दुई कोरोना संक्रमितको मृत्यु


भक्तपुर, (नेस)

मध्यपुर थिमि नगरपालिकाका दुई जना कोरोना संक्रमित जेष्ठ नागरिक पुरुषको मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार वडा नम्बर ७ नगदेशका ८१ वर्षीय पुरुष र मध्यपुर थिमि–५ भुंलाखेलका ७७ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो ।

नगदेशका पुरुषमा एक साताअघि कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसन बसेको र स्वास्थ्यमा समस्या देखिएपछि मेघा अस्पताल लगिएको थियो ।

तर अस्पतालमा भ्यान्टिलेटर नभएपछि ग्रान्डी अस्पतालमा रेफर गरिएकोमा उक्त अस्पाताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको नगरपालिकाका प्रमुख श्रेष्ठले बताउनुभयो ।

त्यसै गरी भुंलाखेलका पुरुषमा शुक्रबार मुटुको अपरेसन गर्नुअघि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको र अपरेसनपछि गंगालाल अस्पतालमा सोमबार मृत्यु भएको हो । मृतक दुवैको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेको छ ।

यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । तीमध्ये मध्यपुर थिमि नगरका १० जना छन् । पछिल्लो तथ्यांकअनुसार भक्तपुरमा ८२ जनामा कोरोना भाइरस संक्रमित भएको पुष्टि भएको थियो ।

जिल्लामा कोरोना पोजेटिभ भएका १२ जना सम्पर्कविहीन भएका छन् भने ३ सय ४९ जनाले कोरोना भाइरस संक्रमणलाई जितेका छन् ।