन्नुभयो ।
राजनीतिक विश्लेषक लोकराज बराल, पत्रकार प्रतीक प्रधान, नेका पर्साका सभापति अजय द्धिवेदीलगायतले बहुमतका आधारमा सरकारले विधेयकलाई पारित गर्दै गएर संविधानको उपहास गर्न खोजेको बताउनुभएको थियो । उहाँहरुले संविधानलाई सर्वस्वीकार्य बनाउँदै अगाडि बढ्नुपर्ने धारणासमेत राख्नुभएको थियो ।
प्रतिक्रिया