काठमाडौँ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा कार्यरत कर्मचारीमध्ये कोरोना जितेर फर्किएकासँग अन्तरक्रिया गर्नुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेतृत्व गरिरहेका मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि उहाँले यअघि सम्बन्धित कर्मचारीसँग फोनमा कुराकानी गर्नुभएको थियो ।
मन्त्रालयका उच्चअधिकारीलाई सँगै राखेर मन्त्री ढकालले कोरोना पोजेटिभ भएका कर्मचारीको अनुभव तथा भोगाइ सुन्नुभएको हो । उहाँले समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने अवस्था आएको उल्लेख गर्दै कोरोना जितिसकेका कर्मचारीको वास्तविक अनुभव बाहिर आउनुपर्ने बताउनुभयो ।
मन्त्री ढकालले कोरोना महामारीविरूद्धको लडाइँको अग्रमोर्चामा बसेर सामना गरिरहेका चिकित्सक, नर्स, स्वाथ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, पत्रकारलगायत सबैको उच्च सम्मान गर्नुभयो । उहाँले कोरोनाबाट बच्नका लागि पूर्वजीवनशैलीमा परिवर्तन गर्नुपर्ने सुझाव दिँदै देशभर यस्तो खालको सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो । मन्त्री ढकालले कोरोनाबाट बच्नका लागि उच्च मनोबलको खाँचो रहेकामा जोड दिँदै कोही पनि आतङ्कित हुन नहुने बताउनुभयो ।
प्रतिक्रिया