चार वर्षपछि सोरुले पायो प्रमुख


वीरबहादुर बम, मुगु

मुगुको एक मात्र इलाका प्रशासन कार्यालय सोरुले चार वर्षपछि प्रमुख पाएको छ । प्रमुख नहुँदा कार्यालय सहयोगीको भरमा इलाका प्रशासन सञ्चालन हुँदै आएको थियो ।

भाद्र २३ गते गृह मन्त्रालयको निर्णयअनुसार नायब सुब्बा खड्गबहादुर बस्नेतलाई इलाका प्रशासन कार्यालयको प्रमुखको जिम्मेवारी तोकिएको छ । विगत चार वर्षदेखि कामकाज ठप्प रहेको प्रशासन कार्यालयमा प्रमुख आउने भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।

प्रमुखको दरबन्दी रिक्त भएपछि कार्यालयमा रहेका खरिदार र लेखापाले पनि कार्यालय छाडेर सदरमुकाम बस्दै आएका थिए । सदरमुकाममा बस्दै आएका कर्मचारीलाई सम्बन्धित कार्यालय पठाइने र केही दिनभित्रै कामकाज शुरु हुने मुगुका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताउनुभयो ।

जिल्लास्थित राजनीतिक दल, सञ्चारकर्मीलगायत सबैको दबाबका कारण प्रशासनमा प्रमुख आउने वातावरण बनेको बताउँदै प्रमुख जिल्ला अधिकारी निरौलाले नागरिकताको लागि सोरु गाउँपालिकाबाट दुई हिँडेर सदरमुकाम आउनुपर्ने बाध्यताको अन्त्य हुने धारणा राख्नुभयो ।

सोरु इलाका प्रशासन स्थापना हँुदा शुरुको एक वर्ष तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दिलबहादुर पौडेल बसेर स्थानीयलाई नागरिकता प्रदान गरे पनि उहाँ सरुवा भई जिल्लाबाहिर गएपछि काम ठप्प भएको थियो ।

इलाका प्रशासनमा कार्यालय प्रमुख हुने भएपछि सोरु गाउँपालिकका सर्वसाधारणले नागरिकता, बसाइँसराइ, कर्मचारी व्यवस्थापनलगायतका काममा सहजता आउने सोरु गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीले बताउनुभयो ।

इलाका प्रशासनमा प्रमुख आएपछि जिमा, नार्थपु, फोतु, भिई, कालै, धैनकोट, रारा, कच्चे, गिलाहा, बुम्च, सिप, नाथर्पू, पुरुमुरुलगायत दर्जनौं बस्तीका स्थानीय सहजरुपमा नागरिकता लिन पाउने भएकामा खुसी भएको सोरु गाउँपालिका–६ का स्थानीय मिमबहादुर बमले बताउनुभयो ।