कंगना र जयाबीच आरोप प्रत्यारोप


पछिल्लो केही समययता बलिउड फिल्म उद्योगमा विभिन्न विवादका कारण उथुलपुथुल भइरहेको छ।
अभिनेता स सिंह राजपुतको निधनपछि शुरु भएको विवाद फिल्म उद्योगदेखि संसद्सम्म पुगेको छ। अभिनेत्री कंगना रनावत विशेष गरी सुशान्तसिंहको आत्महत्याका बारेमा विभिन्न धारणा राखेका कारण विवाद र आलोचनामा परिरहेकी छिन्।

केही दिनअघि मात्र कंगना र भारतीय शिव सेना नेता सञ्जय राउतबीचको विवाद चुलिँदै गएपछि भारतको केन्द्रीय गृह मन्त्रालयले कंगनालाई वाई श्रेणीको सुरक्षा प्रदान गरेको थियो। अब फेरि कंगना र अभिनेत्री जया बच्चनबीचको भनाभनले बलिउड तातेको छ।

अभिनेत्री तथा समानुपातिक सांसद जया बच्चनले मंगलबार राज्यसभामा कंगनाले जुन थालीमा खायो उही थालीमा प्वाल पारेको भन्ने अभिव्यक्ति दिएकी थिइन्। ‘जो फिल्म उद्योगमा छ, उसले फिल्म उद्योगको विरुद्ध बोल्नु लाजमर्दो कुरा हो। जुन थालीमा खायो, त्यसैमा प्वाल पार्नु लाजमर्दो कुरा हो’ भन्ने जयाको अभिव्यक्तिलाई लिएर अभिनेत्री कंगना रनवतले ट्विटरमा जवाफ दिएकी छिन्।

‘जयाजी र उनको इन्डस्ट्रीले कुन थाली दिएको छ र? एउटा थाली थियो जसमा दुई मिनेटको रोल आइटम नम्बर र रोमान्टिक सिन मिल्थ्यो, त्यो पनि हिरोको साथ रोमान्स गरेबापत। मैले यो उद्योगलाई नारीवाद सिकाए। थाली देशभक्ति तथा नारी प्रधान फिल्मले सजाय, यो मेरो आफ्नो थाली हो जयाजी तपाईंको होइन।’

कंगनाको यस जवाफपछि मानिसहरू जया र कंगना दुई पक्षमा बाँडिएर आ–आफ्नो मत दिइरहेका छन्। जया बच्चनको बयान र कंगनाको जवाफप्रति विवाद बढ्दै जाँदा भारतको उद्धव सरकारले मुम्बईस्थित अमिताभ बच्चनको बंगलाको सुरक्षा बढाएको समाचारमा जनाइएको छ।