प्रदेश १ लाई बालविवाहमुक्त बनाइने


विराटनगर, (नेस)

प्रदेश १ लाई आगामी ५ वर्षभित्रमा बालविवाहमुक्त प्रदेश बनाइने भएको छ । सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश निर्माणका लागि सरकारले तयारी शुरु गरिसकेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताउनुभयो ।

राष्ट्रिय बालदिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले तयार गरेको बालबालिकाको स्थिति प्रतिवेदन सार्वजनिक गर्दै मुख्यमन्त्री राईले सो कुरा बताउनुभएको हो ।

सवैपक्षको सहभागितामा उहाँले बालविवाहमुक्त प्रदेश निर्माण गरिने बताउनुभयो । सामाजिक संघ संस्था, सरोकारवाला व्यक्तिहरु सबैको सहभागिता आवश्यक रहेको मुख्यमन्त्री राईले बताउनुभयो ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानाले बालबालिकाको अवस्था पहिलेको तुलनामा सुधार भएर गएको बताउनुभयो । उहाँले बालविवाह र बालश्रममा सुधार हुन नसक्नु दुःखद भएको बताउनुभयो ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सडकमा बालबालिका बस्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो । सडक बालबालिकालाई उद्धार गर्ने काम भइरहेको राज्यमन्त्री गजमेरले बताउनुभयो । उहाँले हालसम्म प्रदेश १ मा ५३ जना सडक बालबालिकाको उद्धार भएको बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार प्रदेश १ मा ५१ दशमलव ८ प्रतिशत बालिका र २१ दशमलव ७ प्रतिशत बालकहरुको २० वर्षभन्दा कम उमेरमा विवाह हुने गरेको बताउनुभयो । उहाँले प्रदेश १ मा ३७ दशमलव ४ प्रतिशत बालबालिका श्रममा रहेको बताउनुभयो ।