पहिरोमा परी बालिकाको मृत्यु, दर्जनौं घर जोखिममा

मध्यपहाडी लोकमार्ग अवरुद्ध


दुर्गाप्रसाद शर्मा, पर्वत

पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवाको शिर्शुवामा आइतबार राती पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । स्थानीय नवीन विकको घर पहिरोले पुरिँदा उहाँकी तीन वर्षीया छोरी निकिता विकको ज्यान गएको हो ।

मृतक बालिकाको शव घरभन्दा झन्डै डेढ सय मिटर तल खेतमा फेलापरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । पहिरोमा पुरिएर नवीन विककी श्रीमती लक्ष्मी विकसहित अन्य दुई जना घाइते भएका छन् । घर पुरिँदा घाइते भएकाहरुको गाउँले र स्थानीयबासीले उद्धार गरेका थिए । पहिरोले बगाएर बाँसको झाँगमा पु¥याएको अवस्थामा तीन जनाको उद्धार गरिएको थियो ।

घाइतेहरुको पर्वत अस्पताल कुस्मामा उपचार भइरहेको वडा अध्यक्ष टीकाराम गौडेलले जानकारी दिनुभयो । पहिरोले पुरिएर उनको घरमा पालिएका दुई भैसी र एउटा गोरुसमेत पुरिएको छ । पहिरोले दोबिल्ला फलेवास सडकसमेत पहिरोले क्षतविक्षत भएको छ ।

यसैगरी रातभर परेको अविरल वर्षाले पर्वतको फलेबास नगरपालिकासहित जिल्लाका बिभिन्न ठाउँमा ठूलो जनधनको क्षति भएको छ । फलेबास नगरपालिका–१० कुर्घामा ठूलो जनधनको क्षति भएको छ । कुर्घामा माथिबाट झरेको पहिरोले दुई गोठ पुरेको छ भने दर्जनांै घर विस्थापित भएका छन् ।

विस्थापित परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको फलेबास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले बताउनुभयो । ‘तत्काल घाइतेको उद्धार र जोखिममा परेका परिवारलाई सुरक्षित स्थानामा स्थानान्तरण गरेका छांै’, उहाँले भन्नुभयो– ‘क्षतिको विवरण संकलन गरेपछि राहत वितरण गर्छौं।’

जिल्लाको विभिन्न ठाउँमा भएको क्षतिको विवरण संकलनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । सुरक्षाकर्मी परिचालन गरेर उद्धार र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रजिअ रेग्मीले जानकारी दिनुभयो ।

मध्यपहाडी लोकमार्ग अवरुद्ध
शनिबार रातीदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ सडक खण्ड विभिन्न स्थानमा पहिरोले अवरुद्ध भएको छ । सडक खण्डको कुश्मा नगरपालिका–८ स्थित चुवाको भीर, कुश्मा नगरपालिका–४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका–१ अन्तर्गत पर्ने सहस्रधारामा अवरुद्ध भएको हो ।

आइतबार पनि पहिरोले अवरुद्ध सडक साँझ मात्रै एकतर्फीरुपमा सञ्चालन भएको थियो । सोमबार सहस्रधारामा सडकमाथिबाट भेलसहितको पहिरो आएपछि सडकको ५० मिटरभन्दा बढी भाग पुरिएको छ । सडक अवरुद्ध भएपछि सोमबार बिहानैदेखि सवारी र यात्रुहरु सडकमा नै अलपत्र परेका छन् ।

पहिरो खसिरहेका कारण सर्वसाधारणहरु हिँडेरसमेत वारपार गर्न पाएका छैनन् । सडक सञ्चालनका लागि प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएका कारण सडकमा सवारीको चाप नभए पनि खाद्यन्न ढुवानीसँगै बिरामी र एम्बुलेन्सहरुलाई समस्या भएको छ ।