नेपाल प्रहरीमा ३ हजार कोरोना संक्रमित


काठमाडौं, (नेस)

मुलुकभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमणमा परेर ५ हजारभन्दा बढी सुरक्षाकर्मी संक्रमित भएका छन । जनताको प्रत्यक्ष सुरक्षामा खटिएका नेपाल प्रहरीका २ हजार ९ सय जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये १ हजार २ सय ३३ जना निको भएर काममा फर्किसकेछन् । नेपाल प्रहरीमा सबैभन्दा बढी जोखिम उपत्यकामा कार्यरत प्रहरी कर्मचारी परेकाले ड्युटीमा खटिने प्रहरीलाई सतर्कता अपनाउन निर्देशन दिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

नेपाली सेनाका १ हजार ३ सय सैनिक कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये ३ सयभन्दा बढी संक्रमणमुक्त भएका छन् भने अन्यको विभिन्न ठाउँमा उपचार भइरहेको छ । त्यसैगरी सशस्त्र प्रहरी बलका ८ सय ९० जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये ४ सय ८० जनाले संक्रमण जितेका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हाल उपचारत सबै सुरक्षाकर्मीको अवस्था समान्य रहेको बताइएको छ ।