देशभर थप एक हजार ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि

0
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर आज एक हजार ३९ कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नौ हजार १६५ जनाको पिसीआर परीक्षण गरिएकामा एक हजार ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै कूल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । हालसम्म आठ लाख ४० हजार ५२७ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५९७ कोरानाका सङ्क्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौँमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ रहेका छन् । आज देशभर सक्रिय सङ्क्रमितको संख्या १५ हजार ११७ रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । संस्थागत आइसोलेशनमा सात हजार ७३० र होम आइसोलेशनमा सात हजार ३८७ रहेका छन् । अहिले देशभरका क्वारेन्टिनमा छ हजार ५३६ जना रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७३ जना कोरोना जितेर घर फर्केका छन् । योसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किनेको संख्या ३८ हजार ६९७ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१।५ प्रतिशत रहेको छ । आज देशभर १६९ कोरोनाका सङक्रमित आइसियुमा छन् । भेन्टिलेटरमा उपचाररत २३ जना छन् । कोरोनाका कारण आजसम्म ३४५ जनाको मृत्यु भएको जनाइएको छ ।

पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, सर्लाही, काठमाडौँ, चितवन, ललितपुर र भक्तपुर छन् । शून्य सङ्क्रमित भएका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, हुम्ला र डोल्पा छन् । विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई करोड ८९ लाख ४७ हजार ५१० पुगेको छ । कोरोनाबाट निको हुनेको सङ्ख्या दुई करोड आठ लाख १३ हजार २२१ रहेको मन्त्रालयले जनाएको छ ।

असोज १ गते विश्व बिरामी सुरक्षा दिवस मनाइने

बिरामी सुरक्षा र स्वास्थ्य सुरक्षाबारे आम नेपालीमा सचेतना फैलाउने उद्देश्यले आगामी असोज १ गते विश्व बिरामी सुरक्षा दिवस मनाइने भएको छ । मन्त्रालयको पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका डा तारानाथ पोखरेलले आगामी असोज १ गते ९सेप्टेम्बर १७, २०२०० मनाउन लागिएको विश्व बिरामी सुरक्षा दिवसका बारेमा गरिने कार्यक्रमको जानकारी गराउनुभयो ।

उहाँका अनुसार सन् २०१९ को मे मा विश्व स्वास्थ्य सङ्गठनको ७२ औँ महासभाले १९४ देशको सहभागितामा गरेको निर्णय अनुसार सोही वर्षको सेप्टेम्बर १७ देखि विश्व बिरामी दिवस मनाउने घोषणा गरेको थियो । सोही वर्षदेखि नेपालमा पनि दिवस मनाउन शुरु गरियो । नेपालले गत वर्ष पनि यो दिवस मनाएको थियो । यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ साताव्यापीरुपमा दिवस मनाउन लागिएको हो ।

‘स्वास्थ्यकर्मीहरुको सुरक्षा, बिरामीको सुरक्षाको प्राथमिकता, सुरक्षित स्वास्थ्यकर्मी र सुरक्षित बिरामी’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी देशभर दिवस मनाइने डा पोखरेलले बताउनुभयो । देशका तीनै तहका सरकार, स्वास्थ्य तजा जनसंख्या मन्त्रालय मातहतका स्वास्थ्य प्रतिष्ठान, अस्पताल, निजी क्षेत्रका मेडिकल कजेललगायतले आ–आफ्नो ठाउँबाट दिवस मनाउन मन्त्रालयले आग्रह गरेको छ ।

दिवसका दिन असोज १ गते साँझ ७ः०० बजे माइतीघर मण्डलामा दीप प्रज्वलन गरिनेछ । सोही दिन राति ८ः०० बजे देभर घर घरमा दीपावली गर्न आग्रह गरिएको छ । स्वास्थ्यकर्मीको सम्मान तथा कोरोनाबाट सङ्क्रमित व्यक्तिको मनोबल बढाउन तथा कोरोनाबाट मृत्यु भएकाको सम्झनामा सो कार्यक्रम गर्न लागिएको जनाइएको छ ।