प्रदेश कोरोना अपडेट : प्रदेश-१ मा तीनको मृत्यु, प्रदेश-२ मा एक लाख १० हजार स्वाब सङ्कलन,गण्डकीमा दाहसंस्कारपछि कोरोना पुष्टि,कर्णालीमा २१ थप

0
Shares

विराटनगर ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगरका एक पुरुष, ग्रामथानकी एक महिला र सुनसरी रामधुनीका एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयले आज जनाएको छ । प्रदेशमा मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ४७ पुगेको छ ।

प्रदेशमा सो अवधिमा ७७ जना सङ्क्रमित थपिएका छन् । एक हजार २१२ जनाको पिसिआर परीक्षण गरिएकोमध्ये २९ महिला र ४८ पुरुषको कोरोना पुष्टि भएको छ । मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा एक जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । विराटनगरका ४६ जनामा सङक्रमण देखिएका मध्ये २१ महिला र २५ पुरुषको रहेका छन् ।

मोरङको बुढीगंगामा पाँच महिला र पाँच पुरुष, कटहरीमा चार पुरुष, ग्रामथानमा एक पुरुष र सुन्दरहरैचमा एक महिला, सुनसरीको इटहरीमा दुई महिला र छ पुरुष, इनरुवा र धरानमा दुई÷दुई पुरुष, रामधुनी र दुहवीमा एक÷एक पुरुष र उदयपुरको बेलकामा एक पुरुषको कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा सङक्रमितको सङ्ख्या चार हजार ६९६ पुगेको छ ।

प्रदेशमा आज ३६ जना सङ्क्रमित निको भै घरफर्केका छन् । कालिसदन आइसोलेशन विराटनगरबाट २०, बैजनाथपुर आईसोलेसन विराटनगरबाट नौ, मारवाडी सेवा सदन आईसोलेसन विराटनगरबाट चार र कोभिड –१९ आईसोलेसन केन्द्र रङ्गेली मोरङबाट तीन जना निको भएका छन् । प्रदेशमा निको हुने सङ्क्रमितको सङ्ख्या दुई हजार ५६ पुगेको छ । प्रदेशमा हाल सम्म एक लाख छ हजार ९८६ को पिसिआर परीक्षण भएको छ ।

एक लाख १० हजार बढीको स्वाब सङ्कलन

प्रदेश २मा पछिल्लो २४ घण्टामा १३२ जना नयाँ सङ्क्रमित थपिएको छ । यसका साथै, सोही अवधिमा सप्तरीमा १६ , सिरहामा पाँच , धनुषामा एक, महोत्तरीमा सात, सर्लाहीमा ८०, बारामा १४ र पर्सा नौ जना गरी १३२ जना नयाँ सङ्क्रमित थपिएको हो । समेतगरी यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या ११ हजार ८४५ पुगेको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो समेत यस प्रदेशमा महिला एक हजार ९०७ र पुरुष नौं हजार ९३८ गरी यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या ११ हजार ८४५ पुगेको छ । ती मध्ये ४२ जना उपचार गराइ आज निको भएर घर फर्केका छन् । योसमेत गरी अहिलेसम्म ६ हजार ३११ जना निको भएर घर फर्केका हुन् ।

यस प्रदेशअन्तर्गतका विभिन्न आठवटै जिल्लाबाट अहिलेसम्म एक लाख १० हजार १३७ जनाको स्वाबको नमूना सङ्कलन गरिसकिएको छ । सोमध्ये ९३ हजार ५८८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार ७०४ जनाको रिपोर्ट आउन बाँकी छ । यस प्रदेशमा कोरोनाको सङ्क्रमणबाट अहिलेसम्म १०८ जनाको मृत्यु भइसकेको छ ।

यस प्रदेशअन्तर्गत रहेका १७० वटा क्वारेन्टिनमा आजसम्म ४३९ जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ४४८ जना, आइसोलेसनमा ८९० जना र होम आइसोलेशनमा चार हजार ५३६ जना बसेका छन् ।

दाहसंस्कारपछि कोरोना पुष्टि

गण्डकी प्रदेशमा आज मात्र ७५७ जनाको नमूना परीक्षण गरिएकामा ७५ जना कोरोना पुष्टि भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा ३७ जना निको भएका छन् ।

प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९०३ पुगेको छ । नतिजा पोजिटिभ आएका मध्ये एक हजार ८४९ जना उपचारपछि निको भएर घर फर्किएकामा र हालसम्म २४ जनाको मृत्यु भएको छ । हाल प्रदेशमा एक हजार ३० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

अहिलेसम्म ५५ हजार ७३७ जनाको नमूना परीक्षण गरिएकामा ५२ हजार ८३४जनाको नजिता नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यसैबीच पोखरामा उपचारका क्रममा यही भदौ २५ गते राति १ः१५ बजे मृत्यु भएकी महिलाको दाहसंस्कार गरेको भोलिपल्ट कोरोना परीक्षण नतिजा पोजिटिभ आएको छ ।

पोखराको फिस्टेल अस्पतालमा अर्वुदरोग तथा मिर्गौला सम्बन्धी समस्याले भर्ना भएकी पोखरा–५ निवासी ४५ वर्षीया महिलाको नमूना परीक्षण पोजिटिभ आएपछि मलामी गएका १०० भन्दा बढी मलामी होम क्वारेन्टिनमा बसेका छन् ।

गत बिहीबार विहान महिलाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएकामा उनको सोही राति मृत्यु भएकोे थियो । अस्पतालले नतिजा नआउँँदै आफन्तलाई शुक्रबार बिहान शव हस्तान्तरण गरेपछि परिवारले धार्मिक विधिमार्फत अन्त्येष्टि गरेका थिए ।

पर्यटन व्यवसायमा आवद्ध ती महिलाको अन्तिम संस्कारमा सहभागी गण्डकी प्रदेशसभाका सदस्यद्वय रामजीप्रसाद बराल, राजीव पहारी, माछापुच्छ«े गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, उपाध्यक्ष कृष्णकुमारी दवाडी लगायतले आफूहरु होम क्वारेन्टिनमा रहेको जानकारी दिँदै मलामी गएका तथा मृतकसँग सम्पर्कमा भएकाहरुलाई नआत्तिन र घरभित्रै रहन आग्रह गर्नुभएको छ ।

अन्तिम संस्कारमा सहभागी आफन्त, पर्यटन व्यवसायी, सञ्चारकर्मीहरुलाई समेर्त होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।

महाशाखाका अधिकृत हरिलाल आचार्यले विरामीलाई अस्पतालमा भेट्न गएका, परिवारका सदस्य तथा लास छोएका र नजिक गएकाहरुको पहिलो चरणमा पिसिआर परीक्षण गरिने बताउनुभयो । मलामी जाँदैमा सबैलाई सङ्क्रमण हुन्छ भन्ने नरहेको भन्दै उहाँले भन्नुभयो,“मलामी गएकाहरु सुरक्षित भएर बस्नुपर्दछ तर सबैको पिअिआर गर्नुपर्दछ भन्ने छैन । पहिलो चरणमा गरिएको परीक्षण पोजिटिभ देखिएकामा मात्र थप व्यक्तिको परीक्षण गर्नुपर्ने हुन्छ ।”

थुनुवा, सुरक्षाकर्मी र बैकका कर्मचारी सङ्क्रमित

कर्णालीमा थुनुवा, सुरक्षाकर्मी र बैंकका कर्मचारीसहित २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत गरेको आरटी पिसिआर परीक्षणमा आज सुर्खेतका १९ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दुई गरी २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । थपिएका ती सँगै कर्णालीमा कोरोना सङ्क्रमित हुनेको संख्या दुई हजार ७७६ पुगेको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।

“आजको रिपोर्ट अनुसार सङ्क्रमित हुनेमा तीन जना थुनुवा, आठ जना सुरक्षाकर्मी र तीन जना बैंकका कर्मचारीहरु रहेका छन्,” उहाँले भन्नुभयो, “अब सबै क्षेत्रले सरकारले निर्देशन गरेको जनस्वास्थ्य मापदण्ड पालना गर्नुको साथै आत्मानुशासित हुन जरुरी छ ।” हरेकले भौतिक दूरी कायम गरेर आफ्ना गतिविधि सञ्चालन गर्न सके सङ्क्रमण कम हुने उहाँको भनाई थियो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेमा सुर्खेतका छ, दैलेख पाँच, बर्दियाका तीन, कालिकोट, सल्यान, हुम्ला, अछाम, डडेल्धुरा, दार्चुला र कञ्चनपुरका एक÷एकजना रहेका छन् । आज १६ जनाले कोरोना सङ्क्रमण जितेसँगै कर्णालीमा डिस्चार्ज हुनेको कुल सङ्ख्या दुईहजार ३९५ पुगेको र सक्रिय बिरामीको सङ्ख्या ३७५ जना रहेको बताइएको छ ।